बिहीबार ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउन नपाएको निहुँमा जबर्जस्ती रथयात्रा गर्दै गरेका भिडले सडकमा खटिएका निहत्था ट्राफिक प्रहरीलाई अमानवीय तवरले पिटेको दृश्य देख्दा बिरक्त लागेर आयो। कोरोनाको महामारीमा आफ्नो ज्यानलाई जोखिममा राखेर दिनरात नभनि खटिएका प्रहरी, त्यो पनि एउटा सिट्ठीको भरमा सडकमा खटिएका ट्राफिक प्रहरीमाथिको ब्यबहार देख्दा लाग्यो यी दानवीय मानवभन्दा त बरु कोरोना भाइरस नै अलिक दयालु होलान् ।
यिनीहरूको ब्यबहार देख्दा बिक्रम संवत २०४६ सालको आन्दोलन सफल भएको लगत्तै बिक्रम संवत २०४७ वैशाख १० गते कालीमाटी चोकमा जनताको सुरक्षार्थ खटिएका प्रहरीलाई भ्यानबाट बाहिर निकालेर ठेलामा राखेर अमानवीय तवरले पिट्दै नगर परिक्रमा गराउँदा ६ जना प्रहरीको अनाहकमा ज्यान गएको घटनालाई सम्झायो । आखिर किन यस्तो हुन्छ त ? किन प्रहरीमाथि नै यसरी रिस पोखिन्छ ? कोरोनाको डरले लकडाउनको नाममा तलब खादै अन्य कर्मचारी घर बस्दा यिनै प्रहरी सडक र गल्लीमा बिना पूर्वाधार यिनै जनताको स्वास्थ्य र सुरक्षाको लागि भन्दै आफ्नो परिवारबाट टाढा भएर आफ्नो ज्यान हत्केलामा राखेर खटिइरहेका थिए । अनि यिनैको भत्ता चाहि काटिदै थियो ।
जतिजति कोरोनाको कहर नेपालमा बढ्दै जान्छ, त्यतित्यति सरकारले लकडाउन वा निषेध्याज्ञालाई अचुक उपायको रुपमा लगाउने गरिन्छ । तब सबैभन्दा बढी दौडधुप शुरु हुन्छ -प्रहरीको । बेसारे मानसिकताबाट निर्देशित हाम्रो सोँचमा प्रहरी बाधक बनेर आएको महशुस गर्दै उही प्रहरीको लागि मात्रै हो लक डाउनमा बसिदिने हो भने झैँ गरी प्रहरीसंग केटाकेटीमा खेल्ने गरेको ‘चोर पुलिस’को खेल शुरु गर्छन् । झिसमिसे बिहानैदेखि सडकमा बिना आधारभूत आवश्यकताका सामग्री, प्रहरी खटिन्छन, तब जम्काभेट हुन् थाल्छ, आवश्यक र अनावश्यक दुवै कारणले बाहिरिएका जनमानससंग ।अनि शुरु हुन्छ- प्रहरीसंग सवालजवाफ ।
सडकमा खटिएको एउटा प्रहरीले दिनभरमा सयौँसंग सवाल जवाफ गर्नुपर्ने हुन्छ, कति त आफ्नो बाध्यताले निस्किएका हुन्छन् । कति चाहि रहरले । अनि तिनै रहरले बिना जरुरी निस्किएकाहरूसंग सवाल जवाफ गर्दा गर्दा प्रहरी यति हैरान भइसकेका हुन्छन कि अनि जरुरी कामले बाध्यताले बाहिर निस्किएकाहरू त्यसको मारमा पर्छन् – उनीहरू पनि हैरान अनि प्रहरी पनि हैरान । तब वाक्क भएका प्रहरीले कतै ठूला स्वर गरिदिन्छन अनि के चाहियो र सोसल मिडियामा भाइरल बनाइदिन्छन् । कमैले सोचिदिन्छ्न, अर्थात बुझिदिन्छन कि अहिले सरकारले लगाएको निषेधाज्ञा हाम्रै अर्थात आफ्नै लागि हो, त्यसैको लागि प्रहरी झरी, धुलो, भोक नभनी बिना आराम सडकमा खटिइरहेका छन् । कतिले सोँचेका छन् कि- प्रहरी सडकमा खटिदा खटिदा अनि धेरैजनाको सम्पर्कमा आउँदा आफै कोरोना भाइरसबाट संक्रमित भएका छन् । चाहे त्यो सिन्धुपाल्चोकमा सडक नै बन्द हुनेगरी आएको पहिरोमा परेकाको उद्दार गर्न जादा प्रहरी आफै संक्रमित भएको अबस्था होस् वा बीरगंजको सीमामा भारतबाट आएकाहरूलाई रोक्दै गर्दा संक्रमित भएका प्रहरी हुन् । बिना पूर्वाधार अहोरात्र खटिने प्रहरीप्रति खै त माया ? सम्मान अनि सद्भाव ? उल्टो सडकमा खेदी खेदी पिटाइ ?
बेलायतमा चैत महिनाबाट जसै कोरोनाको महामारी बढ्दै गयो, लकडाउन शुरु भो, जनता घरभित्र सडकमा प्रहरी अनि अस्पतालमा डाक्टर र नर्स खटिन थाले, जनताले आफ्ना घर बाहिर एनएचएस (नेसनल हेल्थ सर्भिस) प्रति सम्मान दर्शाएर ब्यानर अनि झ्यालमा रेन्बो साइनहरू लेखेर राख्ने र प्रत्येक बिहीबार ५ बजे प्रत्येक घरको बाहिर निस्किएर यस महामारीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूप्रति २ मिनेट सामूहिक रुपमा ताली पिटेर सम्मान प्रकट गरे । लाग्थ्यो, यस्ता जनता छन् र पो मरी मरी खट्छन यहाका सुरक्षाकर्मी अनि स्वास्थकर्मी । हाम्रोमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति ताली पिटेर सम्मान हैन कि उल्टो सडकमा खटिएका प्रहरीलाई नै पिटेर कहिँ नभएको बहादुरी देखाउछ्न । यस्तोमा महिनौदेखि घर र परिवार नभनि जनताको लागि भनेर खटिएका प्रहरीको मनोबल र मानसिकता कस्तो होला ? कसले सोचिदिने ?
कोरोना भाइरस लागेका बिरामीहरूको उपचारमा खतरा मोलेर उपचारमा खटिएका डाक्टर अनि नर्सलाई आफ्नो घर आउँदा आफ्नो टोलमा प्रवेश गर्नै नदिने पनि हामी नै, अनि सामाजिक दुरी कायम राख्न सरकारले निर्णय गरेको निषेधाज्ञा र लक डाउन लागू गराउन खटिएका प्रहरीमाथि आक्रमण गर्ने पनि हामी नै । ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई महिनौ निःशुल्क खाना खुवाउने अनि मुख्य मुख्य पसलहरूमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कार्ड देखाउँदा सम्मान स्वरुप निश्चित प्रतिशत छुट दिएर सम्मान दिने देश (बेलायत) मा बसेर आफ्नो देशमा यस्तो नियति देख्न र सुन्नु पर्दा एउटा प्रश्न मानसपटलमा घुम्छ – उनीहरू चाहिँ त्यस्तो, हामीहरू चाहिँ किन होला यस्तो ?
यस्तो बेलामा राजनीतिको ठेक्का लिएका स्थानीय नेताहरू कता गए खै त ? अनि खै त समाजका अगुवाहरू ? जनता अनियन्त्रित भएर बाहिरिएको बेला के उनीहरूको कुनै कर्तब्य छैन ? के खालि प्रहरीले मात्रै सबैको प्रहार सहनुपर्ने ? के हाम्रो समाज यतिसम्म कृतघ्न भएकै हो त ? यस्तो अबस्थामा फिल्डमा खटिने प्रहरीको मनोबल गिर्यो भने के हुन्छ ? जब बि स २०४७ साल वैशाख १० गते कालिमाटीमा उच्छ्रिङखल भिडले ड्युटीमा खटिएका प्रहरीलाई नियन्त्रणमा लिएर पिट्दै गरेको खबर स्थानीय वडाध्यक्षले भ्याली डिआइजी अच्युतकृष्ण खरेल (पछि आइजीपी) लाई दिए, उहाँले भ्याली डिएसपी रबिकान्त अर्याल (पछि एआइजी) लाई पर्याप्त मद्दत लिएर भिडबाट प्रहरीलाई छुटाउन आदेश दिएपछि डिएसपी अर्याल जसै भिडमा पुगे, भिडले घेरिएर रहेका आइजीपीकै साथमा भएका तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायले डिएसपीलाई उल्टै कुनै कारवाही नगर्न र फर्किन पो आदेश दिएछन्, डिएसपी फर्किएर भ्याली डिआइजीको अफिसमा पुगेर साथको हतियार फ्याकेर आफ्नो असन्तुष्टि डिआइजीलाई पोखेछ्न् । त्यतिन्जेलसम्म ठेलागाडामा रहेका ६ जना प्रहरी मरिसकेका थिए । यस्तो अबस्थामा प्रहरीमा त्यो किसिमको नैराश्यता आयो भने ?

सांस्कृतिक जात्रा हुनुपर्छ, हाम्रा परम्पराले निरन्तरता पाउनुपर्छ, यसमा सायदै कसैको बिमती नहोला । तर सामान्य अबस्था र महामारीको अबस्थामा एउटै हुँदैन । सबै कुरा परिस्थितिमा निर्भर गर्छ, सोही मुताबिक अगाडि बढ्नुपर्छ । अनि सरकार पनि यस्ता कुरामा संबेदनशील हुनुपर्छ, जनप्रतिनिधिले जनतालाई विश्वासमा लिएर काम गर्नुपर्छ । निर्णय गर्ने अनि जनताको आक्रोशको बीचमा प्रहरीलाई मात्रै पारेर सरकारको कर्तब्य पूरा हुँदैन । कोरोनाको कहरमा जनताहरूलाई अत्यावश्यक बस्तुको उचित ब्यबस्थापन नगरी लकडाउन वा निषेधाज्ञाको नाममा सरकारको अकर्मन्यताको जनआक्रोश सडकमा खटिएका प्रहरीले भोग्नुपर्ने ? भनिन्छ- घरमा झगडा गरेर आएको श्रीमतीको रिसले हाकिमले पिउन कुट्छ रे, पिउनले हाकिमको रिस घर आएर श्रीमतीलाई पिटेर पोख्छ रे, बिचरा श्रीमती निरिह भएर लोग्नेको रिस आफ्नो निर्दोष बच्चालाई पिटेर पोख्छ रे, अनि त्यो बच्चाले अरु केही गर्न सक्दैन आमाको पिटाइको आक्रोश छेउमा मस्त सुतिरहेको कुकुरलाई पिटेर पोख्छ रे, अनि बिचरा कुकुर क्वाई क्वाई गर्दै बाहिर भाग्दा बाटोमा जो भेट्यो, उसैलाई टोक्छ रे, तर त्यतिखेर उही पिउन कुट्ने हाकिम नै त्यहि बाटो कतै गइरहेको हुन्छ रे र त्यो कुकुरको टोकाईमा पर्छ रे । कतै त्यस्तै हुन् गइरहेको त छैन ? ट्राफिक प्रहरीलाई अनियन्त्रित भिडले पिटिरहेको भिडियोमा पिटाइबाट घाइते भएका ती ट्राफिक प्रहरीलाई केही स्थानीय र पछि प्रहरीले बचाएर सडकको पेटीमा बसाएपछि उनी आफ्नो भन्दा पनि त्यो सरकारी मोटरसाइकलको चिन्ता गर्दै आफूलाई बचाउने प्रहरीलाई मोटरसाइकल जोगाउन भनिरहेको दृश्य अझ हृदय विदारक लाग्छ ।
एउटा प्रश्नफेरि उब्जिएको छ – किन प्रहरीप्रति जनतामा यस्तो आक्रोश ? भूकम्प आउँदा होस् वा बाढी आउँदा, चोर आउँदा होस् वा आफूमाथि कसैले केही गर्दा पहिले सम्झिने त उही प्रहरीलाई नै हो, अनि उही प्रहरी नै अगाडि आइपुग्ने हो । त्यहि प्रहरीप्रति किन यस्तो त ? काठमाडौंमा प्रहरीको बारेमा यस्तो सोचको बारेमा सोच्दा जब म २०४९ सालमा इन्स्पेक्टर भएको थिए, तालिममा जानुअघि एकजनासंगै काम गरेका शर्मा थरका सेक्सन अफिसरले भन्नुहुन्थ्यो- ‘एइ भाइ, प्रहरी भनेको त यस्तो हुन्छ रे नि, प्रहरी मरेपछि घाटमा लगेर जलाएपछि जब खरानी हुन्छ, त्यो खरानी पनि खोदलेर हेर्यो भने, बिच्छी हुन्छ रे बुझ्यौ’ म वक्क परेको थिए ।
पछि सुनेको एउटा घटना सम्झिए- जब ४६ सालको जनआन्दोलन अन्तिम अबस्थामा पुग्दैथ्यो, काठमाडौंको मुख्य भागमा कर्फ्यु लगाएको अबस्थामा बानेश्वरका जनता एकापसमा कुरा गर्दै रहेछन, एउटाले भनेछ ‘शहर (त्यसबखत बानेश्वरवासीहरू न्युरोड, असनलाई शहर जाने भन्थे)मा कर्फ्यु लागेको छ रे, कर्फ्यु कस्तो हुँदो रहेछ हेर्न जाउन’, अर्कोले जवाफ दिएछ – ‘ए केही छैन, एउटा मान्छे छैन सबै पुलिसै पुलिस मात्र छ ।’ अर्थात पुलिस चाहिँ मान्छे हैन । सायद काठमाडौंलाई यो मानसिकताले अझै छाडिसकेको छैन कि !














प्रतिक्रिया