
काठमाडौँ, १७ भदौ । बैतडीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका छन् । दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
यस्तै पाटन नगरपालिकाका ३ महिला र एक पुरुष गरी ४ जना, दोगडाकेदार गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका १ महिला, पञ्चेश्वर गाउँपालिकाका १ पुरुष र सिगास गाउँपालिकाका १ महिलामा स्क्रब टाइफस पुष्टि भएको जनाइएको छ ।
माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
त्यस्तै, जिल्लामा डेंगुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यायले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका २ महिला र १ पुरुष गरी तीनजनामा डेंगु रोग देखा परेको हो । डेंगु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य विज्ञहरुले जोड दिन्छन् ।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन भने डेंगु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।















प्रतिक्रिया