२९ आश्विन २०८३, बिहिबार

‘सम्झनामा विद्यावारिधि गरेका प्रहरी जवान अर्थात् एसएसपी’

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आकस्मिक रूपमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठको निधन भएको खबर सुनें, मन एक तमास भएर आयो ।

यो खबरसँगै म २६ वर्षअगाडि पूर्वक्षेत्रीय सशस्त्र प्रहरी गणको ती दिनमा पुगेर तरंगिन थालें । उहासँगका पहिलो भेट मन मस्तिष्कमा आएर नाच्न थाले, जहाँ मेरो नेपाल प्रहरीमा छुट्टै छबि बनाएका उनै व्यक्तित्वसँग प्रथम भेट भएको थियो ।

२०५१ सालमा म भर्खरै इन्स्पेक्टरको तालीम सकेर विराटनगर गणमा खटिएको थिएँ । यस्तैमा एकदिन तत्कालिन गणपति (एसपी) ले मलाई बोलाएर भन्नुभएको थियो, ‘एसपी चुडाबहादुर श्रेष्ठ गणको अवलोकनमा आउँदै हुनुहुन्छ, प्रहरी अधिकृत र जवानहरूलाई उहाँको ब्रिफिङमा मिलाउने तयारी गर्नुस् ।’

शिवजी श्रेष्ठ

अनि प्रसंगवश उहाँले यो पनि जोड्न भ्याउनु भयो, ‘शिव सा’ब, समय बलवान हुन्छ, कुनै दिन म इन्स्पेक्टर हुँदा प्रहरी हेडक्वार्टरमा सिपाही थिएँ चुडा सा’ब र हामीलाई चिया बनाएर खुवाउनु हुन्थ्यो, आज एउटै अर्थात् म समान दर्जा एसपीको रूपमा यहाँ आउँदै हुनुहुन्छ ।’

त्यो सुनेपछि म झन् उत्साहित भएको थिएँ उहाँलाई भेट्न अनि उहाँलाई सुन्न । गण परिसरमा ब्रिफिङ कार्यक्रम शुरू भयो, त्यसको संयोजन मैले नै गर्नुपर्ने भयो । मैले उहाँको बारेमा थाहा पाएको कुरा बताउँदै ‘एसपी चुडाबहादुर श्रेष्ठ’ सम्बोधन गर्दै माइक हस्तान्तरण गरें ।

बिहान गणपति सा’बको कुराले उत्साहित भइरहेको मेरो मनमा उहाँको पहिलो वाक्यले झन् उत्साहित गरायो । उहाले भन्न थाल्नु भयो, ‘इन्स्पेक्टर सा’बले मलाई एसपी चुडाबहादुर श्रेष्ठको रूपमा चिनाउनु भयो । तर, म पहिले प्रहरी जवान चुडाबहादुर अनि हवल्दार, त्यसपछि असई चुडाबहादुर अनि सइ, इन्स्पेक्टर त्यसपछि डीएसपी चुडा, अनि मात्रै एसपी चुडाबहादुर श्रेष्ठ ।’

त्यहाँ उपस्थित प्रहरी जवानदेखि अफिसर सबै ‘पिन ड्रप साइलेन्स’ मा उहाँको कुरा मन्त्रमुग्ध भएर सुनिरहेका थियौं । गण परिसरको छेउमा भर्खरै हुर्किंदै गरेका उत्तिसका रुखमुनि उभिएर उहाँले भन्दै जानुभयो, ‘भोजपुरको बजारमा दाउरा बोकेर लगेर बेच्दै पढ्दै गर्दा प्रहरी अफिसर आफन्तको सहयोग लिएर प्रहरी जागिर खान खोज्दा सहयोग मिलेन । आफै काठमाडौं आएर प्रहरी जवानमा दरखास्त दिएर भर्ना भएँ, दिनभरी प्रहरीको जागिर खाँदै नन्दीरात्री स्कुलमा रात्री कक्षामा भर्ना भएर अध्ययन र जागिर अगाडि बढाएँ ।’

ब्रिफिङकैबीच उहाँले ती हवल्दार मेजरलाई सम्झिनुभयो, जसले उहाँको विशेष अनुरोधमा तत्कालिन नारायणहिटी राजदरबारअगाडिको सडकमा रातीको ड्युटी खटाईदिएका थिए । ‘त्यसबखत उही दरबारअगाडि मात्रै राती बिजुलीको लाइन जाँदैनथ्यो, हो त्यही बत्तीमा उभिएर किताब पढ्थें । यसरी एसएलसी पास गरें अनि हवल्दारमा बढुवा भएँ, क्याम्पस भर्ना भएँ, आईए पास गरें, असई पदको प्रतिस्पर्धामा भाग लिएँ, पास भएँ, केही समयपछि सई मा बढुवा भएँ, अनि यसरी नै बीए पास गरें अनि इन्स्पेक्टरको प्रतिस्पर्धाबाट इन्स्पेक्टर पनि भएँ, पछि डीएसपीमा बढुवा हुँदै अहिले एसपीको रूपमा उभिएको छु ।’

आफ्ना प्रेरणादायी कथा सुनाउँदै गर्दा उहाँका ती प्रेरणादायी कथा सबैले मन्त्रमुग्ध भएर एकटंकरले सुनिरहे ।

तर, उहाँका ती कथा त्यहीँ रहेकामध्ये एकजनाको लागि भने पश्चातापपूर्ण भन्यो । उहाँको ब्रिफिङ सकिएसँगै खानपिन गर्दै केही समय गफिएपछि त्यहाँबाट फर्किनुभयो ।

उहाँको कथा सुनेर म दिनभर तरंगित भइरहें । तर, लहरै क्वाटरको पल्लो कोठामा बस्नुहुने डीएसपी सा’बलाई चाहिँ छटपटाहट भएको रहेछ । साँझपख डीएसपी सा’बले आफ्नो क्वाटरमा बोलाएर भन्नुभयो, ‘थाहा छ शिव सा’ब, एसपी सा’बले सहयोग नगर्ने आफन्त पुलिस अफिसर भनेको मै हुँ नि !’

भएको के रहेछ भने जब चुडाबहादुर श्रेष्ठ बिहानै उठेर तल आफ्नो गाउँबाट दाउराको भारी बोकेर भोजपुर बजार पुगेर दाउरा बेच्दै पढ्ने पैसाको जोहो गर्दै गर्दा उही डीएसपी साब भोजपुर जिल्ला प्रहरी कार्यालयमा असई भएर आएका रहेछन् ।

नाताले चुडाबहादुर श्रेष्ठको दाइ पर्ने तिनै असई सा’बले प्रहरीमा जागिर खान सहयोग गर्लान् कि भन्ने आशमा दाउराको भारी बिसाएर भेट्न गएछन् । दाउरा बोक्ने मान्छेलाई आफ्नो भाइ भन्न लाज मानेर हो वा किन हो कुन्नि ती असई सा’बले चुडाबहादुर श्रेष्ठलाई सहयोग गर्नु त परको कुरा सहानुभूतिसम्म पनि देखाएनछन् ।

तर, त्यतिखेर सहानुभूतिसम्म पनि नजनाउने अनि सहानुभूतिसम्म पनि पाउन नसक्नेको हैसियत आज परस्परमा बदलिएको थियो, अर्थात् ती सहयोगको आशा राखेर असई सा’बलाई भेट्न जाने दाउरे आज सबैलाई ब्रिफिङ दिइरहेको थियो अनि तिनै सहयोग नगर्ने असई सा’ब अहिले त्यतिखेर सहयोग माग्न आउने दाउरे केटोको उही संघर्षको कथा अगाडि बसेर सुनिरहेको थियो ।

तर, त्यस साँझ ती डीएसपी सा’ब भन्दै हुनुहुन्थ्यो, ‘चुडा सा’ब र म दाजु भाइ हौं नि !’

यस्तैमा केही समयपछि नै म सरुवा भएर नेपाल प्रहरीका सिनियर अफिसरलाइ तालीम दिने ठाउँ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा गएँ, चुडा सा’ब पनि एसपीको रूपमा त्यहीँ हुनुहुन्थ्यो । २०५३ सालको तिहार अर्थात् म्ह पूजाको दिन म फिल्ड अफिसर थिएँ, प्रहरी अधिकृत अनि जवानहरूको रोलकल लिएर मुलगेटअगाडि तत्कालिन इन्स्पेक्टर (पछि डीआइजी) रमेश खरेलसँग गफिदै थिएँ ।

उहाँ आफैले नेतृत्व गर्नुभएको माओवादीविरुद्धको रोमियो अपरेसनको सिलसिलामा गरिबी र अशिक्षाको फाइदा लिँदै माओवादीको उर्वरभूमि बन्दै गएको रोल्पामा खटिँदा देखेका, भोगेका पछौटेपनका आधारमा एकोहोरो प्रहरी कारबाही मात्र होइन, विकास पनि सँगसँगै लैजानुपर्छ भन्ने राय सरकारमा पेश गर्दै त्यही कुरा आफ्नो पीएचडीको थेसिसमा विश्लेषण गर्दै हुनुहुँदो रहेछ ।

एकजना प्रहरी जवान आएर एसपी सा’बबाट बोलावट भएको सुनाए । माथि हेरें कार्यालयको एउटा कोठाबाट बत्तीको उज्यालो बाहिर आइरहेको थियो । म एसपी सा’बको अफिस कोठामा गएँ, जयनेपाल गरें । अचम्म तिहार, त्यसमा पनि म्ह पूजा चुडाबहादुर श्रेष्ठ एसपी सा’ब त लेखाईपढाइमा पो मस्त हुनुहुँदो रहेछ ।

मलाइ बस्न भन्नु भयो, अनि सामान्य कुराकानीपछि आफूले रिसर्चको सिलसिलामा लेख्दै गरेको पेपर दिँदै मलाई पढेर सुझाव दिन भन्नु भयो । तिहार चाड, त्यसमा पनि नेवार जातीको विशेष पर्व म्ह पूजा, कतिखेर घर गएर चाड मनाउँदै रमाइलो गरौं भइरहेको बेला (जबकी एसपी सा’ब आफै पनि नेवार) ।

कहाँ उहाँको रिसर्च पढेर बस्ने मनस्थिति हुनु ? तर पनि आदेश पालन गर्नै पर्यो । उहाँ आफ्नो पीएचडी (विद्यावारिधि) को थेसिस माओवादी इन्सर्जेंसीसम्बद्ध ‘नेपालः कोपिङ विथ माओइष्ट इन्सर्जेंसी’ ‘कन्फ्लिक्ट एनालाइसिस एन्ड रिसोलुसन’ लेख्दै हुनुहुँदो रहेछ ।

उहाँ आफैले नेतृत्व गर्नुभएको माओवादीविरुद्धको रोमियो अपरेसनको सिलसिलामा गरिबी र अशिक्षाको फाइदा लिँदै माओवादीको उर्वरभूमि बन्दै गएको रोल्पामा खटिँदा देखेका, भोगेका पछौटेपनका आधारमा एकोहोरो प्रहरी कारबाही मात्र होइन, विकास पनि सँगसँगै लैजानुपर्छ भन्ने राय सरकारमा पेश गर्दै त्यही कुरा आफ्नो पीएचडीको थेसिसमा विश्लेषण गर्दै हुनुहुँदो रहेछ ।

त्यही कुरा म्ह पूजाले मस्त त्यस रात मसँग गर्दै हुनुहुन्थ्यो । तर, मेरो मन भने त्यहाँ अड्न सकिरहेको थिएन । सायद त्यही कुरा उहाँले बुझ्नुभएर होला, मलाइ ‘हुन्छ इन्स्पेक्टर सा’ब जानुस्’ भन्नुभयो । म जयनेपाल गर्दै निस्किएँ । तर, मनमनै गुत्थै गएँ अनि सोच्दै गएँ र फेरि सम्झिदै गएँ, ‘उही विराटनगरको ब्रिफिङ अनि ती डीएसपी सा’बले सुनाउनु भएको उही गाउँदेखि दाउराको भारी बोक्दै पढ्ने ध्याउन्नमा रहेका दाउरे ठिटोको कथा ।’

अनि यो पनि सम्झिन्छु कि, म विराटनगरबाट जिल्ला प्रहरी कार्यालय झापा सरुवा भएको २ महीना मात्रै भएको थियो । त्यहाँका सत्तारुढ पार्टीका नेताहरूसँग रस्साकस्सी हुन थालिसकेको थियो । त्यहीबीच मेरो पुलिस एकेडेमीमा सरुवाको आदेश आयो । त्यो एउटा संयोग थियो, तर सिनियर अफिसरलाइ तालीम दिने एकेडेमीको पोष्टिङलाइ विशेष मानिन्थ्यो ।

त्यसैले गर्व महशुस गर्दै थिएँ । पछि तत्कालिन प्रशासन एआइजीपी अच्युतकृष्ण खरेलले भन्नुभयो, ‘तिमीलाई एकेडेमी ल्याउने सिफारिस एसपी चुडाबहादुर श्रेष्ठ र डीएसपी (पछि आइजीपी) कुबेरसिंह रानाको हो है ।’ उहाँहरूप्रति अनुग्रहित थिएँ र शुभचिन्तकको रूपमा सम्झिएँ ।

कालान्तरमा मेरो डीएसपीमा बढुवा भएको केही समयपछि एकजना डीआईजी सा’बको छोराको विवाहमा चुडा सा’बसँग भेट भयो । उक्त भेटमा उहाँले चासो राख्दै भन्नुभयो, ‘बढुवाको मेरिट लिष्टमा तपाईंलाई कसरी पछाडि पार्यो ? लामो दौडको घोडा तपाईंलाइ यसले असर पार्छ कि ?’

म नाजवाफ थिएँ । मप्रति उहाँको सद्भाव अनि चासोले उहाँप्रति मेरो सम्मान झन् बढेर आयो । तर, पनि केहि जवाफ दिन नसकी मात्रै उहाँको अनुहार हेरिरहें ।

त्यसैमा चित्त नबुझ्दा नबुझ्दै तत्कालिन आइजीपी श्यामभक्त थापासँग सवालजवाफ गर्दै राजीनामा दिएर विदेसिएपछि उहाँले मेरो खोजी गर्नुभएको रहेछ । पछि नेपाल आएको बेला फेरि खोजी गर्दै आफू वरिष्ठ उपाध्यक्ष रहनुभएको नेपाल पूर्वप्रहरी संगठनको केन्द्रीय कार्यालयमा बोलाएर तत्कालिन अध्यक्ष (पूर्वआइजीपी) डीबी लामासँग बैठक गराएर संगठनको सदस्य बन्न लगाउनु भएको थियो ।

पछि के कुरामा मतभेद भएर हो कुन्नि उहाँहरू संगठनबाट बाहिरिएर नेपाल पूर्वप्रहरी कर्मचारी परिषद् बनाउनुभएछ । संयोगले म नेपाल पुगेको बेला परिषद्को साधारणसभामा बोलाउनुभई परदेशमा बसेर देश र प्रहरी सेवाका लागि योगदान पुर्याएको भन्दै मलाई दोसल्ला ओढाएर सम्मान पनि दिनुभयो ।

प्रहरीभित्र आफ्नै विशिष्ट छबि बनाउनुभएका चुडाबहादुर श्रेष्ठ धेरै संघर्ष गरेर अध्ययन गर्दै प्रहरी भित्र दोस्रो विद्यावारिधि गर्ने अधिकृत हुनुभयो । त्यति मात्र नभएर आफू मिर्गौलासम्बन्धी बिरामी भएर अस्पतालमा उपचार गराउँदै गर्दा सुनसरी (जहाँ उहाँ कुनैदिन इञ्चार्ज भएर बस्नु भएको थियो) का जनताले जनस्तरबाट सहयोग रकम संकलन गरेर उहाँको उपचारमा योगदान पुर्याएका थिए ।

मनमा एउटा अठोट बोकेर अगाडी बढेकोले होला सायद रोगले उहाँलाई गाज्न खोजेपनि उहाँ लगातार अगाडी बढिरहनु भयो। शरीरले हार्न खोजेपनि उहाँले हार मान्नु भएन त्यसैले करिब २ दशक त्यहि रोग बोकेर दुवै मिर्गौलाको डाइलोसिस गराउदै अनवरत अगाडी बढिरहनु भयो  यहि बिचमा जहाँ खटिए, त्यहाँ प्रहरी जनता साझेदारी कार्यक्रम गर्दै जागिर संगै बिद्यावारिधि (पिएचडी) पनि गर्नु भो ।

जब प्रहरी सेवाबाट अवकाश पाउनु भो, प्राज्ञिक क्षेत्रमा लागि पर्नु भो, राजनीति अनि सामाजिक क्षेत्र अनि पुर्ब प्रहरीहरुको संस्थामा सक्रिय रही रहनु भो । तर रोगसँग हार मान्नु भएन ।

प्रहरीका लागि भनेर जनताले सहयोग जुटाउने बिरलै भाग्यमानीमा पर्नुभएका उहाँलाई जनताको सुभेच्छाले लामो समय बचाउन समर्थ बनायो । तर, यसपाली भने सबैको शुभेच्छालाई लत्याउँदै कालले उहाँलाई हामीबीचबाट खोसेर लिएरै गइछाड्यो ।

उहाँ हामीबीच अब नरहनु भए पनि उहाँका संघर्षपूर्ण जीवन धेरैका लागि प्रेरणाको स्रोत भएर रहिरहने छ ।

अलविदा चुडा सर !

 

लेखक श्रेष्ठ पूर्वडीएसपी हुन् ।