३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा कोरोना भाइरसको संक्रमण घट्दै, मृतकको संख्या पनि न्यून

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-गणेश थापा

क्यालिफोर्निया, १५ भदौ । संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमणमा केही कमी आएको छ ।

देशभर फैलिएको कोरोना महामारीबाट आक्रान्त बनिरहेको अमेरिकामा केही दिनयतादेखि भाइरसको संक्रमण निरन्तर रूपमा घट्दै गइरहेको पछिल्लो तथ्यांकले देखाएको छ । यसैगरी मृतकको संख्यामा समेत निकै ह्रास आइरहेको छ ।

अमेरिकामा कोभिड १९ सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण विश्वको सवैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा मृतकको संख्या घटेर सोमबार करीव ४ सयको हाराहारीमा झरेको छ भने गएको २४ घण्टाको अवधिमा ३३ हजार ७ सय ६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

विगतका दिनहरूमा अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक ७७ हजारसम्म पुगेकोमा हाल त्यो संख्या आधाआधीमा झरेको छ । त्यस्तैगरी अघिल्ला महिनामा कोरोना भाइरसबाट अमेरिकामा दैनिक रूपमा करीव सा‘ढे ४ हजारको हराहारीमा मानिसहरूको मृत्यु भएको थियो ।

यसैगरी केही दिनयता नया‘ संक्रमित तथा मृतकको संख्यामा कमी आउनथालेपछि अमेरिकाको जनजिवन केही सहज देखिएको छ भने व्यापार व्यावसाय तथा कार्यालयहरूले आफ्नो सेवा पुनःसंचालन गर्न थालेका छन् ।

गत फागुनमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएयता हालसम्म अमेरिकामा झण्डै ६१ लाख ५० हजार मानिस संक्रमित भएका छन् । यस अवधिमा १ लाख ८६ हजार बढीको ज्यान गइसकेको छ ।

मृतकको संख्या मध्ये ५० वर्षमाथिको उमेर समूह अधिक छ भने ३० वर्षभन्दा कम उमेरका मानिसहरू नगन्य मात्रमा रहेको प्राप्त तथ्यांकले औंल्याएको छ । हालसम्म २३ लाख २५ हजार अमेरिकाबासीहरू कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

अमेरिकामा हिजो आइतबार करीव ४८ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको थयो भने अघिल्लो दिनको संक्रमित संख्या समेत सोही सेरोफेरोमा रहेको थियो ।

यसैगरी आइतबार मात्रै १२ सय बढीको ज्यान गएको अमेरिकामा शनिबार १ हजार ३९ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

अघिल्ला साताहरूमा मृत्युदर स्थिर देखिएतापनि नया‘ संक्रमितहरूको संख्या अत्याधिक मात्रामा थपिदा सर्वसाधारण नागरिक निकै त्रसित थिए ।

तर, पछिल्लो समय संक्रमित संख्यामा कमी आएसंगै केही राहत महसुश गर्न थालिएको छ भने बजारमा मानिसहरूको चहलपहल समेत बढेको छ ।

प्राप्त तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा अहिले संक्रमित तथा मृतकको संख्या करीव करीव शून्यमा झरेको छ । यहा‘ अहिलेसम्म करीव ३३ हजार मानिसको मृत्यु भएको छ भने झण्डै सा‘ढे ४ लाख मानिस संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहा‘का विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेर करीव १३ हजार पुगेको छ भने झण्डै ७ लाख बढी मानिसमा संक्रमण देखिएको छ ।

क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या सवैभन्दा बढी छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै सा‘ढे ८ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत २ करोड ५० लाख नाघेको छ ।