१ कार्तिक २०८३, शनिबार

‘ओभरस्टे’बापतको जरीवाना तिर्न नसक्दा दुबई विमानस्थलमै अड्किए १७ नेपाली

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । जरीवाना तिर्न नसक्दा यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्कन टिकट काटिसकेका १७ जना नेपाली दुबई विमानस्थलमा अड्किएका छन् ।

सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत घर फर्कन टिकट काटिसकेका २६८ जनामध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नु पर्ने ओभरस्टे बापतको जरीवाना तिर्न नसक्दा नेपाल फर्कन नपाएका हुन् ।

आज सोमबार नेपाल एअरलाइन्समार्फत नेपाल फर्कने अधिकांश नेपालीले जरीवाना तिरेका छन् । जरीवानाबापतको रकम धेरै नै भएका ४५ जनामध्ये १७ जनालाई कसैगरी पनि पठाउन नसकिएको नेपाल एअरलाइन्सको यूएई प्रतिनिधि टिकाराम पंगेनीले बताए ।

नेपाल फर्कने अधिकांशले अध्यागमनमा जरीवाना तिर्नु पर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै ४ घण्टा दुबई विमानस्थलमै होल्ड गर्नु परेको पनि उनको भनाइ छ ।

‘टिकट काटिसकेका नेपालीलाई सकेसम्म लैजाने उद्देश्यले पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्‍यौं, तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन’, पंगेनीले भने ।

यूएईले मार्च १ भन्दा अघि नै भिसाको अवधि सकिएकालाई जरीवाना नलिने भनेको थियो । तर, त्यसभन्दा पछि भिसाको अवधि सकिएर पनि स्वदेश नफर्किएकालाई जरीवाना लिइरहेको छ ।