३० आश्विन २०८३, शुक्रबार

काेराेनाबाट विदेशमा ३ नेपालीको मृत्यु, सावधानी अपनाउन आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो ।

शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।