विगत केही वर्षदेखि ऊ नेपाली चिलचित्र क्षेत्रकी अहिलेकी चल्तीकी नायिकासँग प्रेम गर्छ । भनौं ऊ ती नायिकाको प्रेमी हो । उसले कहिले पनि सोचेको थिएन कि कुनै दिन पर्दामा देखिने नायिकालाई प्रेमिका बनाउँछु या उसैसँग जिन्दगी बिताउने सपना देख्छु । तर, कहिलेकाहीँ नदेखेका सपनाहरू पनि बिपना भइदिन्छन् ।
पर्दामा हेर्दा सुन्दर र शालीन देखिने नायिकासँग उसको ख्याल ख्यालमा माया बस्यो । यति गहिरो माया बस्यो कि त्यो माया अब कुनै दिन छुट्ला कि भनेर ऊ कल्पना पनि गर्न सक्दैन ।
कम्प्युटर इन्जिनीयर बन्ने सपना बोकेर अमेरिकामा संघर्ष गरिरहेको उसले एकदिन एक्कासी भन्यो, ‘शी इज माई एभ्रिथिंंग, आई लभ हर, आई कान्ट लिभ विथआउट हर ।’ मनमनै हाँसो लाग्यो ‘केटो त साँच्चिकै लभमा पो परिसकेछ, खुशी लाग्यो मनैदेखि । अनि भनिदिएँ– ‘अल द बेस्ट ।’
एउटा नायिका अर्थात पब्लिक फिगरकी प्रेमी या श्रीमान् हुनु त्यति सजिलो कुरा होइन । जुन अहिले ऊ महसुस गरिरहेको छ । नायिका एकपछि अर्को गर्दै दिनदिनै भाइरल हुँदा उसको मुटु पनि ढुकढुक भएको छ । बिचरा ! नहोस पनि किन ।
बाउआमाको एक्लो छोरो उसले अब हुनेवाला बुहारी उनी नै हुन् है भनेर आफ्नो हजुरबुबादेखि आमा, दिदीबहिनी दाजुभाइलगायत सारा आफन्त र साथीभाइलाई समेत परिचय गराइसकेको छ । भोलि उसको बारेमा केही गलत समाचार आउला र परिवार, आफन्त र साथीभाइले आफूमाथि औंला उठाउलान् कि भनेर उसलाई ठूलै पीर परेको छ ।
प्रायः नायिकाहरूको नाम, त्यही क्षेत्रका निर्माता, निर्देशक या नायकहरूसँग जोडिन जान्छ, एक अर्कासँग नाम जोडेर धेरै समाचारहरू बन्छन् । तर, त्यसमा उसलाई पटक्कै विश्वास लाग्दैन भन्छ । एउटा नर्सको नाम डाक्टरसँग जोडिन्छ, एउटा एयरहोस्टेजको नाम पाइलटसँग जोडिन्छ, एउटा बैंकरको नाम अर्को बैंकरसँग जोडिन्छ । तर, नायिका पर्दामा देखिने र सबैले चिन्ने भएकाले होला उसको चर्चा बाहिर धेरै चल्ने गर्छ, जुन स्वाभाविक हो । उसको सोच महान छ । एउटा ग्लामर फिल्डमा काम गर्ने प्रत्येक केटीको प्रेमी या श्रीमान्ले त्यो पनि एउटा पेशा र कर्म हो भनेर सोचिदिनु पर्छ । जुन सोच मेरो साथीमा छ ।
चलचित्र क्षेत्रमा काम गर्ने नायिकाको पनि अरु सामान्य केटीको जस्तो घर हुन्छ, परिवार हुन्छ, प्रेमी हुन्छ, श्रीमान् हुन्छ, साथीभाइ हुन्छ र उनको पनि भविष्य हुन्छ । उनले पनि एउटा उमेर भएपछि विवाह गर्नुपर्छ, अर्काको घर जानुपर्छ, हिजो कसैकी छोरी भोलि कसैकी बुहारी भएर त्यो परिवारमा उनले पनि इज्जतका साथ शिर ठाडो पारेर बाँच्न पर्ने छ ।
रेखा ओझा
आजकल ऊ बिहान आँखा खुल्नेबित्तिकै गूगल र युट्यूबमा गएर आफ्नी प्रेमिकाको नाम सर्च गर्छ । मनमा ढुक–ढुक भएको हुन्छ कतै गएर अन्तर्वार्तामा केही बोलेर सामाजिक सञ्जालमा भाइरल पो भइसकी की ! कतै केही नभेटेपछि उसको मन खुशी हुन्छ अनि आफ्नो दैनिक क्रियाकलापतिर लाग्छ ।
पर्दामा निर्देशकले दिएको निर्देशन अनुसार उनलाई रियल लाइफमा अभिनय गर्न गाह्रो हुन्छ । अलिकति खाना नमीठो भए ससुराले भन्छन्– ‘हिजो बाहिर–बाहिर हिरोइन भएर हिँडेजस्तो घर सम्हाल्न सजिलो छ र ?’ अनि कहिलेकाहिँ पीड़ा भएर रोए सासुले भन्छिन्– ‘हिजो क्यामेराअगाडि रुन बानी परेकीलाई अहिले नौटंकी गरेर आँसु झार्न के गाह्रो कुरा भयो र !’
एउटा सामान्य केटीलाई भन्दा ग्लामर फिल्डकी केटीलाई घर गरिखान निक्कै गाह्रो हुन्छ । किनभने खाना बनाउन अरु केटीलाई पनि आउँदैन अनि पीड़ा हुँदा जोकोही केटी रुन्छन् । तर, हिजो क्यामेराअगाडि काम गरेकी केटीलाई हरेकपटक त्यही क्यामेरा अगाडिको कामसँग लगेर जोडिन्छ र मानसिक पीड़ा दिइन्छ ।
त्यसै पनि एउटी नायिकाको भविष्य अन्योल बनाइदिने हाम्रो समाजमा विगत केही समयदेखि एकपछि अर्को नायिकालाई ट्रोलको शिकार बनाइदिँदा उनीहरूका परिवार, प्रेमी, श्रीमान् र आफन्तलाई कति पीड़ा भएको होला म मेरै साथीको छटपटीले पनि त्यो अनुमान लगाउन सक्छु ।
आजकल ऊ बिहान आँखा खुल्नेबित्तिकै गूगल र युट्यूबमा गएर आफ्नी प्रेमिकाको नाम सर्च गर्छ । मनमा ढुक–ढुक भएको हुन्छ कतै गएर अन्तर्वार्तामा केही बोलेर सामाजिक सञ्जालमा भाइरल पो भइसकी की ! कतै केही नभेटेपछि उसको मन खुशी हुन्छ अनि आफ्नो दैनिक क्रियाकलापतिर लाग्छ ।
केही समयअघि नायिका वर्षा राउत एकाएक ट्रोलको शिकार बन्दा उनका श्रीमान् सञ्जोग कोईरालाले बोलेको त्यो शब्दले त्यो शब्दले मेरो मन साह्रै छोएको थियो– ‘वर्षा राउत अब वर्षा राउत मात्र होइन, उनी कोईराला पनि भइसकेकी छिन् ।’ वाउ ! सञ्जोग सबै नायिकाले तिमी जस्तै हरेक कुरामा साथ दिने सकारात्मक सोच भएको महान श्रीमान् पाउन् । भित्र मनदेखि म तिम्रो सम्मान गर्छु अनि वर्षालाई भन्छु– ‘वाउ ! तिमी साँच्चै भाग्यमानी छौ ।’
सायद वर्षा जस्ती भाग्यमानी सबै नायिका नहोलान् र उनले जस्तो बुझ्ने श्रीमान् सबैले नपाउलान् । एउटी नारी जन्मिदै र हुर्किंदै जाँदा उसले पनि एउटा सपना पालेकी हुन्छिन् मनमा । कि म पनि भोलि गएर फलानी नायिका जस्तै भएर पर्दामा देखिने छु । उसको इच्छा र चाहनालाई आत्मादेखि नमारदिनुस् । एउटी नायिकाको पनि घर परिवार र इज्जत हुन्छ त्यसको ख्याल राखिदिनुस् ।
पर्दामा देखिएकी सुन्दर केटीसँग जिन्दगी सँगै बिताउने सपना देखेको उसको प्रेमीको सपना चकनाचुर नबनाइदिनुस् । अनि फलानी नायिकाको श्रीमान् हुँ भनेर एउटा पुरुषलाई गर्वका साथ आफ्नो छाती फुलाएर हिँड्ने मौका दिनुस् । उसलाइ पनि सबैको अगाडि शिर झुकाएर होइन ठाडो पारेर बाँच्ने वातावरण मिलाइदिनुहोस् ।
अब त अत्ति भयो नायिकाहरूलाई ट्रोलको शिकार बनाएर नम्बर वान हुने होड़बाजी आजैदेखि त्याग्नुस् । धन्यावाद !
प्रतिक्रिया