
काठमाडौँ, २ भदौ । बर्दियामा मृत्यु भएका एक पुरुषको दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
मधुवन नगरपालिका ९ को १२ नम्बर टोलका ७८ वर्षीय वृद्धको दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
सोमबार दिउँसो साढे ३ बजेतिर उनलाई निमोनिया भएकाले नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल भर्ना गरिएको थियो । मंगलबार साढे १ बजे उनको मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै शव घर पठाइएको थियो ।
अस्पतालका अनुसार सामाजिक दुरी कायम गरेर दाहसंस्कार गर्ने कागज गरेर शव परिवारको जिम्मा लगाइएको थियो । पछि रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
घर नजिकैको बबई नदीको कुसुम्बा घाटमा शवमा दाहसंस्कार गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अस्पतालले रिपोर्ट नआउँदै किन शव पठाएकोबारे छानविन गर्ने बताएको छ ।
त्यस्तै, केन्द्रले तोकिएको भन्दा बढी मलामी गएको बताएको छ । गाउँ नै सिल गरेर परीक्षण गरिने बताइएको छ ।
नेपाल सरकारको २५ जनाभन्दा बढी व्यक्ति मलामी जान नहुने नियम छ । यद्यपि करिब चार पाँच सयको संख्यामा मलामी गएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । जसमध्ये एक सय जनालाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न लागिएको बताइएको छ ।















प्रतिक्रिया