३० आश्विन २०८३, शुक्रबार

‘तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ’

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले तीज र कुशे औंशीले कोरोना संक्रमणको जोखिम बढाउने बताएका छन् ।

पछिल्लो समय सरकारले लकडाउन खुला गरेसँगै देशभर कोरोना संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएको छ । उक्त अवस्थालाई दृष्टिगत गर्दै डा. पाण्डेले हामी आफैं मध्ये पनि को संक्रमित को संक्रमित होइन भनेर पत्ता नलागेको अवस्थामा नजिकै रहेको कुशे औंशी र तीज पर्व नमनाउन आग्रह गरेका हुन् ।

कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुबालाई भेट्न सकभर नजान उनले अनुरोध गरेका छन् । ‘हामी संक्रमित हुन पनि सक्छौं । हामीलाई संक्रमणले असर नगरे पनि बुबाआमा ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ । संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ’, डा. पाण्डेले भने, ‘यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफू पनि पाहुना भएर कतै नजाऔं । महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुने छन् ।’

डा. पाण्डेले यस वर्षको तीज पनि नमनाउन आम महिलाहरुलाई अनुरोध गरेका छन् । ‘दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुबाआमालाई नभेट्दा उहाँहरुले के सोच्नुहोला भनेर हामीले नसोचौं’, डा. पाण्डे भन्छन्, ‘महामारीको समयमा पाहुना नबोलाएमा वा आफू पनि नगएमा उहाँहरु खुशी हुनु हुनेछ ।’

यसपटकको सम्पूर्ण चाडपर्वहरु फोन वा भर्चुअल माध्यमद्वारा मनाउन र शुभकामना तथा आर्शीवाद आदानप्रदान गर्न उनको अनुरोध छ ।

‘अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं । हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् । को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरी थाहा हुँदैन’, उनले भने, ‘तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिविधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै दर खाने नाममा अपच हुने गरी गरिष्ठ भोजन सेवन नगर्न पनि उनले अनुरोध गरेका छन् । गरिष्ठ भोजन सेवन गर्दा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुने उनको भनाइ छ ।

हल्का र सधैंझैं सामान्य खाना खानेकुरा खानु उपयुक्त हुने उनको भनाइ छ । ‘दरले डर हुन्छ, घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं/हेरौं ।’