
काठमाडौं, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलबारे भ्रामक प्रचार गरेको बताएका छन् ।
कार्यदलले पार्टीभित्र एकताको रक्षा सुनिश्चित गरेको सन्देश प्रवाह भइरहेको बेलामा त्यसलाई गलत ढंगले प्रभार गरिनु ठीक नभएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘कार्यदलको सुझावलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ ।’ यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको उनले बताएका छन् ।
पार्टीभित्रका सबै नेता कार्यकर्ता सचेत र गम्भीर बन्नु पर्ने भन्दै उनले लेखेका छन्, ‘पार्टी भित्र केही बिषयमा कुनै छलफल, वहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त हुँदैन । बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र वहसलाई प्रोत्साहित गरिनु पर्दछ ।’
पार्टीका २ जना अध्यक्षहद्वारा पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको बताउँदै उनले भनेका छन्, ‘मैले यसअघि नै सार्वजनिक रुपमा पार्टी संकटको निकासको सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी, पार्टी एकताको रक्षाले हामी सबैलाई खुशी बनाएको छ ।’
कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण तथा अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने प्रवक्ता श्रेष्ठको अपेक्षा छ ।
यसअघि दुई अध्यक्षले गठन गरेकको कार्यदलबारे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले वैधानिक प्रश्न उठाएको भन्दै कतिपय सञ्चारमाध्यमहरुले समाचार लेखेका थिए ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया