शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रजतपट बहिस्कार गर्ने सात वटा संस्थाकाे निर्णयकाे महासचिव राणाद्वारा विराेध

दैनिक नेपाल २०७७ साउन ३२ गते १०:१४

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले कार्यक्रम सञ्चालकको गल्तीलाई लिएर चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय नहुने बताएका छन् ।

अभिनेता समेत रहेका संघका महासचिव राणाले शनिबार विज्ञप्ति जारी गरेर रजतपट कार्यक्रमलाई बहिष्कार गर्न आह्वान गरिएको आशयको प्रेस विज्ञप्तिको विरोध गरेका छन् । उनले कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले माफी मागी सकेको र पीडित भनिएकी कलाकार कानूनी बाटो गइसकेको अवस्थामा विभिन्न संघ संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर रजतपट बहिस्कार गर्ने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

निर्माता संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले रजतपट कार्यक्रमलाई बहिस्कार गर्ने भनेर हस्ताक्षर गरेका छन् ।

‘नेपाल चलचित्र निर्माता संघको तर्फबाट गरिएको हस्ताक्षर समग्र निर्माता संघको नभएर हस्ताक्षरित अध्यक्षको नितान्त व्यक्तिगत धारण मात्र रहेको स्पष्ट पार्न चाहन्छु’, महासचिव राणाले भनेका छन् ।

‘चलचित्र क्षेत्रको उन्ननयनका लागि समर्पित एउटा पुराना पत्रकार प्रकाश सुवेदीले चलचित्र पत्रकारिताको मर्यादालाई ख्याल नराखी एउटा कलाकारको रङ्ग, रुप, शारीरिक बनावटलाई लिएर गरेको टिकाटिप्पणी निसन्देह पत्रकारिता आचारसंहिता विपरित र अक्षम्य छ’, राणाले भनेका छन्, ‘यस गम्भीर विषयमा उनले आफ्नो अक्षम्य गल्तीको आत्मावोध गर्दै सार्वजनिक सञ्चारमाध्यमबाट माफीपनि मागीसकेका छन् ।’

‘यस विषयलाई लिएर प्रकाश सुवेदीले जुन कलाकारलाई लक्षित गरी अभिव्यक्ति दिएका हुन् उहाँले आवश्यक कानूनी प्रकृया अगाडि बढाइसक्नु भएको सञ्चारमाध्यमबाट सुन्नमा आएको छ’, राणाले भने, ‘जुन उहाँको नितान्त व्यक्तिगत अधिकारको कुरा हो । जसलाई म स्वयम् सम्मान गर्दछु ।’

‘चलचित्र क्षेत्रभित्रको यस्ता जटिल समस्याहरूलाई सौहार्द रुपमा सम्बोधन गर्न उद्धत हुनुपर्ने हाम्रा चलचित्र सम्बद्ध संगठनहरू उल्टै रजतपट कार्यक्रमलाई बहिष्कार गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिनमा तल्लीन रहनु चलचित्र क्षेत्रको लागि दुर्भाग्यपूर्ण हो’, संघका महासचिव राणाले भनेका छन् ।

‘रजतपट कार्यक्रमको एक प्रस्तोताबाट भएको गल्तीलाई लिएर सिङ्गो कार्यक्रमलाई नै बहिष्कार गर्ने अभिव्यक्ति यसरी संस्थागत रूपमा आउनु चलचित्र क्षेत्रको सुखद् भविष्यको संकेत नरहेको मेरो ठम्याइ छ’, उनले भनेका छन् ।

‘कार्यक्रम सञ्चालकको गल्तीलाई लिएर चलचित्र क्षेत्रका लागि रजतपटको योगदानलाई ओझेलमा पार्नु वाञ्छनीय हुँदैन’, उनले भने, ‘रजतपट कार्यक्रमलाई वहिष्कार गर्न आहवान गरिएको आशयको प्रेस विज्ञप्तिमा नेपाल चलचित्र निर्माता संघको तर्फबाट गरिएको हस्ताक्षर समग्र निर्माता संघको नभएर हस्ताक्षरित अध्यक्षको नितान्त व्यक्तिगत धारण मात्र रहेको स्पष्ट पार्न चाहन्छु ।’

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र द्वन्द्व संघका अध्यक्ष सूर्य थोकर लामा र चलचित्र नृत्य संघका कार्यबाहक अध्यक्ष जनक कार्कीले संयुक्त विज्ञप्ति जारी गरेर प्रकाश सुवेदीद्वारा सञ्चालित रजतपट नामक टेलिभिजन कार्यक्रममा सहभागी नहुन र बहिस्कार गर्न संयुक्त विज्ञप्तिमार्फत आह्वान गरेका थिए ।

नायिका पूजा शर्माका विषयमा सञ्चारकर्मी प्रकाश अधिकारीले दिएको अभिव्यक्तिले चलचित्र क्षेत्र तरंगित भएको छ । शर्माले विभिन्न ठाउँमा सुवेदीविरुद्ध उजुरी समेत दिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित