
काठमाडौं, ३१ साउन । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पीसीआर विधिबाट ५ हजार व्यक्तिको कोरोना संक्रमण परीक्षण गर्ने भएको छ ।
काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धार समेत रहेको नगर क्षेत्रमा कोरोनाको उच्च जोखिम भएको भन्दै नगरपालिकाभित्रका ५ हजार व्यक्तिको पीसीआर वित्रिबाट कोरोना परीक्षण गर्न लागेको नगरपालिकाले बताएको छ ।
नगरभित्र अग्र भागमा रहेर काम गर्ने व्यक्तिलाई लक्षित गरी नगरपालिकाले प्रत्येक वडामा ३०० जनाको परीक्षण गर्ने योजना बनाएको हो ।
विशेषगरी नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पीसीआर परीक्षण गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।
परीक्षणका लागि दहचोकमा आइसोलेसन स्थापना गरी सञ्चालनको तयारी पनि नगरले गरेको छ । हालसम्म चन्द्रागिरिमा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
यसैबीच नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगित गरिसकेको छ ।















प्रतिक्रिया