३० आश्विन २०८३, शुक्रबार

धुन्सा र सिम्बुवाखोला आयोजनामा विदेशिने नेपालीको शेयर बढाइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । ताप्लेजुङमा निर्माण हुने धुन्सा र सिम्बुवाखोला जलविद्युत् आयोजनामा विदेशिने नेपालीको लगानी वृद्धि गरिने भएको छ ।

दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ । विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) को रकम समेत लगानी गर्ने गरी ७७.५ मेगावाटको धुन्सा र ७०.३ (संशोधित) निर्माण गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले कम्पनीमार्फत निर्माण प्रक्रिया अघि बढाएको हो ।

जनताको जलविद्युत् आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा शुक्रबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले रेमिट्यान्सको लगानी वृद्धि गर्ने प्रक्रिया अघि बढाउन आयोजना निर्माणको जिम्मा पाएको एचआईडीसीएललाई निर्देशन दिए ।

ती दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत लगानी रेमिट्यान्स र बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारण लगायतबाट रकम जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो । तर उक्त अनुपात अब परिवर्तन गरी रेमिट्यान्सको लगानी वृद्धि गरिने भएको हो ।

विदेश बस्ने प्रत्येक नेपालीले ५ लाख रूपैयाँ लगानी गर्ने गरी मोडालिटी तयार पार्न मन्त्री पुनले निर्देशन दिएका छन् । ‘विदेशमा बस्ने नेपालीका लागि अहिले प्रस्तावित शेयर कम भएको महसुस भएको छ । यसलाई बढाएर कम्तीमा इच्छुकले प्रतिव्यक्ति ५ लाख लगानी गर्न सक्ने व्यवस्था मिलाइयो भने त्यसैबाट आउने मासिक आम्दानीले उसको घर चल्छ र फेरि विदेश जानु पर्ने बाध्यता हट्छ’, मन्त्री पुनको भनाइ छ ।

धुन्सा र सिम्बुवा खोला आयोजना निर्माणको लगानी मोडेल नै रेमिट्यान्स भएकाले बढीभन्दा बढी विदेशमा रहेका नेपालीलाई त्यसमा समेट्नु पर्ने स्पष्ट पारेका छन् ।

हाल विदेशमा रहेकाहरूले स्वदेश फर्केपछि पेन्सनकै रूपमा नियमित आम्दानीको स्रोत हुने भएकाले उनीहरूको लगानी बढाउनु पर्नेमा मन्त्री पुनको जोड छ । बैठकमा मन्त्री पुनले दुईमध्ये कुन आयोजनामा कुन देशमा बस्नेले लगानी गर्ने भन्नेबारे पनि निक्र्यौल गर्न कम्पनीलाई निर्देशन दिएका छन् । ‘संसारका जुनसुकै देशमा रहेका नेपालीले लगानी गरुन । तर, दुई आयोजनामध्ये कुन आयोजनामा कुन देशमा रहेकाले लगानी गर्ने भन्नेबारे टुंगो लगाउनूस् ।’

ती दुवै आयोजनाको विस्तृत इन्जिनीयरिङ अध्ययनर वातावरणीय प्रभाव अध्ययन मूल्यांकन (इआईए) को प्रक्रिया अन्तिम चरणमा छ । आयोजनाको लगानी स्वीकृतिका लागि लगानी बोर्डमा पठाइएको कम्पनीका तर्फबाट बैठकमा जानकारी दिइएको थियो ।

दुवै आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीदविक्री सम्झौता गर्न भने बाँकी छ । दुवै आयोजना निर्माणका लागि कूल २१ अर्ब रूपैयाँ लगानी हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।