३० आश्विन २०८३, शुक्रबार

राती अन्तै सुतेका पनि पहिरोमा पुरिए, पहिरो खस्ने डरले उद्धारमा ढिलाइ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भीषण पहिरो जाँदा गाउँ नै पुरिएको छ भने कयौं मानिस बेपत्ता छन् ।

केही दिनयता पहिरोको जोखिम आँकलन गरेका त्यस गाउँमा मानिसहरु राती राती घर छोडेर अन्तै बास बस्दै आएका थिए ।

तर, बिहान भएपछि उनीहरु सबैरै घरधन्दा र अन्य कामका लागि जुट्ने गर्दछन् । सोही बेला (बिहान ६ बजेको समयमा) आएको विनाशकारी पहिरोका कारण राती अन्तै सुतेकाहरु पनि पहिरोमा परिएको हुनसक्ने अनुमान गरिएको छ ।

जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार घटनास्थलमा केहीबेरअघि नेपाली सेनाको एउटा हेलिकोप्टर पुगेको छ । तर, उद्धारको काम शुरु हुन सकेको छैन । उनका अनुसार अहिले पनि पहिरो थप खस्न सक्ने सम्भावनाका कारण उद्धारमा ढिलाई भइरहेको हो ।

केही उद्धार टोली घटनास्थल पुग्न बाँकी छ । स्थानीयवासीको मात्रै प्रयास त्यहाँ पर्याप्त बनिरहेको छैन ।

वडाअध्यक्ष श्रेष्ठका अनुसार उक्त गाउँसँग सम्बन्धित ३६ जना मानिस अहिले सम्पर्कबाहिर छन् । करीब ४० वटा जति घर पहिरोले पूर्ण र आंशिक रुपमा पुरेको छ भने कतिपय घर गन्नै नमिल्नेगरी हिलोमा बिलाएको छ ।

उक्त गाउँसम्म पुग्ने मोटरबाटो वर्षायामका कारण अवरुद्ध रहेकाले स्थानीय प्रहरीहरु अझै घटनास्थल पुग्न समस्या भइरहेको छ ।

घटनास्थलबाट करीब ३ घन्टा पैदल दूरीमा प्रहरी चौकी छ ।