
काठमाडौँ, २६ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्नपर्ने बताएका छन् ।
उनले नाका सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने दावी गरेका छन् । मेयर शाक्यले उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने बताएका हुन् ।
बाहिरी जिल्लाबाट आएकाबाट काठमाडौँमा संक्रमण फैलिएको बताउँदै अहिले नै नाका सिल नगरे संक्रमण नियन्त्रण बाहिर जाने पनि उनले बताए ।
उनले भने, ‘हाम्रो निर्णय मानिदिएको भए काठमाडौँ उपत्यकामा कुनै पनि संक्रमण देखिनेवाला थिएन । हाम्रो कुरा सरकारले मानिदियो, हामीले सरकारसँग अनुरोध गरेका थियौँ । नाकामा कडाई गर्न भन्यौं, गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहाँ लुकिछिपी आउने प्रवृति देखियो ।’
भीडभाड हुने क्षेत्र मठमन्दिर, मस्जिद, गुम्बा बन्द गरिएको तर सरकारको विरोध तथा समर्थनमा भएका जुलुसहरुले पनि संक्रमण निम्त्याउने मेयर शाक्यको भनाइ थियो ।
उनले उपत्यका बन्द गर्नुभन्दा आउने नाका बन्द गर्नुपर्ने बताए । त्यस्तै, उनले पीसीआर परीक्षण उपचार नभएर रक्षात्मक भएको बताए । तसर्थ, नागरिक सचेत हुनुपर्ने र सरकारले जारी गरेको गाइडलाइन अपनाउनुपर्ने बताए ।















प्रतिक्रिया