शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गाेंगबुमा बरामद शवको टाउको भेटियो

दैनिक नेपाल २०७७ साउन २५ गते १७:३३

काठमाडौँ, २५ साउन । गाेंगबुमा आइतबार सुटकेशभित्र टाउको र खुट्टा काटिएको अवस्थामा शव भेटिएको थियो ।

चिकित्सकका अनुसार उक्त शव करिब ४० ४५ वर्षे रहेको अनुमान गरिएको थियो तर टाउको नभेटिएपछि यकिन गर्न कठिन भएको बताइएको छ ।

प्रहरीले शवको टाउको र बाँकी भाग खोज्न तालिम प्राप्त कुकुर जोजो खटाएको थियो । विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुर प्रहरीले २०७४ सालमा बेलारुसबाट खरिद गरेको थियो ।

त्यही कुकुरको सहाराले सुटकेश सुँघाएर करिब ३ सय मिटर पर अर्काे झोलामा टाउको र खुट्टा भेटियो । टाउको भएपछि सनाखत गर्न र थप अनुसन्धानमा सहयोग पुग्ने प्रहरी अधिकृत बताउँछन् ।

दुवै स्थानमा भेटिएको शवको टुक्राको अवलोकनबाट फरेन्सिक विज्ञले घटना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकालेका छन् ।

यद्यपि, यसबारे विस्तृत विवरण पोष्टमार्टम रिपोर्टले नै खुलाउनेछ । हाल पोष्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ ।

शवको प्रकृति हेर्दा हतियार चलाइरहेको मान्छेले एकैपटकमा छिनाएको जस्तो देखिने प्रहरीले जनाएको छ ।

प्रहरीले सनाखत गर्ने प्रयास गरिहेको जनाएको छ । बेपत्ता व्यक्तिहरुको फाइल खोजिरहेको बताइएको छ ।

त्यस्तै, प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गरिरहेको छ । तर रातको समय र पानी परिरहेका बेला भएकाले सीसी टीभी फुटेजको विश्लेषण पनि सहज छैन ।

प्रारम्भिक अनुसन्धानमा शव भेटिएको स्थानमा हत्या भएको सम्भवना कम रहेको अधिकृतहरु बताउँछन् । अन्यत्र हत्या गरेर त्यहाँ लगेर शव फालिएको हुनसक्ने बताइएको छ ।

घटनामा व्यवसायिक अपराधीको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनामा विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित