
काठमाडौं, २३ साउन । फैसला पुनरावलोकनको बाटो खुलेपछि पूर्वडिआईजी रञ्जन कोइराला प्रकरणमा नयाँ मोड आएको छ ।
पत्नी हत्याको अभियोगमा ८ वर्ष ६ महिना जेल बसेर हालै रिहा भएका कोइराला निर्दोष रहेको निवेदन उनका छोराहरूले सर्वोच्च अदालतमा दर्ता गराएका छन् । प्रधानन्यायाधीशलाई सम्बोधन गरी निवेदन दर्ता छ ।
कोइरालाका छोराहरु २३ वर्षका आयुष र १९ वर्षका आर्यनले बिहीबार निवेदन दर्ता गराएका हुन् । निवेदनसँगै बाबु निर्दोष हुनुका अन्य दलिल र प्रमाणका रुपमा कतिपय सन्दर्भ सामग्री समेत पेस गरिएको बताइएको छ ।
जिल्ला अदालतले पत्नी हत्याको अभियोगमा दोषी करार गर्दै कोइरालालाई तोकेको सर्वस्वसहित जन्मकैदको सजाय पुनरावेदन अदालतलेसमेत सदर गरेपछि दोषी करार भएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याएर ८ बर्ष ६ महिनामात्रै सजाय कायम गरेपछि ८ साउनमा कोइराला रिहा भएका थिए ।
सर्वोच्चले कैद कटौती गरेकोमा चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सो फैसला पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दर्ता गरेपछि फैसलाउपर पुनरावलोकन गर्ने आदेश भएको छ ।
यसबीचमा छोराहरूको यो निवेदनले पुनरावलोकन प्रभावित हुन सक्ने अनुमान गरिएको छ । निवेदनसँगै प्रहरी अनुसन्धान त्रुटिपूर्ण रहेको र मावली पक्षबाट आफूहरु प्रताडित हुनुपरेकोलगायतका विवरण पेस गरिएको छ ।
मावलीतिरका हजुरबुवा हरेराम ढकालले ०६८ माघ ८मा टिचिङ अस्पतालमा लास सनाखत गरेको र ०६८ पुस २७ मा पालुङमा जलाएको हाडखोरबारे प्रहरीले भ्रमपूर्ण अनुसन्धान गरेको दाबी गर्दै कोइरालाका छोराहरूले हजुरबुवा ढकालले नै कब्जा गरेको दावीसमेत गरेका छन् ।















प्रतिक्रिया