शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

फुटमै पुगे नेकपा तीन टुक्रा हुने प्रक्षेपण, सरकार नेतृत्वमा डा. बाबुराम भट्टराईलाई लट्री पर्न सक्छ !

दैनिक नेपाल २०७७ साउन २३ गते १२:४२

काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक कलह फुटसम्मको अवस्थामा पुगेको छ । यति ठूलो पार्टी विभाजन भएको खण्डमा तीनवटा खेमा स्पष्ट हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुई खेमा अलग हुनेछन् भने पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालको अर्को समूह बन्न सक्नेछ ।

‘प्रचण्डको नेतृत्वमा जान खनाल र नेपाललाई असहज हुनेछ, एमाले हुँदा नै ओलीसँगको खटपट जारी थियो । यदि विभाजनकै चरणमा पुग्यो भने अर्को समूहको नयाँ पार्टी बन्न सक्छ’, उच्च स्रोतले भन्यो ।

पार्टी राम्रोसँग एकीकरण प्रक्रियाभित्र छिरिनसकी विभाजनको अवस्था आउँदा नैतिक र व्यवाहारिक तनाव छन् । यसबीचमा निर्वाचन आयोगमा नेकपा एमाले, नेकपा माओवादी समेत दर्ताको प्रक्रियामा छिर्दा पूर्व भनिएका नेकपाका एमाले र माओवादी कित्ता आ–आफ्ना लयमा लाग्दा खनाल–नेपालको पनि नयाँ दल बन्न सक्ने अनुमान गरिएको हो ।

‘सकभर पार्टी विभाजनबाट रोक्नका लागि अनेक प्रकारका प्रयत्न हुनेछन् । अभ्यास पनि जारी छन् । दोस्रो तहका नेता पनि सक्रिय नै छन्, एकता जोगाउन । यद्यपि विभाजनकै अवस्था आए अहिले देखिएजस्तो ओली र प्रचण्ड मात्र छुट्टिने होइन, यो दुर्घटनामा अर्को समूहको अलग दल पनि बन्नेछ’, उच्च स्रोतले भन्यो ।

विदेशी शक्तिले नेकपा विभाजन गराउनका लागि अनेक प्रयास जारी राखेको छ । यस प्रकरणमा त्यो शक्ति सफल भयो भने प्रतिनिधि सभादेखि सातै प्रदेशमा बलियो रहेको नेकपा कमजोर हुने र सबै सरकारका समिकरण फेरबदल हुने अनुमान गरिएको छ ।

यसो हुँदा संघीय सरकारका निम्ति सदनमा तेस्रो शक्तिका रुपमा उदय भएको जनता समाजवादी पार्टीलाई फाइदा हुनेछ । उसले सरकारको नेतृत्वमा स्वभाविक दाबी गठबन्धनसँग गर्नेछ । ‘जसले प्रयोग गर्नेछन् तिनले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नेछन्’, उच्च स्रोतले भन्यो,‘जनता समाजवादीको एकीकरणको दृष्टान्त र उपयोग पनि त्यसैका लागि भएको थियो । मधेसीमूलका नेतालाई प्रधानमन्त्रीमा विदेशी शक्तिले पनि अस्वीकार गर्ने भएकाले भट्टराईलाई लट्री पर्न सक्छ ।’

यस्तो भए नेपालका राजनीतिक स्थिरता नहुने निश्चितप्रायः छ । ‘गणतन्त्र आएको १२ बर्षसम्म पनि अस्थिर राजनीतिले स्थिर बाटो लिएको केही बर्ष पनि नभई विविध खेल भएका छन्, यसको दोषी प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र नेताहरू नेपाल, खनाल स्पष्ट देखिएका छन्’, उच्च स्रोतले भन्यो ।

प्रतिक्रिया
सम्बन्धित