२९ आश्विन २०८३, बिहिबार

भ्रष्टाचार संस्कारभित्र पत्रकारिता : एउटा निर्मम सत्यको अन्वेषण

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

‘दाजु मैले गाउँमा भ्रष्टाचार भयो भनी उजागर गर्दा मुद्दा हाल्छु भन्नेसम्मको धम्की दिए’, मलेसियामा जीवनको उर्जाशील समय खर्च गरिरहेको गाउँले भाईले फोनमा भन्यो,‘तर मर डराएको छैन ।’

‘ठिक छ भ्रष्टाचारविरुद्ध त हामी सबै लड्नुपर्छ । म साथमा छु’, मेरो उत्तर थियो ।

उसले जोड्यो,‘तपाईले पनि केही लेखिदिन पर्छ । अभियान चलाउने हो । राम्रो गाउँ, भ्रष्टाचारमुक्त ठाउँ बनाउने मेरो रहर छ ।’

संवाद लामो भयो । उसको फोन संवादमा गाउँप्रतिको प्रेम । गाउँमा विकास गर्ने रहर थियो ।

बेलामौका उसले देखाउने आक्रोशको भाव थियोे– रोजगारीका लागि परदेशको भूमिमा पसिना बगाई राज्यलाई पैसा पठायो, आफ्नो ठाउँमा बन्ने सानो कल्भर्टमा पनि भ्रष्टाचार भएको पाइन्छ ।

यसका दुईवटा गम्भिर सत्यलाई उसको सानो आक्रोशसँग तुलनात्मक रुपमा हेर्न सकिन्छ । यो एक साधारण अन्वेषणको आधार हो ।

पहिलो, गणतन्त्र आयो, तीन तहका सरकार स्थापित भए । सिंहदरबार गाउँसम्म पुग्यो । तर नेपालको नियती र दुर्भाग्य भन्नुपर्छ– सिंहदरबारमा हुने दलाली, भ्रष्टीकरण र पदीय दुरुपयोग पनि गाउँ छिर्यो । ब्रम्हलुट गर्ने, आचरणहिन र जनताप्रति गैरजिम्मेवार जनप्रतिनिधि जिताइयो ।

दोस्रोचाहिँ, राजनीतिकसँगै विकासमा हुने भ्रष्टाचारविरोधी, आचरणहिनताको विरोधमा उठ्ने युवा स्वरहरू पनि सानो–सानो लयमा स्थापित हुने क्रममा छन् । परम्परागत भ्रष्ट संस्कारको उजागर दुनियाँसामु गर्नुपर्छ र विकासको लहर राम्रो हुनुपर्छ भन्ने स्वर विदेशदेखि देश र स्थानीय तहमा पनि पुग्यो ।

यी दुईबीच कसलाई समाजमा प्रतिस्थापित गर्ने भन्ने मुख्यविन्दुमा उभिएको छ, हाम्रो पत्रकारिता । एउटा भ्रष्टहरूको तलाउमा पौडी खेल्ने कि अर्को त्यसका विरोधमा उठेका आवाजलाई अझ तेज बनाउने भन्ने विषयमा उत्रिएको छ ।

एउटा कार्यक्रम प्रस्तोता रवि लामिछानेले उठाएका समाजका, भुईँमान्छेका पीडा, विकासमा भएका लापरवाहीका कथाको प्रभाव पनि हो जनताले प्रश्न गर्न थालेका छन् । जनताले प्रश्न गर्ने प्राधिकार राख्छन् । सूचना पाउने अधिकार राख्छन् ।

जब पैसाले पत्रकारितलाई भ्रष्ट बनाउन थाल्छ, यसले पत्रकारिता थिचिन्छ । विश्वसनियता किचिन्छ । मिचिन्छ, सत्य र यथार्थपरक पत्रकारिताको भावना । यसैले त होला मानिसहरू ‘मिडिया र मिडियाकर्मी’माथि आक्रोशित हुने

भ्रष्टाचारका ठूला, साना प्रकरणको लेखाजोखा, तथ्यांक हेर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी, उसले तयार पारेका प्रतिवेदन, गरेका कारबाहीको थाक अध्ययन गरे पुग्छ । यी बाहेक पनि धेरै छन् ।

पत्रकारिताले सवै क्षेत्रलाई जनताका निम्ति पारदर्शी भएर सूचना प्रदान गर्नुपर्छ । यहि नै धर्म हो, यहि नै पत्रकारको कर्म हो । जसले समाजलाई पथभ्रष्ट हुनबाट जोगाउन सक्छ । पत्रकारिताको मिशन भनेको जनतालाई सही सूचना पठाउने, त्यसमाथि जनताले धारणा बनाउने र खोजीनीति गर्ने अवस्था वा वातावरण हुन्छ ।

नेपालको अहिलेको पत्रकारिता ‘भ्रष्ट र स्खलित’ छ । पत्रकारिताका बडेमान संस्थान नाफा–नोक्शानको मिशनमा छन्, मझौला जति पार्टी, पार्टीका नेताको खल्तीको विचारका पक्षधरतामा छन् । साना र व्यक्तिले खोलेका जीविकोपार्जनका अनेक उदण्डताका विषयबस्तुमा केन्द्रित छन् । यसले पूरा देशभित्र पत्रकारिताको छविलाई प्रष्ट बनाउँछ ।

मूलधार र ठूला भनिएका मिडिया हाउस सिस्टमसँगको बार्गेनिङमा अभिसप्त छन् । यीनले आफूलाई ‘बिग हाउस’ भन्छन् ‘बिग बार्गेनिङ’ गर्छन् । साहुकारिता हावी हुन्छ, यहाँ । नाफाको कामका लागि स्खलित भएको छ, पत्रकारिता ।

अर्कोचाहिँ, नेपालमा प्रजातान्त्रिक र वामपन्थी दुईथरी विचार राख्ने र प्रेरित हुने पत्रकारिता चलेकै छ ।

यस्ता विचार राख्ने पत्रकार भनेको नेता विशेषको इच्छाधारी कलम होइन, यो विचार राख्नेले समालोचना गर्न सक्नुपर्ने थियो । पद्दतीको विषयमा, प्रगतिशीलताका विषयमा पैरवी गर्नुपर्छ । संगठित हुने अधिकार छ तर पार्टी कमिटीमा बस्ने र नेताको गुटभित्र छिर्ने काममा अभ्यस्त हुँदा गलत गर्नेको ढाल बन्ने प्रचलन पनि बढ्यो, जुन दुखदायी छ ।

एउटा श्रमजीवि आम मानिसको अपेक्षा मिडियासँग केही हुँदैन, मात्र सत्य र तथ्यलाई सर्वव्यापी बनाए आफैंले जिताएको जनप्रतिनिधि सच्चिन सक्थ्यो कि भन्ने हुन्छ । जनताको काममा ढिलासुस्ती गर्ने वा कसैको प्रभावका आधारमा कामै नगरिदिने कर्मचारी प्रशासन सुध्रिन्थ्यो कि भन्ने पनि हुन्छ ।

तर बितेका साढे दुई बर्षलाई मात्र पनि अन्वेषण गर्ने हो भने गाउँ–गाउँमा पुगेको सिंहदरबार सेवाका लागि होइन, दोहनका लागि भन्ने प्रष्ट हुन्छ । साथमा त्यसैको प्रभाव र भ्रष्टाचारको प्रकोपको महामारीमा जेलिएको पत्रकारिता पनि प्रष्ट देखिन्छ ।

सामाजिक सञ्जाल खोल्नुहोस् । कयन मिडिया हाउसका समाचार आउँछन् । यसले तपाईको मगजमा प्रभाव पार्नेछ र तुरुन्तै धारणा बनाउनुहुन्छ । कोही ओलीका कामको बचाऊ गरिरहेका छन्, कोही प्रचण्डका कामको, कोही नेपाल त कोही खनाल । कोही देउवाको त कोही कोइरालाको । किनभने यीनैलाई हामी राज्यको मूलयन्त्रको विकल्पमा देखिरहेका छौं, बनाइरहेका छौं । त्यसैले नेपालको पत्रकारिताले आफूलाई उभ्याउनका निम्ति अर्को विकल्प जनता हुन् भन्ने सोच्नै सकिरहेको छैन ।

धेरैले भन्न सक्छन्, पत्रकारितालाई एउटै डालोबाट निकालेर जाँतोमा राखेर पिस्न मिल्दैन । यस्ता केही अपवाद हुन्छन् । एउटा अपवाद त टिप्पणीकार आफैं हो । यद्यपि, कहिँ न कहिँ कतै न कतैबाट प्रभावित भएको मिडियामा मेरो पनि उपस्थिति नभएका होइनन् तर सँधै बिद्रोह रह्यो ।

जब समाचारका विषयबस्तुको लेखन आरम्भ हुन्छ– म सम्झन्छु मलेशीयाबाट फोन गर्ने गाउँले भाई । आफू श्रममा समर्पित छ, चिन्ता गाउँको छ । भरोसा, पत्रकारमाथि । जब गाउँबाट फोन गरी भ्रष्टाचारविरुद्ध बोलिरहेको भाईले हरेस खाएको स्वरमा भन्छ– दाजु, मलाई दुश्मन बनाए । मैले त सत्यको खोजी गरेको हुँ । म थोरबहुत स्तब्ध र भावुक पनि बन्छु ।

भ्रष्टहरूको विकेन्द्रिकरणले नै समाजमा साम्प्रदायिकताको एउटा ठूलो फौज खडा गरेको छ, त्यसैको लहडमा छन् मिडिया पनि । यो कटु सत्य हो कि एउटा मिडिया लामो समयसम्म चल्नका लागि करोडौंको लगानी हुन्छ, त्यसबाट नाफा कमाउने उद्देश्य हुन्छ । ‘यो भ्रष्ट सिस्टमभित्र उसले पनि भ्रष्टाचारको भागवन्डाको लगानी’को भागीदार बन्ने प्रेरणा राख्छ । यस्तो प्रेरणामा हुर्किएको मिडियाले गर्ने पत्रकारिता जनउत्तरदायी हुन्छ भन्ने विश्वास कसरी गर्ने होला ?

भनिन्छ नि–जब पैसाले पत्रकारितलाई भ्रष्ट बनाउन थाल्छ, यसले पत्रकारिता थिचिन्छ । विश्वसनियता किचिन्छ । मिचिन्छ, सत्य र यथार्थपरक पत्रकारिताको भावना । यसैले त होला मानिसहरू ‘मिडिया र मिडियाकर्मी’माथि आक्रोशित हुने ।

मैले बुझेको सैद्धान्तिक मान्यता भनेको पत्रकारिता स्थायी प्रतिपक्ष हो । राष्ट्रीय अस्मिताको सवालबाहेकका मुद्दामा पत्रकारिताको भूमिकामा जनताको विश्वास यसकारण हुन्थ्यो कि सत्तासँग सदनको प्रतिपक्ष मिल्न सक्छ तर पत्रकारिता सदैव, सर्वथा सवाल गरिरहन्छ, उत्तर खोजीरहन्छ । अहिले त्यस्तो देखिँदैन आ–आफ्ना स्वार्थ र आवश्यकताको घेराबन्दीकै कारण पत्रकारिता भ्रष्ट र स्खलित लयमा छ । यो नसुध्रिएको खण्डमा भ्रष्ट बनिसकेको सिस्टमको विकेन्द्रिकरणको समाप्ती निश्चयभावी हुनेमा शंका हुनेछ । भ्रष्टाचारविरोधी अभियान लाचार हुनेछन्, गल्नेछन्, थाक्नेछन् । अनि त्यसै त्यसै विलाउनेछन् यहि कुसंस्कार भित्र ।

यी प्रश्नहरू हुन् । म आफैंलाई पनि प्रश्न हो । यहि प्रश्नहरूको दायराभित्र उत्तरको खोजी हुनुपर्छ भन्ने लाग्छ । नियती कस्तो हुने हो ?