बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रक्स नपाएपछि सेनिटाइजर पिउदा दशकाे मृत्यु

दैनिक नेपाल २०७७ साउन १७ गते ८:११

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमितहरू बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागू गरिएको थियो ।

सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बीबीसीले उल्लेख गरेको छ ।

झण्डै १० दिनसम्म सेनिटाइजर खाएपछि उनीहरुको मृत्यु भएको प्रहरी अधिकारी कौशलले बताए । सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ।

भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्दो क्रममा रहे पनि केन्द्र सरकारले लकडाउन खुलाएको छ । केही स्थानीय तहले लकडाउन कायम राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित