बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नेपालमा कोभिड–१९ का बिरामीलाई के औषधि दिइन्छ ?

दैनिक नेपाल २०७७ साउन १५ गते १६:०५

काठमाडौं, १५ साउन । कोरोना भाइरस संक्रमणबाट बिरामी परेकाकाहरुलाई उपचारमा प्रयोग गर्ने औषधि अहिलेसम्म संसारमै बनिसकेको छैन ।

तर, संसारभर कोभिड–१९ का विरामीका उपचार भने भइरहेको छ । केही मानिसको मृत्यु भए पनि उपचारपछि निको भएर फर्किनेको संख्या अधिक छ । आखिर के औषधि प्रयोग गरेर उपचार भइरहेको छ, कोभिड–१९ को ? त्यसमाथि पनि नेपालमा कसरी उपचार भइरहेको छ भन्ने आम चासो र जिज्ञासा छ ।

कोभिड–१९ भएका बिरामीलाई कस्तो औषधि दिने भनेर विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका बनाएको छ । नेपाल मेडिकल काउन्सिलले पनि गत एप्रिलमा कोरोना भाइरस सङ्क्रमण भएका व्यक्तिलाई स्वास्थ्य संस्थामा दिइने सेवाबारे एउटा अन्तरिम निर्देशिका जारी गरेको थियो ।

सोही निर्देशिकाअनुसार नेपालमा कोरोना भाइरसका संक्रमितहरुको उपचार भइरहेको नेपाली चिकित्कसहरुले बताएका छन् । निर्देशिकाअनुसार कोरोना भाइरस सङ्क्रमण भएका व्यक्ति कुन वर्गको बिरामी हो भनेर पहिला छुट्याइन्छ । त्यसका लागि विभिन्न ६ वटा आधार तय गरिएको चिकित्सकहरुको भनाइ छ ।

कोभिडका बिरामीहरूमा सामान्य ज्वरो, निमोनिया, गम्भीर निमोनिया, एआरडीएस, सेप्सिस वा सेप्टिक शक भएको हुन सक्छ ।
६० वर्षभन्दा माथिका, दमका बिरामी, मधुमेह वा मुटुरोग भएका व्यक्तिहरूलाई सङ्क्रमण भए उच्च जोखिममा पर्ने हुनाले विशेष निगरानी आवश्यक पर्ने बताइन्छ ।

बिहीबार बीबीसी नेपालीले प्रकाशित गरेको एक समाचार अनुसार नेपालमा कोभिड–१९ का विरामीहरुलाई मेडिकल काउन्सिलको निर्देशिका अनुसार स्वास्थ्य अवस्था हेरेर प्यारासिटामोलदेखि भिटामिनहरू र निमोनियाका वा श्वासप्रश्वासका बिरामीलाई त्यसैअनुसार औषधि दिने गरिएको चिकित्सकहरूले बताएका छन् ।

सङ्क्रमण देखिएर उपचार गरिरहेका बिरामीको स्वास्थ्यस्थिति, उमेर, अन्य रोग हेरेर त्यहीअनुसार औषधि दिने गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बताएको छ ।

अक्सिजन नै चाहिने अवस्थाको मानिसलाई डेक्सामेथासेन भन्ने स्टेरोइड र अथवा अवस्था हेरेर मिथाइलप्रेड्निसोलोनको पनि प्रयोग गर्ने गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन् ।

उनका अनुसार शरीरमा रगत जम्ने समस्या देखियो भने हेपारिन नामक औषधि पनि दिने गरिएको छ ।

एलोपेथिक औषधिका अलावा नेपालमा आयुर्वेदिक औषधिको पनि प्रयाग गरिँदै आएको छ । प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका प्रमुख डा. शङ्करप्रसाद रिजालले उपचार गरिरहेका कोरोना भाइरस सङ्क्रमित बिरामीहरूलाई आयुवेर्दिक औषधि खुवाउने गरिएको बताए ।

लक्षण नदेखिएका सङ्क्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, अश्वगन्धा, जेठीमधुजस्ता औषधि खुवाउने गरिएको छ । यस्तै लक्षण देखिएका सङ्क्रमित बिरामीलाई भने सितोपलादि, त्रिकटु, मृगमदासव, कनकासव, कस्तूरीभूषणजस्ता औषधि दिने गरिएको डा. रिजालको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित