बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्रधानमन्त्री ओली भन्छन्– बाघ संरक्षण गरे नेपालीको शान रहन्छ

दैनिक नेपाल २०७७ साउन १४ गते १२:४६

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षण गरे नेपालीको शान रहने बताएका छन् । बुधबार बाघ दिवसको अवसरमा प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा भनेका छन्,‘बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो ।’

उनी अगाडि भन्छन्,‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु । मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन ।’

सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाइने उल्लेख गरेका उनले १३ देशका सरकार प्रमुखहरूले बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरेको स्मरण गरेका छन् ।

तराईका पाँच वटा राष्ट्रिय निकुन्जलाई समेटेर बाघ संरक्षणका गतिविधि सन्चालन गरेको जानकारी दिँदै प्रधानमन्त्री भन्छन्,‘बाघको संख्या बढ्दै गर्दा बाघसँग द्वन्द्व बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले बाघ संरक्षणका लागि रातदिन खट्ने निकुन्ज र वनका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय समुदायको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित