शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रचण्डमा निर्णय गर्ने क्षमतामा ह्रास आएको खुलासा

दैनिक नेपाल २०७७ साउन १४ गते ८:१३

काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले पार्टीभित्रको विवाद मिलाउनका लागि आफूले दिएको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले प्रचण्डलाई आफूले दिएको सुझाव नमानेका कारण समस्या भएको बताए ।

उनले केही दिन अगाडि पूर्वमाओवादी निकटका १५–१६ जना स्थायी समितिका सदस्यहरूका बीच प्रचण्डलाई दिएको सुझाव कार्यान्वयन नभएको बताए । प्रचण्डमा निर्णय गर्ने क्षमतामा ह्रास आएको उनले बताए ।

‘प्रचण्डलाई १५–१६ जना पूर्वमाओवादी निकटका पूर्वस्थायी समितिका सदस्यहरूका बीच मैले दिएको सुझाव मान्छु भन्नुभएको थियो’, उनले भने, ‘प्रचण्डफेरि १८० डिग्रीमा फर्किनुभयो । प्रचण्डमा निर्णय गर्ने क्षमता कमजोर भयो । मैले दिएको सुझाव मानेको भए प्रचण्डको पनि हाइट हुने थियो । पार्टीभित्रको विवाद पनि मिल्ने थियो ।

प्रधानमन्त्रीज्यूले पनि मान्नु हुने थियो ।’ नेता गजुरेलले पार्टी मिलाउन आफूले दिएको प्रस्ताव के थियो भन्नेबारे केही भनेनन् ।

गजुरेलले मुलुकमा परिवर्तन भएपछि पनि नेताहरू नयाँ ढंगले अगाडि बढ्न नचाहेको भन्दै चिन्ता जनाए । उनले भने, ‘हामीले पार्टी नै नयाँ बनाएपछि नयाँ ढंगले जान चाहेनौँ ।’

प्रतिक्रिया
सम्बन्धित