शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सावधान नेपाल ! समुदाय पस्यो कोरोना

लापरवाहीको परिणाम भयानक हुनसक्छ

दैनिक नेपाल २०७७ साउन १३ गते ८:४२

काठमाडौं, १३ साउन । लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालका विविध ठाउँमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिममा हुनसक्ने प्रक्षेपण गरिएको छ ।

बिराटनगर, पर्सा, सप्तरी, बारालगायत तराईका जिल्लामा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त अवस्था रहेको चिकित्सकहरू बताउँछन् ।

सरकारको तयारीले मात्र नहुने भन्दै जानकारहरूले आम नागरिक आफैं सुरक्षित हुन आवश्यक रहेको जनाएका छन् । कोरोनाले सोमबार एकै दिन मात्र तीन जनाको मृत्यु भएको नयाँ रेकर्ड देखाएको छ । यो, दुखदायी र जोखिमयुक्त विवरण रहेको बताइन्छ ।

बारा र पर्सामा चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न प्रदेशका जिल्लामा यसरी संक्रमितको संख्या ह्वात्त बढिरहँदा उपचार र परिक्षणको अवस्था भने कमजोर रहेको छ ।

सरकारले उचित तहमा परिक्षण गरेको दाबी गरे पनि नेपालको स्वास्थ्योपचारको अवस्था र क्षमता त्यो तहमा नरहेको अनुमान गरिन्छ ।

काठमाडौं उपत्यका झनै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । खासगरी काठमाडौंको असन इन्द्रचोकमा पसलेमा नै कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा सन्त्रास फैलिएको छ । उपत्यकाका ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताइन्छ ।

स्वास्थ्य विज्ञहरूले लापरवाही गरे नेपालको अवस्था पनि भयानक दुखदायी हुन सक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित