बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रधानमन्त्री ओलीको ठम्याई : प्रचण्ड हैन, नेता नेपालको स्वार्थ नेकपा विवादको जड

दैनिक नेपाल २०७७ साउन १२ गते ११:१६

काठमाडौं, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समस्याको मूल जड नेता माधवकुमार नेपालको स्वार्थ भएको ठम्याएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकल नेतृत्वको सहमति गर्दै आफू प्रधानमन्त्री बन्ने नेपालको स्वार्थका कारण एकीकरणका बेला तत्कालिन एमाले र माओवादी केन्द्रबीच भएको सम्झौताको मर्मको हरण भएको ओलीको बुझाई छ ।

बालुवाटारमा कतिपय आफूनिकटवर्ती युवा नेता कार्यकर्तासँगको भेटका क्रममा ओलीले यहि आशयको संकेत गरेका हुन् । मंगलबारका लागि स्थायी समितिको बैठक डाकिएको छ तर नेकपा नेतृत्वमा देखिएको दूरी खुम्च्याउने कुनै गति मिलेको छैन । बरु, अझ समस्याको विन्दुहरू फेला पर्न थालेपछि दुवै पक्ष सशंकित छन् ।

‘केन्द्रीय समिति, सचिवालयका पनि कतिपय बैठकको आधार एक व्यक्ति एक पद मात्र भन्ने छैन, महाधिवेशनसम्म सामूहिक नेतृत्व नै भनिएको छ । बरु, अधिक लचक भएर चैतमा भनिएको महाधिवेशन मंसिरमा हुन सक्छ त्यसो गरौं भन्ने प्रस्ताव अगाडि सारिएको थियो’, बालुवाटार उच्च स्रोतले भन्यो,‘त्योचाहिँ हुँदै हुन्न भन्ने तर्क लोभीपापी विषय हो, एकीकरणका क्रममा भएको सम्झौताको मर्ममाथिको प्रहार हो ।’

प्रधानमन्त्री ओलीले एकीकरण प्रक्रियामा प्रचण्ड कुनै पनि समस्या नभएको बुझेका छन् । सम्झौता र बचनअनुसार चलेको खण्डमा प्रचण्ड सही ठाउँमा हुनेछन् तर नेपाल, झलनाथ खनाललगायतको स्वार्थका कारणले विवाद सुरु भएको बुझिएको छ ।

पूर्वमाओवादीकै कतिपय नेताले तत्काल प्रधानमन्त्री र अध्यक्षको पदबाट ओलीको राजीनामा क्षम्य नहुने बताइरहेका बेला नेता नेपाल र उनका सहयोगीले भने बारम्बार राजीनामाको माग गर्नु ‘ठोस समस्या’ रहेको बुझिएको छ ।

‘एकताका बेला भएको सहमतिअनुसारै अगाडि बढ्ने प्रधानमन्त्रीको चासो र चिन्ता हो । त्यसबेला एक व्यक्ति एक पद भन्ने कुनै पनि सहमति भएको छैन । महाधिवेशनसम्म संयुक्त नेतृत्व भन्ने नै छ’, उच्च स्रोतले भन्यो ।

गृहमन्त्री रामबहादर थापा, उद्योगमन्त्री लेखराज भट्ट, नेताहरू टोपबहादुर रायमाझी, जनार्दन शर्मालगायतले प्रधानमन्त्री ओलीको अडान ठिक रहेको बताइरहेका बेला भिम रावललगायतले बारम्बार राजीनामा माग्नुको अर्थ अस्थिरतालाई निम्तो दिन लागेको बताइएको छ ।

‘हुँदा हुँदा प्रचण्ड अब बहकावमा आएर हुँदै नभएका र गर्दै नगरेका विषयमा दाबी गर्न थाले । यसले नेकपामा समस्या झन् बढाउँछ’, उच्च स्रोतले भन्यो,‘सरकारका कमीकमजोरीलाई सुधार्ने र सकार्ने विषय अलग हो, राजीनामाको विषय त स्थायी समितिको एजेन्डा पनि होइन ।’

स्थगित भएको स्थायी समितिको कारण असान्दर्भिक प्रसङ्ग दुवै पदबाट ओलीको राजीनामा भन्ने आएका कारण खुट्याइएको छ । चरणबद्ध रुपमा समस्या समाधानका साझा विन्दु पहिल्याउन दुवै अध्यक्षबीचको वार्ता चलेको थियो । तर विवादको जड अब सैद्धान्तिक कार्यदिशा कस्तो हुने भन्ने निकालिएको छ । जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने विषयमा विवाद सुरु भएको छ । ‘यसरी नेकपा कहिँ पुग्दैन, दुर्घटना हुनसक्छ’, उच्च स्रोतले भन्यो ।

प्रतिक्रिया
सम्बन्धित