शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विवादमा बालबालिका मन्त्रालय, आईएनजिओ कर्मचारी समाज कल्याण सदस्य सचिव बनाउने तयारी 

दैनिक नेपाल २०७७ साउन १२ गते ८:४८

काठमाडौं, १२ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषदको सदस्य सचिव नियुक्तिको तयारी गरेको छ । मन्त्रालयको तयारी अहिले नै विवादको घेरामा परेको छ ।

समाज कल्याण परिषद्मा २ वर्षदेखि खाली रहेको सदस्य सचिव पदमा अन्र्तराष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ)का कर्मचारीलाई नियुक्त गर्न लागिएको हो ।

तत्कालिन सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई मन्त्रालयमा तानिएपछि उक्त पद रिक्त छ । १८ साउन, २०७५ साउनमा मन्त्रीपरिषदको निर्णयअनुसार भट्टलाई मन्त्रालय तानिएको थियो ।

त्यसपछि रिक्त पदमा वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका निर्देशक (पब्लिक इन्गेजमेन्ट) मा कार्यरत पुष्कर खातीलाई ल्याउने तयारी गरिएको हो । वल्र्ड भिजन आफैं पनि विवादीत अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । क्रिश्चियन धर्म प्रचारमा उसको मोटो लगानी हुने गरेको छ ।

जुन २०११ बाट जागिर सुरु गरेका खातीलाई सदस्य सचिव जस्तो जिम्मेवार पदमा नियुक्त गर्नु ठिक नहुने मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।  खाती अक्टोबर २०१८ देखि हालसम्म निर्देशक (पब्लिक इन्गेजमेन्ट) पदमा कार्यरत छन् ।

त्यसअघि उनी अक्टोबर २०१६ देखि सेप्टेम्बर २०१८ सम्म सोही संस्थामा एसोसिएट डाइरेक्टर पदमा थिए । सन् २०११ जुनबाट क्याम्पियन स्पेशलिस्ट पदबाट वल्र्ड भिजनमा जागिर सुरु गरेका खाती डीएनएफ, प्लान नेपाललगायतका गैरसरकारी संस्थामा काम गरेका थिए ।

क्रिश्चिय धर्मको प्रचार प्रसार गर्दै आएको यस गैरसरकारी संस्थाले कर्मचारी छनौटमा समेत क्रिश्चियनहरुलाई मात्र राख्ने गरेको जनाइन्छ । समाज कल्याण परिषदका कुनै पनि नियमलाई यस संस्थाले मानेको थिएन ।

‘अस्तिसम्म गैर सरकारी संस्थाको फाईल बोकेर आउने व्यक्ति नै सदस्यसचिव भएर आए भने कसरी काम गर्न सकिएला र खै ?’, उच्च स्रोतले भन्यो ।

तत्कालिन सदस्य सचिव भट्टलाई चार वर्षका लागि सदस्य सचिवमा मनोनित गरिए पनि तत्कालिन मन्त्री थममाया थापाको ठाडो आदेशमा २ वर्षमै समाज कल्याण परिषद्मा भएको अनियमितताबारे छानबिनका लागि भन्दै पदमुक्त गरिएको थियो ।

त्यसअघि २०७३ मा तत्कालिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीपी मैनालीले समाजकल्याण परिषद्को उपाध्यक्षमा नीलमणि बराल, कोषाध्यक्षमा वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रकुमार झा, सदस्यमा गोकर्णप्रसाद भट्ट र सदस्यसचिवमा डिल्लीप्रसाद भट्टलाई नियुक्त गरेका थिए । ती सबैलाई मन्त्री थापाको ठाडो आदेशमा एकै दिन पदमुक्त गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित