शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आरजु राणालाई नेविसंघ नेताको खुलापत्र  ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’  

टेकराज भट्ट २०७७ साउन ११ गते १४:२७

आदरणीय नेतृ डा. आरजु राणा देउवाज्यू, जय नेपाल !

तपाईं लामो समयदेखि पार्टीको राजनीतिमा सक्रिय रहँदै आउनुभएको कुरा सबैलाई अवगत नै छ र यहाँले पार्टीलाई पुर्याएको योगदान अतुलनीय छ, त्यसका लागि काङ्ग्रेसको कार्यकर्ताको हैसियतले यहाँलाई धन्यवाद भन्नै पर्छ । यहाँले विभिन्न समयमा देशका विभिन्न ठाउँहरुमा सामाजिक कार्यहरु गर्दै आउनुभएको कुराले तपाईं एक असल समाजसेवी हो भन्ने कुरामा कुनै शंका छैन ।

यहाँले आफ्नो व्यक्तिगत तर्फबाट कयौं समस्यामा परेका नेपालीहरुलाई आर्थिक सहयोग पनि गर्नुभएको कुरालाई तपाईं एक मनकारी व्यक्ति हो भन्ने कुराको प्रमाणका रुपमा लिन सकिन्छ । यहाँले ‘रुडुक’ (Rural Women’s Development and Unity center) नामक संस्था सञ्चालन गरेर ग्रामीण भेगका महिलाहरुको उत्थानमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएको कुराको म सराहना गर्दछु ।

तपाईं जत्तिको महिला सशक्तीकरणका लागि कदम चाल्ने, सामाजिक परिवर्तनको आवाज उठाउने र विकासप्रेमी नेतृ नेपाली काङ्ग्रेसले पाउनु समग्र नेपाली काङ्ग्रेसका लागि गर्वको कुरा हो । कैलाली क्षेत्र नंं ५ मा पनि विगत केही वर्षयता यहाँको यस्तै यस्तै सामाजिक कार्यमा रहदै आएको संगलग्नताबाट पक्कै पनि त्यस क्षेत्रका मान्छेहरु यहाँको कामबाट खुशी पनि छन् । म तपाईंको निर्वाचन क्षेत्रको नभए पनि एउटा कैलालीवासीका रुपले तपाईंजत्तिको विकासप्रेमी नेतृ कैलालीले पाएकोमा खुशी महसुस गर्दछु ।

हिजो मात्रै गत निर्वाचनमा तपाईं उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रबाट २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा विजयी पुष्करनाथ ओझाज्यूलाई नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले चुनावमा अन्तरघात गरेर हराएको आरोपमा ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको कुरा यहाँलाई अवगत नै होला ।

अवगत नहुने त कुरै भएन, यहाँकै सिफारिसमा कार्वाही गरिएको पनि हो भन्ने सुन्नमा आइराखेकै छ । तपाईं अब आउने निर्वाचनमा पनि कैलाली क्षेत्र नं. ५ बाट नेपाली काङ्ग्रेसको उम्मेदवार हुने कुरामा शंका छैन, त्यसका लागि तपाईंको तयारी पनि व्यापक छ त्यो हामी सबैले देख्न पाइराखेकै छौं ।

तपाईंजस्तो लोकतन्त्रमा आस्था राख्ने पार्टीको नेतृ, पार्टी र जनताका लागि ठूलो संघर्ष गरेर आज सभापति बन्न सफल हाम्रा श्रद्देय नेता शेरबहादुर देउबाकी धर्मपत्नी र परिवर्तन आवश्यक ठान्ने युवा नेतृले जिल्लामा संगठन गरेर बसेको नेतालाई कार्वाही हुँदा उसको पक्षमा बोल्नु त कता हो कता उल्टो तपाईकै दबाबमा कार्वाही गरियो भन्ने खबर सुनिनु निकै दुःखद कुरा हो ।

तपाईलाई आगामी चुनाव जस्तोसुकै जालझेल र प्रपञ्च गरेर भए पनि जित्नु नै पर्छ भन्ने परेको होला, हामी पनि काङ्ग्रेस उम्मेदवार जितेको हेर्न चाहन्छौं । तर, तमाम काङ्ग्रेसप्रति आस्थावान् कार्यकर्ता र काङ्ग्रेसका लागि वर्षौ योगदान गर्दै आएका नेताहरुलाई गिज्याएर पार्टी नेतृत्वले बारम्बार गर्दै आएको हमलाको त्यत्तिकै विरोध पनि गर्दछौं ।

‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेर तपाईंलाई गिज्याइनु स्वभाविक हो, किनकी तपाईं अरुले पकाएर राखिदिएको चोक्टा खान आउनुभएकै हो, यो कुरा तपाईंले स्विकार्नै पर्छ । र, मैले यो स्विकार्नुपर्छ कि अहिले आएर चाहिँ तपाईं आफैं चोक्टा परपरी भुट्दै हुनुहुन्छ, यस्तै मेहनत गरिरहनुभयो भने अवश्य पनि जनताले तपाईंलाई एकदिन चोक्टा चोक्टा पस्केर दिनेछन् र त्यो एकदमै खुशीको दिन हुनेछ मजस्ता कयौं काङ्ग्रेसका कार्यकर्ताहरुका लागि ।

तपाईंप्रति कुनै बैरभाव छैन । तपाईं देश विदेश घुम्नुभएको छ, विभिन्न ठाउँको समाजको ज्ञान तपाईलाई छ, तपाईंले कैलाली र समग्र सुदुरपश्चिमको विकास र हितलाई सदैब ध्यानमा राख्नुहुने छ भन्ने कुरामा दुइमत छैन । त्यसका लागि तपाईं आगामी चुनावमा निर्वाचित हुनुपर्छ र सुदुरपश्चिम बासीले एक विकासप्रेमी नेतृ पाउनेछन् भन्ने कुरामा आशावादी छु ।

तर, काङ्ग्रेस नेताहरुलाई कारबाही गराएर खुलेआम विरोधी खडा गर्नुले आगामी चुनावमा तपाईं निर्वाचित हुनुहोला भन्ने कुरामा शंका उत्पन्न गरायो, र शंका यस कुरामा पनि उत्पन्न भैसक्यो कि तपाई निर्वाचित नहुँदै गर्दा के कैलालीले तपाईले सोचेजस्तो र हामीले चाहेजस्तो विकास पाउला ? फेरि पनि तपाईं पराजित हुनुभयो भने क–कसले पार्टी छोडेर जानुपर्ने हो ? केही वर्षपछि काङ्ग्रेसका लागि भोट माग्न हिड्ने मान्छे पाइएलान् कि नपाइएलान् ? यस्ता यावत् कुरामा शंका पैदा भएको छ र उत्तिकै चिन्ता पनि ।

र, अन्तिममा तपाईंलाई एक शुभचिन्तकका नाताले यति लेख्नैपर्ने आवश्यक ठानी लेखेको हुँ, कतै केही गलत लेखेको भए क्षमाप्रार्थी छु । सामाजिक कार्यहरुमा यहाँलाई थप उर्जा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

गोदावरी नगरपालिका–३, कैलाली

उपाध्यक्ष, नेविसंघ कैलाली–काठमाडौं सम्पर्क समिति ।

प्रतिक्रिया
सम्बन्धित