शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सजाय घटाउने फैसलाविरुद्ध पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ

दैनिक नेपाल २०७७ साउन ११ गते ९:२६

काठमाडौं, ११ साउन । पत्नीका हत्यारा सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष ६ महिना कैद सजाय मात्रै तोकेको थियो ।

सो अवधिको सजाय काटी कोइराला गएको बिहीबार डिल्लबजार कारागारबाट मुक्त भएका थिए ।

सजाय कम गर्ने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गरेको थियो । त्यसको पेसी आइतबारका लागि तोकिएको हो ।

सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ ।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचाराधीन बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाई हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित