शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लेखराजको राजनीतिक लय

नेकपा गुट समिकरणका ‘अप्ठ्यारो’ पात्र

दैनिक नेपाल २०७७ साउन १० गते १२:१२

काठमाडौं, १० साउन । उद्योग आपूर्ति तथा वाणिज्य मन्त्री लेखराज भट्ट नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद र समिकरणका अप्ठ्यारो पात्र देखिएका छन् ।

कुनै गुटमा नरहेको दाबी गरेका उनलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकट रहेको भनी व्याख्या गरिन थालिएको छ । यस्तो व्याख्याका लागि प्रमूखतः दुईवटा कारणलाई सतहमा देखाइएको छ ।

पहिलो, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा बोलाएको पूर्वमाओवादीबाट स्थायी समितिमा प्रतिनिधित्व गर्नेहरूको भेलामा सहभागी नहुनु, अर्को प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अनुपस्थित नहुनु ।

यसमा उनका आफ्नै दुई तर्क छन्– प्रचण्डले पार्टी एकीकरण गर्नुपर्छ भनेका कारण सहयोग गरेको तर एकीकृत भएपछि विभाजनसम्म जान सक्छ भन्ने तर्कसँग असहमत रहने अधिकार रहेको । अर्कोचाहिँ सरकारको मन्त्री भएको हिसाबले प्रधानमन्त्री ओलीले डाकेको बैठकमा अनिवार्य उपस्थित हुनुपर्छ, अध्यक्षका हिसाबले बोलाएको बैठकमा उपस्थित हुन सकिन्न ।

तर हालैका कतिपय गुटका ध्रुवीकरणको प्रभावका कारण भट्ट अलग कित्तामा गाभिएको बताइन्छ । प्रधानमन्त्री ओलीका खरो आलोचक र सत्तारुढ हुँदा पनि प्रतिपक्ष जस्तो कुरा गर्ने स्थायी समिति सदस्य भिम रावललाई प्रचण्डले चेपेपछि भट्ट ओली पिल्लरमा उभिएका हुन् ।

‘सुदूरपश्चिम प्रदेशमा राजनीतिक विरासतको महत्व ठूलो हुन्छ । उक्त क्षेत्रमा तत्कालिन माओवादीलाई उभ्याउने भट्टलाई कर्नरमा राखेर रावललाई नेता भनेर प्रचण्डले भाषण गरेपछि अस्वभाविक कित्ता परिवर्तन नयाँ होइन’, नेकपाका उच्च तहका एक नेता भन्छन्,‘नेकपाभित्र संघर्ष गर्नुपरेपछि रहेको अर्को पिल्लर ओली हुन् । भट्टका लागि केन्द्रमा ओली र ओलीका लागि सुदूरपश्चिममा भट्ट अनिवार्य आवश्यक हुनु अस्वभाविक होइन ।’

प्रचण्डले नै सत्तामा पुराएको भन्ने विषयलाई भट्टले एउटा अन्तरवार्ताका दौरान खारेज समेत गरेका छन् । बरु, उनको प्रतिप्रश्न छ– हामीले प्रचण्डलाई बनाएको होइन ? हामी संघर्षको मैदानमा नउत्रिएको भए प्रचण्ड भन्ने नाम हुने थियो र ?

नेकपाभित्रको विवादले सतहमा पनि बलियो चर्चा पाउँदा गुट समिकरणमा पूर्वएमाले र पूर्वमाओवादीका अन्य तहका नेताको घुलन फरक देखिएको छ । यसैका एक पात्र बनिदिए भट्ट ।

खासगरी ओलीइतरमा प्रचण्ड नेतृत्तवको समिकरण माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसम्मको रहेको छ । जसले ओलीलाई पार्टीमा कमजोर बनेको भन्ने आँकलन गरिन्छ । तर ओलीका साथमा भट्टलगायत जनार्दशन शर्मा, नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी पनि रहेको प्रष्ट देखिन्छ ।

यी मध्ये पनि भट्ट गुटीय राजनीतिका अप्ठ्यारो पात्र रहेको बताइन्छ । ‘नेकपाको हुर्मत लिन हुन्न, नेता मिल्नुपर्छ र पार्टी बलियो हुनुपर्छ भन्ने मान्यता मन्त्री भट्टको हो । तत्कालिक अवस्थामा कसैले कसैलाई पेल्नुपर्छ भन्ने मान्यतामा उहाँ उभिनुहुन्न’, भट्टनिकट स्रोतले भन्यो ।

त्यसो त प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा गराउने विषयमा भट्ट आफैं तयार छैनन् । उनले खुलेरै भनेका छन्,‘महाधिवेशनसम्म यस्तो कुरा गर्नु पार्टी एकीकरणको सहमतिविपरित हुन जान्छ ।’

यति मात्र होइन, स्थायी समितिको बहुमतको विषय आए पनि आफूहरू पनि सोही निकायमा भएका कारणले एकीकरणको प्रष्ट विचारमा मन्थन हुनुपर्ने भट्टको स्पष्टोक्ति छ ।

प्रतिक्रिया
सम्बन्धित