शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एसीड आक्रमणपछि पनि पीडित कार्कीको सम्पर्कमा थिए मुख्य योजनाकार आलम !

५ मिनेटभित्र परिणाम दिइएको घटनाका दोषी यसरी पक्राउ गरिएको थियोे

दैनिक नेपाल २०७७ साउन १० गते ८:५१

काठमाडौं, १० साउन । सीतापाइलामा २२ बर्षिया पवित्रा कार्कीमाथि एसीड आक्रमणका मुख्य योजनाकार मोहम्मद आलम घटनापछि पनि पीडितसँग सम्पर्कमा रहेको तथ्य फेला परेको छ ।

योजनाबद्ध हिसाबले घटनालाई परिणाम दिएका आलमले घटनापछि अवस्था बुझ्नका लागि नाटकीय हिसाबले पीडित कार्कीको मोबाइलामा फोन गरेका थिए, जसमा दिदीसँग कुरा भयो । कार्की एसीड आक्रमणका कारण आशक्त भएका कारण दिदीसँग फोनमा झन्डै आलमको एक मिनेट कुराकानी भएको विवरण फेला परेको छ ।

पीडितको अवस्था पुगेपछि आक्रमणलाई परिणाम दिने भारतीय नागरिक महोम्मत मुन्नासँग पनि आलमको छोटो समयमा कुराकानी भएको देखिन्छ । स्रोतले भन्यो,‘योजनाले परिणाम पाएको थाहा पाउनसाथ आक्रमणकारीलाई मोटरसाइकलसम्म आउनका लागि भनिएको हुनसक्छ ।’

आक्रमणपछि दुवै जना मोटरसाइकलमा एकै साथ हिँडेको अनुसन्धानका क्रममा खुलीसकेको छ ।

जम्माजम्मी आधा घन्टाको समयसीमामा ५ मिनेटभित्र आक्रमणलाई परिणाम दिइएको छ । साढे ७ बजेदेखि ८ बजेभित्र परिणाम दिइएको उक्त घटनामा योजनाकार, आक्रमणकारी र पीडितको फोन सम्पर्कलाई आधार बनाएर प्रहरीको अनुसन्धानले निचोड पाएको थियो । साथमा सीसीटिभी फुटेजमा देखिएको दृश्य र आक्रमणकारीको हातमा एसीडले पोलेको घाउ पनि फेला परेपछि प्रहरीले तीन घन्टामा नै यो प्रकरणलाई टुंगोमा पुराएको थियो ।

प्रहरीका एक अधिकारी भन्छन्,‘यस्तो घटनामा प्रायः कुनै न कुनै प्रकारको सम्बन्ध पीडित र आक्रमणकारीमा हुन्छ । त्यसको चुरो पहिल्याएपछि अनुसन्धान गर्न सहज हुन्छ ।’

यता मम खुवाएर मिठा कुरा, उता कामदार लाएर तितो भविष्य !

कार्कीसँग निरन्तर सम्पर्कमा रहेका मुख्य योजनाकार आलमले यता खाजा खुवाउने र अलमलमा पार्ने, अर्कातिर एसीड आक्रमणको परिणाम दिने पक्का तयारी गरेका थिए ।

७.३० बजे मम कार्कीलाई आलमले मम खुवाउनका लागि खाजा घरमा छिराएका थिए । लामो समयसम्म पनि निरन्तर सम्पर्क गर्ने भएकाले कार्की विहीबार साँझ खाजा खानका लागि आलमलाई भेट्न पुगिन् । दुवैले मम खाए ।

७.५५ मा खाजा घरबाट निस्किएका उनीहरू मध्ये कार्की आफ्नो बाटो लागिन् । त्यसको केही मिनेटमा नै आक्रमणकारीसँग आलमको फोन हुन्छ र ८ बज्न केही मिनेट बाँकी हुँदा कार्कीमाथि बियरको बोतलमा रहेको एसीड मुन्नाले अनुहारमा छ्याप्छन् । मुन्नाको बयान छ,‘रक्सीको बोतलमा दियो, एसीड भएको पछि थाहा पाएँ ।’

पीडितको अनुहारका एकपटीको छेउ र छातीमा केही छिटा एसीड लागेको छ ।

आलमको जुत्ता कारखानामा काम गर्दादेखि नै कार्कीसँगको परिचय रहेको खुलीसकेको छ । सो परिचयले घनिष्टता कायम हुँदै जाँदा लामो समय बितिसकेको अनुसन्धानका क्रममा खुलेको छ । पीडितले पनि चिनजानको विषयलाई स्वीकार गरेकी छन् भने योजनाकार आलमले प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् ।

अनुसन्धानमा नेपथ्यका हिरोहरू

एसीड आक्रमणको खबर आउनासाथ महानगरीय प्रहरी परिसरले माथाहतका सबै वृत्तलाई अनुसन्धानका लागि कडा निर्देशन जारी गरेको थियो । खासगरी प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले अनुसन्धानमा तिव्रता दिन सबैलाई निर्देशन दिए ।

उता, महानगरीय अपराध महाशाखाबाट एसएसपी दिपक थापाको निर्देशन जारी भयो र सुरु भयो अनुसन्धान । अपराध महाशाखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) दुर्गा दाहालसहितका अधिकारी सक्रिय भए । यता महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी नारायण भट्ट, महाराजगञ्जका डिएसपी रोशन खड्का, किर्तिपुरका डिएसपी रुकेश तण्डुकार सक्रिय भए ।

अपराध अनुसन्धानमा दख्खल राख्ने महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरले घटनालाई अझ मिहिनताका साथ अध्ययन सुरु गरे ।

कालीमाटी वृत्तमा नै डिएसपीहरूले घटनाको अनुसन्धानको मोडल बनाएको स्रोतले जनायो । जसमा घटनापूर्व र घटनापश्चातका फोन कल डिटेल्सको विश्लेषण, सीसीटिभी फूटेज र अभियुक्तको पहिचानका विविध विषयमा निक्र्यौल गरी खोजीनीति भएको थियो । डिएसपी कुँवर पीडित कार्कीलाई उपचारका लागि लगिएको अस्पताल समेत पुगेर बाँकी विवरण लिएर फर्किएका थिए ।

‘अभियुक्तको पहिचान भएपछि पक्राउ गर्नुपूर्व काठमाडौंका सबै नाकामा सीसीटिभीमा देखिएको फुटेजका व्यक्तिको तस्बिर पठाइयो र उपत्यकाभित्र खोजी सुरु भयो’, स्रोतले भन्यो,‘अन्ततः अभियुक्त पक्राउका लागि लामो समय लागेन ।’ घटनाको परिणामसम्मका लागि रातभरी महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवाली पनि सक्रिय रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित