शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पूर्वडिआईजी रञ्जनलाई ताराको प्रेम, साराको घृणा

विनोद ढकाल २०७७ साउन ९ गते ९:५६

भनिन्छ, सबैतिर भएको न्यायलाई कहिँ कतै भएको अन्यायले धम्काइरहेको हुन्छ । एउटा अन्याय नै अनेक न्यायका निम्ति जोखिम हुन्छ । यस्तै चित्र सर्वोच्च अदालतले देखायो र अहिले आलोचित भएको छ ।

सर्वोच्चको गरिमालाई प्रधानन्यायाधीशकै इजलासका कारण प्रश्न उठ्नु अस्वभाविक प्रतिक्रिया हुन्छ । हुन त कानुनका अनेक धारा र नजीर हुन सक्लान् तर जे जस्ता विवादीत फैसला आउन थाले यसले स्पष्टसँग भन्छ– अदालत चोखो छैन ।

८ साउनमा सशस्त्रका पद गुमेका डिआईजी रञ्जन कोइरालाका विषयमा सर्वोच्चले गरेको फैसलाको स्पष्ट प्रभाव देखियो । संसारले देख्नेगरी मिडियाले कोइराला डिल्लीबजार कारागारबाट निस्किएको भिडिओ नै देखाए । मानौ कोइराला कुनै युद्ध जितेर फर्किँदैछन् जस्तै हात हल्लाएर निस्किरहेका थिए ।

यो स्वभाविक अनुमानसहित भन्ने गरिएको छ– सर्वोच्च अदालतले पत्नी गीता कोइरालाका हत्या गरेका पूर्वडिआईजी कोइरालालाई उन्मुक्ति दिने फैसला ‘अदालतमाथिको अविश्वास’को लय हो ।

सर्वोच्च अदालतको गरिमा गिराउने अर्को फैसलाका विषयमा सतहमा व्यापक चर्चा छ । पहिलो त पृथ्वी मल्ललाई धरौटीमा छाड्ने आदेशले बदनाम भएको अदालतले कानुनको यस्तो खिल्ली उडायो कि कोइरालाको सजाय माफीका नजीर जे जस्ता उल्लेख छन् त्यसले पुष्टि गर्छ ।

पत्नी हत्या गर्न उक्साएको आरोप लागेकी प्रेमिका तारा रेग्मी नै उनलाई लिन जानु र आफ्ना छोराहरूले अनुहार पनि हेर्न नचाहनु रञ्जनका लागि सबैभन्दा ठूलो दण्ड हो । यति मात्र होइन, उनको सजाय माफीको फैसला गर्ने न्यायाधीश र अदालतमाथि सार्वजनिक रुपमा जुन प्रकारका टिप्पणीका क्रममा जुन भावना रञ्जनमाथि पोखिएको छ त्यो पनि खुल्ला समाजमा दण्डको एउटा नजीर नै मान्नुपर्छ ।

विनोद ढकाल

रेग्मीले मिडियामा प्रतिक्रिया पनि दिएका चर्चा सतहमा आए । उनले भनेकी छन्– रञ्जन र मेरो बिहे भइसक्यो ।

कोइरालाले कानुनबाट उन्मुक्ति पाए । समाज र आफैंबाट उन्मुक्ति पाएका छैनन् । आफन्त र आफ्ना भविष्यका परिदृश्यबाट छुटकारा पाएका छैनन्

अदालतको च्याप्टरमा फेरि पनि बहस र कुराकानी हुनेछन् । मानिसका आवेग र आवेशका प्रतिक्रियाले त न्यायाधीशलाई महाअभियोग नै लगाउनुपर्छ भन्ने छ । तर, यो राजनीतिक प्रणाली र भ्रष्ट संरचनामा सर्वसाधारणका आवाज गौण हुनेछन् ।

यद्यपि सरकारका तर्फबाट भनौ, फैसला पुनरावलोकनका निम्ति निवेदन दर्ता भएको छ । तर, आफैं बोक्सी, आफैं झाँक्री भएको सर्वोच्चमा उक्त पुनरावलोकन आवेदनबारे खासै आशा गर्ने ठाउँ छैन ।

अब, कोइरालाको आगामी जीवनका विषयमा चर्चा गरौं ।

कोइरालाको ठाँटको उन्मुक्तिमाथि अनेक टिप्पणी छन् । एक जना पत्रकार मित्रले भने– जहाँ पैसाको बोलबाला छ, उसले जेलबाट निस्कँदा युद्ध जितेकै शैलीमा निस्कन्छ । न्याय नभएको देशमा कोइराला मात्र अवयव होइनन् । उनी एउटा हिन्दी गीतको भावलाई जोड्छन्– सबसे बडा रुपैंया !

कोइरालाले कानुनबाट उन्मुक्ति पाए । समाज र आफैंबाट उन्मुक्ति पाएका छैनन् । आफन्त र आफ्ना भविष्यका परिदृश्यबाट छुटकारा पाएका छैनन् ।

कोइरालाले ताराको प्रेम पाएका छन् । तर, साराको धृणा पाइरहेका छन् । यहाँसम्मकी आफ्ना छोराले समेत उनलाई घृणा गर्छन् । त्यो आततायी हत्या प्रकरणलाई मझेरीमा राखेर उन्मुक्तिको फैसलाको तुलना गर्ने हो भने, त्यसबेला तोकिएको सजाय नै कम थियो भन्ने धेरै छन् । तैपनि यो, नेपाल हो । नेपालको कानुन हो । सर्वोच्च अदालत हो, धेरै बोल्नु हुँदैन मानाहानी लाग्न सक्छ !

उनीमाथि अनुसन्धान गरी कारबाहीको सिफारिस गर्ने तत्कालिन एसएसपी राजेन्द्र श्रेष्ठको अनुभवलाई सुन्ने हो भने पनि यो घटना कति आततायी थियो भन्ने प्रष्ट हुन्छ ।

उनले भनेका छन्– प्रहरीको पार्ट भनेको कुनै पनि अपराधको अनुसन्धान गरेर त्यसको प्रोफाइल बनाई अदालतमा पेश गर्ने हो । हाम्रो कामको लास्ट प्वाइन्ट नै त्यही हो । त्यसपछिको सबै जिम्मेवारी अदालतमा निहीत हुन्छ । फैसलामा हाम्रो चासो त हुन्छ, तर टिप्पणी गर्ने अधिकार हुँदैन । त्यसैले यो फैसलमा मेरो कुनै टिप्पणी छैन ।

त्यसबेला प्रहरीले गरेको अनुसन्धानमा रञ्जनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको थियो । जिल्ला अदालत काठमाडौंले पनि सोही निस्कर्षका आधारमा कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साबिक पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

अहिले सर्वोच्चले गरेको फैसला भने फरक छ । सर्वोच्चको फैसलामा रञ्जनले परिस्थितिजन्य कारणले रीस र आवेशमा आएर हत्या गरेको उल्लेख गरिएको छ । साथै, ‘मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रीसले गर्दा घटना भएको’ सर्वोच्चको फैसलामा उल्लेख छ ।

करिब नौ वर्ष अगाडि भएको यो बिभत्स घटनाको अनुसन्धान श्रेष्ठका निम्ति दुई कारणले अविस्मरणीय छ । एक त त्यसबेलाको बहालवाला डीइआइजीजस्तो हाइप्रोफाइल व्यक्ति मुछिएको केस, अर्को मुख्य अभियुक्त स्वयं उनका ‘लगौंटिया दोस्त’ । चरम दबावको स्थितिमा आफ्नै निकट मित्रमाथि निष्पक्ष अनुसन्धान गरेर उनले आफ्नो कर्तव्य निभाए ।

जब आफ्ना साथीका निम्ति कर्मको अभिभारा मुख्य ठानेर काम गरियो, अदालतहरू अनुसन्धान र प्रमाणका विषयमा रञ्जनमाथि साजय सुनाउन बाध्य भए । सर्वोच्चका अहिलेको फैसलामा कहाँ चित्तमा लाग्यो ? यो साराको प्रश्न छ ।

यहि प्रकरणका विषयमा अहिले सामाजिक सञ्जालमा चलेको बहस, कोइरालाको निस्कने शैली र आइरहेका टिप्पणीले सोध्छ– अब यो समाजमा रञ्जनको स्थान कहाँ हुनेछ ? यसको स्पष्ट उत्तर पनि छ– घृणामा ।

प्रतिक्रिया
सम्बन्धित