
काठमाडौं, ६ साउन । लगातारको वर्षाका कारण देशभरका विभिन्न ठाउँको सडक अवरुद्ध हुँदा आवतजावत बन्द भएका छन् ।
मुख्यतः काठमाडौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरुद्ध भएको छ । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि यो सडक अवरुद्ध बनेको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो, मलेखु धादिङबेसी सडकखण्डको परेवाटार, बाँके धन्सार सडकखण्डको चपुरदेखि झण्डै ३ किलोमिटर पूर्वको जुडिवेला कजवेमा र सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेको तथा बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत म्याग्दीको काभ्रेभीर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभीरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड १२ दिनदेखि अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण दानाको काभ्रेभीर, घोप्टेभीर, गुइँठेभीर लगायत ठाउँहरूमा पहिरोले सडक बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
कान्ति लोकपथको घट्टे पख, बाग धारा, शिलालेख र छपेलीमा, साँफेबगर मार्तडी सडकको अम्कोट द्वारी खण्ड तथा बेंसीशहर चामे सडक अन्तर्गतको घोप्टे खोला, रामबजार र च्याम्चेमा खसेको पहिरो खसेकाले सडकखण्डमा गाडी चल्न सकेको छैन ।
अरनिको राजमार्गको माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएको छ ।
ठाउँ–ठाउँका सडकमा बाढी तथा पहिरोले क्षति पुर्याएपछि जोखिमको बेला केही दिन कुनै पनि यात्रा नगर्न सडक विभागले अनुरोधसमेत गरेको छ ।















प्रतिक्रिया