२९ आश्विन २०८३, बिहिबार

नेपालमा अझै चार दिन भारी वर्षाको सम्भावना : विभाग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ५ साउन । नेपालमा अझै चार दिनसम्म भारी वर्षा हुने भएको छ ।

न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सुरजकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका छन् ।

त्यस क्रममा वैद्यले ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे ।

उनका अनुसार नेपालको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा घनावर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए । यो मात्रा अझै बढेर २०० मिलिलिटर पार्नी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केहीदिन पूर्वीपहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए ।

२४ घण्टामा कहाँ पर्यो धेरै पानी ?

विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ । यो परिमाणमा अझै वृद्धि हुने वैद्यले बताए । ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।’

नारायणीले खतराको तह नाघ्यो, अरु चार नदीमा ठूलो बाढी आउने

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । उक्त स्थानमा जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटर माथि आइसकेको छ । वर्षा नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ ।

यस्तै नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको हो । उक्त स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तह पार हुनुपर्नेमा जल सतहले ११.९८ मिटर पार गरेको वैद्यले बताए । विभागले खतराको तह पार गरेको स्थानका तल्लो टतीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वनपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिए ।

यस्तै कोशी नदीमा भोलिसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।

यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको उनले औंल्याएका छन् ।

सामान्यतया मनसुन असारमा शुरू भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महीनापछिसम्म पानी पर्ने देखिएको छ । ४ महीनामध्ये असारको अध्यदेखि भदौ मध्यसम्म अत्यधिक वर्षा हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षाको दर उच्च छ ।

चार महीनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पानी पर्ने समय हो’, महानिर्देशक वैद्यले भने, ‘तर यो पटक मनसुनको शुरूदेखि नै अत्यधिक पानी परिरहेको छ, कात्तिकसम्मै पर्ने देखिन्छ ।’ एक वर्षमा पर्ने पानीको ८० प्रतशित पानी मनसुनको चार महीनामा पर्ने उनले जानकारी दिए ।

हरेक मनसुनमा बाढी पहिरोका कारण हुने क्षति घटी बढी हुने भन्दै वैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमीन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताए ।

हरेक दिन मिडिया ब्रिफिङ

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनको जोड थियो ।

‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्न सक्ने आधार बनाएका छौं’, मन्त्री पुनले भने, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।’ उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनु नपरोस् ।’ यस्तै बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन अधिक वर्षा नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए ।

विभागले अबदेखि हरेक दिन बिहान ११ः ०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ ।