बारा, ४ साउन । बारा जिल्लाको महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठूलो परिमाणमा नक्कली नेपाली र भारतीय रुपियाँका नोटसहित तीन जनालाई पक्राउ गरिएको छ।
नक्कली रुपियाँ तथा लागुऔषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा एकजना भारतीय नागरिक र दुई जना नेपाली नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।
ब्युरोका अनुसार भारत मोतीहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ ४ का २६ वर्षीय मनोज साह तेली र बाराकै आदर्श कोटवाल ६ का ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाह पक्राउ परेका हुन् ।
उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपियाँ १ लाख ८३ हजार ६ सय ५० रुपियाँ बरामद गरिएको ब्युरोले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बोरामा हालेको अवस्थामा उनीहरूबाट नक्कली नेपाली रुपियाँ एक हजारका १ हजार ४ सय ७० वटा र १ सय का ७४४ वटा नोट फेला पारिएको थियो ।
नक्कली भारतीय रुपियाँ ५ सयका २ सय ९७ वटा र ५० का ७०३ वटा फेला पारिएको ब्युरोले जनाएको छ। उनीहरूबाट ना. ५४ प ३८०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया