शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकी अभिनेत्री रिभेराको निधन

दैनिक नेपाल २०७७ साउन २ गते ९:१८

लसएञ्जलस । अमेरिकी अभिनेत्री नाया रिभेरा बेपत्ता भएको खबर गत बुधबार डढेलोझैं फैलियो । ‘फक्स’ च्यानलको म्युजिकल–कमेडी शृंखला ‘ग्ली’ की ३३ वर्षीया अभिनेत्री रिभेरा आफ्नो चार वर्षे छोरासहित एकाएक हराएकी थिइन् ।

त्यसै रात लस एञ्जल्सबाट उत्तर–पश्चिम पर्ने पिरू तालको उत्तरी कुनामा एउटा डुंगा बेवारिसे अवस्थामा तैरिरहेको छ भन्ने खबर आयो । खबर पाएको झण्डै तीन घण्टामा अनुसन्धान टोली घटनास्थल पुग्यो ।

प्रहरी टोली पुग्दा बेवारिसे भनिएको डुंगा ढलपल तैरिरहेको थियो । डुंगामा रिभेराका छोरा झण्डै–झण्डै बेहोसी हालतमा थिए । उनको शरीरमा लाइफ ज्याकेट पनि थियो ।

प्रहरीले तत्काल उनलाई उद्धार गरेर अस्पताल लग्यो । पौडीबाजहरू तालमा हाम्फालेर रिभेराको खोजी गर्न थाले । डुंगा फेला परेकै ठाउँ वरिपरि निकै बेर खोज्दा पनि कुनै संकेत फेला परेन । तालमुनि बाक्लो झाडी झांगिएको थियो । यसले खोजीमा समस्या ल्याएको अनुसन्धान अधिकृत शेरिफ बिल अयुबले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पौडीबाजहरूले तालको विभिन्न कुनामा पाँच दिन धुइँपत्ताल खोजेपछि सोमबार रिभेराको शव फेला परेको अयुबले बताए । उनले लाइफ ज्याकेट लगाएकी थिइनन् । ‘आत्महत्या वा अरू कसैको हात रहेको संकेत देखिएको छैन’, उनले भने ।

रिभेराका छोरा जोशे होलिस डोर्सेले प्रहरीलाई बताएअनुसार यो घटना कसरी भयो भन्ने खुलेको छ ।

उनी आफ्नो छोरालाई लिएर गत बुधबार दक्षिणी क्यालिफोर्नियाको त्यो तालमा डुंगा खियाउन र पौडी खेल्न गएकी थिइन् । तालको बीचतिर पुगेपछि उनीहरू पौडी खेल्न हाम्फाले । अलि बेर पौडेपछि सायद रिभेरालाई केही असहज अनुभव भयो ।

उनले भएभरको बल लगाएर छोरालाई डुंगामा चढाइन् । त्यति बेलासम्म सायद उनको शरीरको बल निख्रिसकेको थियो ।

छोरालाई बल्लबल्ल डुंगामा चढाएर ज्यान जोगाएकी रिभेराले आफैंलाई भने डुब्नबाट बचाउन सकिनन् । उनी छोराको आँखैअगाडि विस्तारै पानीमुनि डुब्दै गइन् । र, एकैछिनमा अलप भइन् ।

प्रतिक्रिया
सम्बन्धित