
काठमाडौँ, १ साउन । सरकारले विदेशमा अलपत्र श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर स्वदेश ल्याउने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विदेशमा रोजगारीको सिलसिलामा समस्यामा परेकाहरुलाई कोषको रकमले स्वदेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
मन्त्रीपरिषद बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेको हो ।
कार्यविधि पारित भएसँगै सरकारलाई श्रम स्वीकृति लिएर विदेश गएका र रोजगारदाताले खर्च नव्योहोदिएकाहरुलाई कोषको रकमले स्वदेश ल्याउने बाटो खुलेको छ ।
एक वर्षभन्दा कम समयमै रोजगार गुमाएर अलपत्र परेकालाई सरकारले कोषको रकम प्रयोग गरी शतप्रतिशत खर्चमा ल्याउने भएको छ ।
वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ ।
सम्बन्धित रोजगारदाताले कामदारलाई हवाई उपलब्ध गराउने सेवा सुविधाबारे कुटनीतिक नियोगले छानबिन गर्नेछ ।
अलपत्र कामदार स्वदेश फर्काउन लाग्ने हवाई टिकटबापतको खर्च र कामदारको विवरणसहित संलग्न गरी सम्बन्धित कुटनीतिक नियोगले रकम निकाशाको लागि बोर्डको सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि स्वदेश फर्केर्नेले हवाइ टिकट तथा क्वारेन्टिन लगायतको खर्च व्यक्ति स्वयंमले व्योहोर्ने कार्यविधि तय भएको थियो ।















प्रतिक्रिया