शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अध्ययन समितिको निष्कर्ष : चौरजहारी घटना किशोरीकी परिवार र वडाध्यक्षले घटाए

दैनिक नेपाल २०७७ असार ३० गते २१:२४

काठमाडौँ, ३० असार । रुकुमको चौरजहारी घटना सुनियोजित भएको घटना अध्ययन गर्न गठित संसदीय समितिले ठहर गरेको छ ।

नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको उक्त घटना सुनियोजित भएको निष्कर्ष निकालेको हो ।

घटनाको अध्ययन गर्ने देवेन्द्र पौडेलको संयोजकत्वमा गठीत संसदीय समितिले एक महिना अध्ययन गरेको मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।

२०७७ साल जेठ १० गते जाजरकोटबाट प्रेमिका भगाउन रुकुम पश्चिम पुगेका नवराज बिकसहित ६ जनाको ज्यान गएको थियो ।

प्रतिवेदनमा ’नवराज बिक र सुस्मा मल्लबीचको प्रेम सम्बन्ध अन्तरजातीय भएकाले घटनाको मुख्य जरिया जातीय भेदभाव र छुवाछुत भएको’ प्रतिवेदनमा उल्लेख रहेको समिति सदस्य मीनबहादुर विश्वकर्माले बताए ।

समितिले जेलमा सुस्मा मल्लका परिवारसँग समेत कुराकानी गरेको बताएको छ ।

’नवराज बिक र सुस्माबीचको प्रेम सम्बन्ध अविभावकले अस्वीकार गरेपछि सामुहिक र जघन्य हत्यामा परिणत हुन पुग्यो’, विश्वकर्माले प्रतिवेदनमा उल्लेखित विवरणबारे भने, ’सुस्माको बुवासँग हामीले कुरा गर्दा उहाँले नवराजसँगको प्रेम सम्बन्ध थाहा पाएको बताउनुभयो।’

सुस्माका बाबुलगायतले भनेका कुराहरु पनि समितिले प्रतिवेदनमा समावेश गरिएको बताइएको छ ।

’छोरीको मोबाइल नखोस्नु पर्ने रहेछ । छोरी बिग्रिई, राम्रो बनाउँछु भन्दा यो हालत भयो । गाउँभरीका मान्छे मेरै कारणले थुनिए भनेर बुवाले हामीलाई भन्नुभयो’, विश्वकर्माले भने, ’मोबाइल खोसेर राखेको र कहिले भाइले त कहिले दाजुले कुराकानी गर्ने गरेको पनि बताउनुभयो ।’

समितिको अध्ययनअनुसार घटना सुस्माको आमाको आह्वानमा वडाध्यक्ष डम्बर बहादुर मल्लको नेतृत्वमा भएको निष्कर्ष निकालेको छ । ’सुस्मा मल्लकी आमाको आव्हानमा र वडा अध्यक्ष डम्बर मल्लको नेतृत्वमा संगठित र योजनाबद्ध रुपमा घटना गराएको पाइयो’, विश्वकर्माले भने, ’कुनै पनि घर नभएको घटनास्थलमा आधा घण्टामा सय(दुई सय मान्छे जम्मा भएर घेरा हालेको देखिन्छ ।’

’घटनाको समय अवधि छोटो भएको र वडाअध्यक्षले घटना भएपछि प्रहरीलाई खबर गरेर प्रहरी आएको देखिन्छ’, उनले प्रतिवेदनमा उल्लेखित विवरण प्रष्ट्याउँदै भने,’ प्रहरीले घाइतेलाई पक्रिएको देखिन्छ, जबकी आक्रमणकारीलाई पक्रिएको छैन ।’

त्यस्तै घटनास्थल पुगेको नेपाल प्रहरीका असई र हवल्दारको पनि लापरवाही भएको समितिले उल्लेख गरेको छ ।

’घाइतेलाई गिरफ्तार गरी आक्रमणकारीलाई छाडिएको छ । घटना घटेकै दिन एक जनाको लाश भेटिएको छ । अन्य घाइतेहरुले साथीहरु हराएको बताउँदा समेत प्रहरीले १८ घण्टासम्म बेवास्ता गरेको छ’, उनले भने ।

’घटनाको अनुसन्धान गर्न जिम्मेवार हुनुपर्ने प्रहरीको कुनै पनि प्रभावकारिता देखिँदैन’, उनले भने, ’लाश खोज्ने, अभियुक्त खोज्ने कुरामा, अनुसन्धान गर्ने कुरामा, घटनास्थललाई सुरक्षामा लिने, शिल गर्ने र तत्काल शंकास्पद व्यक्ति खोजी गरेको पाइँदैन ।’

घाइतेहरुले हराएका व्यक्तिबारे सूचना दिँदा खोजी गरेको भए केही व्यक्ति जीवितै रहन सक्ने अवस्था रहेको उनले बताए ।

’घटना साँझ साढे ५ बजे आसपास भएको छ । नवराज बिकको मोबाइलमा कसैले फोन गर्दा त्यतिबेलासम्म लागिरहेको छ । उसले एकछिनपछि कुरा गर्छु भनेर काटेको छ । त्यसपछि ६ बजेर ३ मिनेटमा फोन गर्दा सम्पर्क विहीन भएको देखिन्छ ।

यसरी हेर्दा आधा घण्टामा सबैलाई सिध्याउने काम भएको छ’, सांसद विश्वकर्माले भने, ’६ बजेर ३० मिनेटमा प्रहरी पुगेको छ । प्रहरीले को हो, के हो नभनेर खोजेको भए घाइते अवस्थामा सकुशल शरीर भेटिने अवस्था देखिन्छ ।’

उनले घटनाको मुचुल्का गर्दा समेत लाश भेट्टाउनेहरुको बयानलाई प्रहरीले ठाउँ नदिएको बताए । ’सन्जुलाई बञ्चरोले हानेको भनेर स्थानीयले भनेका छन् तर प्रहरीले खोस्रिएको र दरफरिएको घाउ लेखेको छ ।’ उनले घटनामा प्रहरीको भूमिका शंकास्पद रहेको बताए ।

’प्रहरीले खोला तर्न खोज्दा फुटबल खेल्न आएका युवाहरुले छेकेको भनेको छ’, स्थलगत अध्ययनमा गएका सांसद विश्वकर्माले भने, ’अहिलेसम्म न त्यहाँ चौर देखियो । न त फुटबल नै भेटियो ।’ घटनामा संलग्नताको आरोप लागेका ५ जना फरार रहेको भन्ने प्रहरीको रिपोर्ट समेत विश्वसनीय नरहेको उनले बताए ।

’लकडाउनका बेला कसरी फरार हुनसक्छ’, उनले भने, ’गाडी चलेको छैन । कुनै ठाउँ जान सक्दैन । प्रशासनको नोटिसमा कोही मान्छे नहुने भन्ने हुँदैन ।’

’जाजरकोटका सांसदले न त मृतकलाई श्रद्धाञ्जली दिनुभयो । न गाउँ जानुभयो, न टेलिफोन गर्नुभयो, शक्ति बस्नेत र जनार्दन जानु भएको छैन । डाक्टर र वकिललाई समेत प्रभावित गर्ने काम गरिराखेको भन्ने स्थानीयको गुनासोलाई हामीले प्रतिवेदनमा लेखेका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित