शनिबार, १० साउन २०७७
DainikNepal.com
शनिबार, १० साउन २०७७

‘रामको जन्मभूमिबारे दिएको अभिव्यक्ति प्रधानमन्त्रीले फिर्ता लिनुपर्छ’

दैनिक नेपाल २०७७ असार ३० गते १७:१५

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमिबारे दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले बताएका छन् ।

प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले फिर्ता लिनुपर्ने बताएका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै नेता गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका हुन् ।

बरु प्राविधिक र इतिहासकारहरुको समूह गठन गरि यसबारेमा सत्यतथ्य प्रमाण संकलन गर्न नेता गौतमले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

नेता गौतमले आफूलाई प्रधानमन्त्री ओलीले २ वर्ष अघि नै यो विषय सुनाएको पनि बताए । ‘मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो’ गौतमले भनेका छन् ।

नेता गौतमले हाल ओली प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसमेत भएकाले यस विषयमा प्रमाण जुटाउने कार्य गर्न सक्ने बताउँदै प्रमाणित भए इतिहासकारहरुले सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित