बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकामा कांग्रेसको जनसम्पर्क समितिभित्र भाँडभैलो, देउवा–पौडेल समूहमा ‘वार’

दैनिक नेपाल २०७७ असार २७ गते १०:१२

न्युयोर्क, २७ असार । अमेरिकामा रहेको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा भाँडभैलो भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहबीच अमेरिकामा विवाद भएको हो ।

विवाद हुँदा देउवा निकट मानिने कांग्रेस केन्द्रीय सदस्य समेत रहेका समितिका सभापति गोरख विष्ट ‘आनन्द’लाई पौडेल–कोइराला निकट मानिने समूहले सभापति पदबाट शनिबार हटाएको छ ।

समितिका पूर्वसंयोजक विष्णु सुवेदीको नेतृत्व तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह केसीको संयोजनमा विष्टलाई सभापति पदबाट हटाइएको हो । धनञ्जय नरसिंह केसी कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ हुन् । यसअघि पनि धनञ्जयले जनसम्पर्क समितिमा भाँडभैलो मच्चाएको आरोप छ ।

विष्टलाई सभापति पदबाट हटाउन पौडेल–कोइराला समूहको अमेरिकी समयअनुसार शुक्रबार साँझ जुम मिटिङको बैठक बसेको थियो ।

पौडेल–कोइराला निकटको समूहद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजिम सभापति विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पद रिक्त भइसकेको दाबी गरेको छ ।

‘सन् २०१४ मा टेक्सासमा अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि कांग्रेसको विधानमा व्यवस्था भएअनुसार आफू पदमुक्त भइसक्दा पनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका निजको बदनीयत स्पष्ट भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पार्टीले गत कात्तिक ५, २०७६ मा ६ महिनाको समय दिई अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको पनि वैशाख ५, २०७७ देखि म्याद गुज्रिसकेको छ’, असन्तुष्ट समूहले भनेको छ ।

‘बिधानतः पनि उहाँले आफूलाई अध्यक्ष भन्ने बैधानिक र पार्टीको आदर्श अनुरुप नैतिक अधिकार छैन’, विज्ञप्तिमा भनिएको छ, ‘संगठनलाई भर्‍याङ बनाएर आफ्नो व्यक्तिगत फाइदा लिने तर, संस्थालाई कमजोर बनाएको हेरेर बस्नु कुनै पनि इमान्दार कार्यकर्तालाई सुहाउँदैन ।’

‘जनसम्पर्क समिति अमेरिकालाई चुस्त, गतिशील र बिधान सम्मत हिँडाउन हामीले तत्काल निर्णय लिनुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको गरिमा बचाई राख्न र जनसम्पर्क समितिको साखलाई सधैं उच्च राख्न आमन्त्रित सदस्य मनोनयन भएकै दिनदेखि बिधानतः स्वतः पदमुक्त हुनुपर्ने र पद छोड्न अनुरोध गर्दा पनि अटेर गरी पद धारण गरिरहनु भएकोले उहाँलाई आजको मितिदेखि आनन्द विष्टलाई जनसम्पर्क समिति अमेरिकाको अध्यक्षबाट सर्वसम्मत रुपमा पदमुक्त गरेको निर्णय सार्वजनिक गर्न चाहन्छौं ।’

‘आगामी दिनमा जनसम्पर्क समिति अमेरिकालाई सबै नेपाली प्रजातन्त्रवादीको साझा, प्यारो, राम्रो र हाम्रो संस्था बनाउन र निर्वाचन गराउने ऐतिहासिक जिम्मेवेरी लिने नेतृत्व चयनको लागि छिट्टै अमेरिकाभरि रहेका तमाम साथीहरूको बीच छलफल गर्ने र नेपाली कांग्रेसको पार्टी नेतृत्वसँग परामर्श समेत गरेर आम सहमतिबाट सर्वसम्मत निर्णयद्वारा नयाँ समिति निर्माण गर्ने कुरा सार्वजनिक गर्दछौं’, असन्तुष्ट समूहको विज्ञप्तिमा भनिएको छ ।

‘जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष पदमा हालसम्म सेवा गर्नु हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पूर्वअध्यक्ष विष्टले आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारीलाई इमान्दारितापूर्वक निभाउनु हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका लागि बनेको अधिवेशन समितिलाई सम्पूर्ण तन, मन, बचन र कर्मबाट सहयोग गर्नु हुनेछ भन्ने सम्पूर्ण जनसम्पर्क समितिका साथीहरूको सदीच्छा रहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित