शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘बेइमान’ सरिता !

विनोद ढकाल २०७७ असार २७ गते १०:४९

विनोद ढकाल

नेपालको राजनीतिमा इमान खोज्नु नै एउटा नाटकीय शोध हुनेछ । कुनै पनि राजनीतिक अभियान या दलको विषयमा एउटै निर्णय हुन्छ– बेइमान राजनीति ।

यो बेइमानीभित्र अनेक–अनेक परिचयमा उभिएका छन्, पात्र र चरित्र । त्यहि चरित्रभित्रकी एक हुन् सरिता । अर्थात्, सरिता गिरी । अनेक धेरै छन्, अधिक चर्चित नाममा । तिनको चर्चा फेरि पनि हुँदै जानेछ ।

माफ गर्नुहोला, सरिता अब व्यक्ति मात्र होइनन् । सार्वजनिक जीवनको एउटा महत्व बोकिन्, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायले उनका कर्मप्रति चासो देखायो त्यसैले सरिता राज्यका लागि निर्दोष, दोष या नियती अनेक विशेषणको प्रतिनिधि भइसकेकी छन् ।

म सरिताको व्यक्तिगत विविधता या विशेषताको चर्चा गर्न गइरहेको छैन । उनको सक्रियताको विगत र बर्तमानलाई केलाएर एउटा प्रवित्तिलाई राख्न खोजीरहेको छु । यस अर्थमा भन्छु– सरिता प्रवित्ति हुन्, महिला नेतृको कसीमा मात्रै राखेर व्याख्या गर्नु अनुचित हुनेछ ।

कुनै अमुक जिम्मेवारीमा पुग्न विशेषताको सहारा खाँचो पर्नेलाई नेता भन्ने कि, अरु केही ? कतिपयले आजभोली सामाजिक सञ्जालमा सरितालाई ‘भारतीय प्याधा’ भनी टिप्पणी गरे ।

यसको बर्खिलापमा बोल्छु । तर प्रवित्ति त केलाउनु नै पर्छ ।

सरिता प्रष्टसँग खुलिन्, नखुलेका कतिपय तथ्य त प्रधानमन्त्री केपी शर्मा ओलीले बकिदिए, जसको पृष्ठभूमीको पराकम्पनमा नेकपाको आन्तरिक राजनीति र सडकमा ओली पक्षको नाराबाजी चलिरहेकै छ ।

सरिताको सिधा प्रस्तुतीसँग मतभेद मेरा पनि छन् । व्यक्तिगत हिसाबमा उनीप्रति कुनै प्रकारको दुरभावचाहिँ छैन ।

अति राष्ट्रवादको उग्रता विशालनगरमा उनको निवासअगाडिसम्म पुग्यो । तर, त्यहि उग्रता सत्ता, सत्ताका लागि भएका कतिपय भित्रिया चलखेलसम्म पुगेको छ र ? यो प्रश्नलाई मझेरीमा राखेर मात्रै कसैको हुर्मत लिनुपर्छ ।

सरिताको हुर्मत लिने कामको विपक्षमा हुँदाहुँदै प्रवित्तिलाई नजरअन्दाज गर्न मिल्दैन ।

यो देश एक रातमा राष्ट्रवादी र एकै रातमा राष्ट्रघातीको नाम र थप्पा लगाइदिन सक्नेहरूको जमातले भरिएको छ । नाकाबन्दीका समयमा भैरहवामा पुगेका राजेन्द्र महतोलाई भारतीय दलाल भनियो, फेरि सदनमा नक्शाका विषयमा उनले दिएको कडा बयानबाजीका कारण अहिले राष्ट्रवादी बनाइयो ।

यस्तै सरिताले नक्शाका विषयमा बोलेको, अन्तरवार्ता दिएको विषयमा उनलाई एक रातमा राष्ट्रघाती बनाइयो । यो कुन तुलोमा गरिएको न्यायनिसाफ थियो ?

पक्कै पनि सरिता यहि राजनीतिक चरित्रभित्रको एउटा पात्र हुन् । यसै कारण पनि उनको पार्टी जनता समाजवादीले जिम्मेवारी मुक्त गर्ने निर्णय गरेको थियो । यहाँ पनि त उनको प्रवित्तिले नै परिणाम देखाएको होइन र ?

नेपालको नक्शाका विषयमा उनका विविध रिजर्भेशन होलान् । तर, पार्टीले सरकारको निर्णयलाई सर्वसम्मत गर्दा उनले छिचोलेर संशोधन प्रस्ताव फिर्ता नलिनुको परिणाममा सांसद पद गुमाउनु परेको तथ्यचाहिँ हो ।

राजनीतिमा कतिपय प्रोपोगाण्डा पनि हुन्छन् । कतिपय सत्य पनि । जब संशोधन प्रस्ताव दर्ता गराइन् उनी विविध बहानामा भारत प्रस्थान गर्ने तयारीमा थिइन् । यो संशयका चर्चा पनि भए । सरिताले स्वीकार पनि गरेकी हुन् ।

तर, यो संशयको अवस्था किन आयो ? यसमा राजनीतिक अवसर र चरित्रको विगतले अर्थ राख्दछ । यसबारे केही चर्चा गरौं ।

सबैभन्दा मुख्य विषय भनेको राष्ट्र र राष्ट्रियता हुन्छ । यसपछि आउँछन् अन्य तपशीलका विषयबस्तु । सार्वभौम मुलुकमा आएपछि कुनै पनि व्यक्तिको प्रमुख कर्तव्य भनेको मुल्य र मान्यतालाई स्वीकार गर्ने, त्यसको थितिभित्र बस्नुपर्छ भन्ने हो । यो सामाजिक मान्यता नै बनिसकेको समाजमा राजनीतिक र कुटनीतिक मान्यता त अति उच्च तहमा मान्नुपर्छ भन्ने नैतिकता नै हो ।

सरिता समग्र मधेसीको प्रतिनिधि वा समग्र महिलाको पनि प्रतिनिधि होइनन् । यीनि अपवाद हुन् । लोकतान्त्रिक व्यवस्थाभित्र मात्रै यीनको  अवसरवादको विश्लेषण मात्र गर्दा पुग्छ । नेपाली कांग्रेसबाट नेपाली राजनीति थालेकी सरिताले अवसरका लागि गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीलाई जुइँनो बनाइन् ।

भन्नेले भन्लान् ‘बेइमान’ सरिता । तर उनले इमानको राजनीति केश फूलुन्जेलसम्म किन देखाउन सकिनन् ? राजनीतिलाई प्राप्तिको मात्र होइन, त्यागको हिस्सा र इमानको प्रतिनिधित्वका दृष्टिबाट पनि उनले देखाउन सक्नुपर्दथ्यो, त्यो गर्न सकिनन्

लाभको राजनीतिमा सद्भावना विविध खेमामा चिरा भयो । सिंहको शेख राख्नका लागि उनकी पत्नी आनन्दीदेवी सिंहलाई मानार्थ अध्यक्ष बनाएर हुकुमी शैलीमा पार्टी चलाउने धृष्टतामा धेरै लागेका थिए । त्यस मध्येकी एक पात्र हुन्, सरिता । आफ्ना विचार, धारणाका निम्ति होइन, सत्ता र कुर्सीका निम्ति भएको लेनदेनको एक हिस्सा पनि हुन्, सरिता । त्यसैले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषदमा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।

यदि परम्परागत राजनीति र भ्रष्टाचारको मार्गभन्दा अलग हुन्थिन् भने तत्कालिन वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने खेल हुने थिएन । भट्टराईको राम्रो कामको सर्वत्र चर्चा भइरहेका बेला उनले जुन कदम उठाइन्, त्यसको परिणाममा मन्त्री पद गुमाउन परेको थियो । यसको अर्थ, सरिता पनि यहि परम्परागत भ्रष्ट चरित्रको राजनीतिभन्दा पर भइनन् ।

कतिपयले डा. भट्टराईसँगको कटुताका कारण उनलाई कारबाही गरिएको, पद खोसिएको भन्ने तहमा विश्लेषण र टिप्पणी गरेका थिए । यसको सत्यताको पाटो जस्तो होस् तर प्रवित्तिगत राजनीतिबाट उनी उम्किएकी थिइन् त ?

उनी तिनै सरिता हुन् जसले आफू नेतृत्वको पार्टीको जीवनका लाग आनन्दीदेवीको अपहरणसम्म गरेको समाचारको पात्र बनिन् र प्रतिक्रिया दिनुपर्ने अवस्थामा पुगिन् । यो पृष्ठभूमीको सत्यलाई कसैले रोक्न वा छेक्न सक्तैन । त्यसैले प्रवित्तिमाथि चर्चा गरौं ।

नेपालको विद्यमान नागरिकता कानुन, नक्शासम्बन्धी कानुनमा सांसदको पदमा रहँदा उनका रिजर्भेशनलाई व्यक्तिगत जीवनसँग जोड्नु उपयुक्त हुने थिएनन् । बुहारी घरकी शोभा, लक्ष्मी र जिम्मेवार नारी मान्ने समाजले उनको नागरिकता अंगीकृत हो र उनी बेइमान हुन् भन्नु गलत हुनेछ ।

यहि सन्दर्भमा महिलाको कसीमा राखेर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले पार्टीले कारबाही गरेको विषयमा सार्वजनिक रुपमा सरिताको पक्षमा धारणा राखिन् । पहिलो कुरा, सरिता महिला मात्र होइनन्, जिम्मेवार नेपाली नेत्री हुन्, सांसद थिइन् । पार्टीका प्रक्रियाभित्रबाट सांसद नियुक्त भइन् भने सोही प्रक्रियाबाट उनलाई अलग गरिएको भन्ने अर्थमा पनि बुझ्नुपर्छ ।

तर नेपाली राजनीति मौलिक विचार र पद्दती अनि प्रभावबाट होइन बाह्य असरको प्रतिनिधिका रुपमा चलिरहेको छ भन्ने विषयलाई चटक्कै नजरअन्दाज गर्नु हुन्न । विषम परिस्थितिका बेला सरिताले जुन विषयमा आफूलाई उभ्याउने कोशीश गरिन् त्यो ठिक थिएन तर उनलाई व्यक्तिगत रुपमा गरिएका टिप्पणी र व्यवाहार पनि सही हुन् भन्न सकिन्न ।

भन्नेले भन्लान् ‘बेइमान’ सरिता । तर उनले इमानको राजनीति केश फूलुन्जेलसम्म किन देखाउन सकिनन् ? राजनीतिलाई प्राप्तिको मात्र होइन, त्यागको हिस्सा र इमानको प्रतिनिधित्वका दृष्टिबाट पनि उनले देखाउन सक्नुपर्दथ्यो, त्यो गर्न सकिनन् ।

सारांशका उदाहरणका आधारमा सरितालाई एउटा पात्र मात्र भनेर बुझियो भने गलत हुन्छ । नेपालमा धेरै सरिताहरू छन्, यो प्रवित्तिको अन्त्य गरौं, व्यक्तिमाथि नशानाबाजी सर्वथा गलत सभ्यताको खुड्कीलो बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित