बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

नेकपाको दीर्घकालीन निकास, दोश्रो पुस्तामा हस्तान्तरण

वीवी श्रेष्ठ २०७७ असार २३ गते ८:२७

वीवी श्रेष्ठ

शासन व्यवस्था आफैमा साध्य होइन, साधन मात्र हो । जुन कुरा पुष्टि समेत भइसकेको छ । यो सिद्धान्त सबैमा लागू हुन्छ । नेपालको सन्र्दभमा पनि लागू भइसकेको छ । राजनीति आफैमा पूर्ण हुँदैन । नीतिको प्रधान राजनीति हो । यसको सफल कार्यन्वयनले मात्र राजनीतिको वास्तविक अर्थ पूरा हुन्छ । लामो राजनैतिक आन्दोलन र त्यसले प्राप्त गरेको संघीय गणतन्त्रमा हामी प्रवेश गरिरहँदा जनतासामु प्रश्न चिन्ह खडा भएको छ । त्यो हो, शासन व्यवस्थाले मात्र आम जनताको परिवर्तन गराउन सक्दछ र ? राजनैतिक नेतृत्वलाई यो विषय समान्य भएता पनि आम नागरिकलाई भने पेचिलो प्रश्न खडा गरेको छ ।

एउटा जंगलमा दुई शेर बस्न सक्दैन भनेझै भएको छ नेकपामा अहिले त्यहि आत्माघाती सोँच नै नेकपाका लागि घातक बनिदियो । नेकपाको स्थायी समिति बैठक देशमा भएको कोरोना नियन्त्रणका लागि छलफल हुन सकेन, देशको राष्ट्रियता बनेन, जनजीविकाको सवाल बनेन, बन्यो त केवल सत्ता र शक्तिका लागि विवाद । जनता र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चासोको विषय वनेको नेकपाको स्थायी समितिको बैठक कुर्सीमा समानता र शक्ति आर्जनका लागि युद्ध गर्ने मैदान बनिदियो । नेकपाका नेताहरूको यहि खुद्रे रवैयाले आम जनतामा कस्तो प्रभाव पा¥यो होला, नेकपाका नेताहरूले कदापि सोच्न सकेको पाइँदैन । आम जनता के चाहन्छन्, हैन, नेता के चाहन्छ भन्ने पुष्टि गरिदियो । देश र जनताको आवश्यकता के हो, आफूलाई कथित राष्ट्रवादी सोच्ने नेताले कदापि सोच्न सकेन, सोच त रह्यो केवल आफ्नो भूमिका कहाँ ? यहि नेतृत्व र नेताको सोचमा हामी हुँकार पिट्दै देवत्वकरणमा लिप्त बनिरहेका छौँ ।

नेकपाभित्रको अबको निकास के ? अब योभन्दा बाहिर गएर सोच्ने हो भने देशले कहिल्यै स्थायित्व प्राप्त गर्न सक्दैन । लामो समयसम्म आन्दोलन र जेलनेल भोगेका नेताहरू सधै सत्ता र शक्तिको चंगुलमा फस्दा देश सधै वन्धक बनिदियो । यहि फेरिफेरिमा नै अब नेकपाको बैठक केन्द्रित हुन जरुरी हुन आउँछ । ईतिहासमा नेताहरूले गरेको योगदान विगतमा नेताहरूले पटक–पटक अवसर र राजकीय सत्ता र शक्ति लिएर लिइसकेका छन् । अवसर पनि सदैव प्राप्त गर्ने बस्तु होइन । योगदानको कदर स्वरुप नेकपाभित्रका पहिलो पुस्ताका नेताहरू पटक–पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बनिसकेका छन् । त्यहि नै अबको पहिलो पुस्तालाई न्याय हो । योगदानको उचित मूल्यांकन हुनुपर्दछ । यसो भन्दैमा काल नआउँदासम्म पदमा रम्नेलाई मात्र न्याय सम्झने हो भने त्यो देश र जनताका लागि धोका शिवाय केही हुन सक्दैन । त्यो लोकतन्त्र कदापि हुन सक्दैन ।

स्थापनाकालदेखि नै पार्टी अध्यक्षमा रहेको प्रचण्ड, लामो समयसम्म पार्टीको नेतृत्व गरेको माधव नेपाल, झलनाथ खनाल, वर्तमान अध्यक्ष ओली राज्यसत्तामा बसेर देश संचालन गरिसकेका छन् । अझै पनि यिनीहरू एकअर्काको त्यागको आशा गर्नु भनेको आफूमात्र सर्वेसर्वा भन्ने सोच शिवाय अन्य होइन । यहि सोँचका बीचमा भएको नेकपाको अन्तरकलहको दीर्घकालीन समाधान भनेको अब यी नेताहरूले अभिभावक बनेर दोश्रो पुस्तामा नेतृत्व र पार्टी हस्तान्तरण गर्ने अबको समाधान हो । नत्र त्याग र योगदानका नाममा सधै आफू मात्र सवल सोच्ने हो भने अहिले ओलीको राजीनामाले केही समयका लागि राहत दिएता पनि यो दीर्घकालीन समाधान हुन सक्दैन । किनकी जब एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्दैन, सत्ता र शक्तिका लागि लडााइँ भइरहन्छ । नेकपाभित्रको अबको समस्या समाधान गर्नु भनेको युवापुस्तामा नेतृत्व र सरकारको हस्तान्तरण नै हो । नत्र ओलीको ठाँउमा प्रचण्ड अथवा माधव नेपाल अध्यक्ष वा प्रधानमन्त्री बन्दैमा निकास हुन्छ भन्ने सोच्नु भनेको आफै नै सर्वेसर्वा हो भन्ने मिथ्या सोच शिवाय अन्य केही हुँदैन ।

योगदान, त्याग र अनुभवलाई शेयर गर्दै अब ओली, माधव, प्रचण्ड र झलनाथ अभिभावक बन्नुको विकल्प छैन । किनकी यिनीहरूको उपादेयिता सकिसकेको छ । पद र शक्तिमा आसिन हुन्छ भन्नु देश र जनतालाई बन्धक बनाउनु शिवाय अन्य केही हुँदैन । किनकी यी व्यक्तिहरू पटक–पटक जनताको सामु जोखिइसकेका छन् । यिनीहरूको योग्यता, क्षमता र कार्यकुशलता जनताले नजिकबाट नियाली सकेका छन् । लोकतन्त्रमा व्यक्ति होइन, पार्टी सर्वेसर्वा हुन्छ, पार्टीको निर्णय नै मान्य हुनुपर्दछ । बहुमत र अल्पमतका नाममा कोही व्यक्ति हावी हुनु खोज्नु भनेको अब उसको अस्तित्व समाप्त हुदैछ भन्नु हो । अत बहुमत देश र जनताका लागि हुनुपर्नेमा नेपालको राजनीतिमा शक्ति र सत्ताका लागि बनिदियो । योभन्दा अभिसाप अरु के हुन सक्दछ । जीवनका लागि सिद्धान्त हुनपर्नेमा शक्ति र सत्ताका लागि विधि, विधानको परिभाषा योभन्दा जनताका लागि धोका के हुन सक्दछ ?

सिद्धान्त र वैचारिक विषयमा समानता तर केका लागि अन्तरकलह ? पार्टीको विचार र सिद्धान्तमा छलफल गरौँ । पार्टीको मार्गदर्शन तय गरौँ, कार्यतालिका तय गरौँ र महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गरौँ, त्यहि नेतृत्वले नै नेकपाका सबै समस्यालाई समाधान गर्न सक्दछ । नत्र ओलीको स्थानमा माधव नेपाल अथवा प्रचण्ड स्थानान्तरण हुँदैमा नेकपाको विवाद समाधान होइन, झन् बढ्नेमा शंका छैन । अत अहिले ओलीलाई हटाएर राज गर्ने कसैले सोचेका छन् भने त्यो त्यसको दिवासपना शिवाय अन्य केही हुँदैन । प्रधानमन्त्री र अध्यक्षबाट जर्वजस्ती हट्नु परेपछि ओलीले के माधव वा प्रचण्डलाई सजिलै काम गर्न देलान र ? ओलीले त्यसको वदला लिन पद र कुर्सी छाडेको भोलिपल्टदेखि नै हिसाव किताव गर्न थाल्नेछ । ओलीको त्यो हिसाव कितावले माधव, झलनाथ र प्रचण्डको राजनीतिक जीवनमा साह्रै महँङ्गो पर्न सक्छ ।

नेकपा देश र जनताका लागि काम गर्ने पार्टी हो भनेर जनजनमा बस्नका लागि अबको विकल्प भनेको ओली, माधव, प्रचण्ड र झलनाथ कार्यकारी पदमा नबसी पार्टीको सल्लाहाकार र अभिभावक बनेर दोश्रो पुस्तामा पार्टी र र सरकारको नेतृत्व हस्तान्तरण नै अहिलेको आवश्यकता हो । यो सबै कुरा बुझेर पनि बुझने प्रयत्न नगरि सत्ता र शक्तिमा ध्यान केन्द्रित गर्ने हो भने जनताले सधै काँध थाप्न सक्दैन । त्यो थाप्न नसकेको जनताको काँधबाट पछारिएको नेताहरू कहिल्यै उठ्न सक्दैन । केही समयसम्म ओलीको निरन्तरता र महाधिवेशन अथवा सहमतिबाट नै दोश्रो पुस्तामा नेतृत्व हस्तान्तरण नै नेकपाका लागि दीर्घकालीन समाधान हुन सक्दछ । के पहिलो पुस्ताले देश र जनताका लागि यो त्याग गर्न सक्लान् ? देश र जनताप्रतिको जिम्मेवारिता अब देखाउने बेला भएको छ ।

प्रतिक्रिया
सम्बन्धित