शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ओली युग हुन्, प्रचण्ड युगान्त

नेकपालाई संजिवनी होइन, अमृत आवश्यक

विनोद ढकाल २०७७ असार २० गते ११:४३

-विनोद ढकाल

जब शुक्राचार्यले कठिन तपश्या गरे, महादेव खुशी भएर बरदानका लागि अपिल गर्न पुगे । दैंत्यगुरु शुक्राचार्यले लोकको भलाईका निम्ति मात्र उपयोग गर्ने बचनका साथ संजिवनी बरदान माग गरे । महादेवले उनलाई त्यो ताकत दिए । शुक्राचार्यले त्यो पाउनासाथ देउतालाई पराजित गर्ने कुत्सित मानसिकताको अहंकारमा बढोत्तरी गरे । दैंत्यहरूलाई देउतामाथि आक्रमण गर्न लगाए, देउता पराजित हुन थाले । दैंत्य मर्नासाथ उनलाई जोगाउने संजिवनी शुक्राचार्यसँग थियो ।

यो संकटबाट आजित भएका सबैले भगजान विष्णुको शरणमा पुगे । यसले मानव र देउताको सभ्यता समाप्त हुँदै दैंत्य सभ्यता आउने भएपछि विष्णुले संजिवनी अनन्त नभएको त्यसका लागि अमृत आवश्यक रहेको स्पष्ट पारे । संजिवनीको शक्ति शुक्राचार्यसँग मात्र भएको तर शुक्राचार्य नै मरेपछि दैंत्य सभ्यता कसरी हुन सक्छ ? भनेपछि युग र युगान्तको एउटा परिच्छेदको विश्लेषण आवश्यक भयो । अमृतका लागि सबैले समुद्र मन्थन गरे, अमृत देउताले प्राप्त गरे । ती, युगमा अनन्त रहन पुगेको ग्रन्थमा उल्लेख छन् ।

यो कथा नेपालको अहिलेको राजनीति र नेपाल कम्युनिस्ट पार्टीसँग तुलना र विश्लेषणका आधारमा जोडिन्छ । त्यसअघि सुखद लाग्ने एउटा परिकल्पना पनि गरौं ।

एक दिन त पक्कै नेपालमा स्थायीत्व हुनेछ । सरकार स्थिर रहनेछ । राजनीति होइन, जन–जनको मुखमा कृषिका नयाँ खोज र विकासको बहस प्रमुख बन्नेछ । क्षेप्यास्त्रका नयाँ खोजमा नेपाली वैज्ञानिकहरू विश्व परिवेशसँगको अन्तरसंवादमा हुनेछन् ।

विश्व अर्थतन्त्रको नयाँ आयामका विषयमा नेपाली अर्थशास्त्रीसँग अमेरिकी, चिनियाँ, भारतीय अर्थशास्त्रीले सुझाव लिनेछन् । महामारीको शतकौं ठूलो समाधानको खोजी नेपाली चिकित्सकहरूले गर्नेछन्, औषधी उत्पादन गरी विश्वसमुदायलाई स्वस्थ्य बनाउन नेपाल अग्रसर बन्नेछ । पुस्ताले भविष्यको चिन्ता गर्न छाड्नेछन्, वर्तमानमै नयाँ आविश्कार गरी दुनियाँ चकित बनाउने काम हुनेछ ।

सडकमा कसैको पक्षमा नाराजुलुस गरेर, कसैको विपक्षमा आगो ओकलेर मुलुकको भविष्यले समाधान पाउँदैन । यो नेकपाको मात्र सवाल होइन, यो युगकै प्रश्न भएका कारणले पनि बुद्धिमतापूर्ण हिसाबले समाधानका निम्ति अनेक नेकपाका नेता र कार्यकर्ता यसबेला ‘अभिमन्यु’ बन्न तयार हुनुपर्छ

कोही किम जोङ उनजस्ता विश्वलाई थर्कमान बनाउने शासक छन् भने संवाद र समाधानको मध्यस्तता नेपालले गर्नेछ । अपराध फिटिक्कै हुनेछैन । युरोपले नेपालसँग अधिकार र स्वतन्त्रताका विषयमा पाठ सिक्नेछ । दुनियाँको सबैभन्दा महँगो र विशाल फिल्म उद्योग नेपाल बन्नेछ । ओस्कार अवार्डमा सबैभन्दा बढी लगानी नेपालले गर्नेछ । संयुक्त राष्ट्र संघमा सबैभन्दा ठूलो दाता मुलुक नेपाल हुनेछ ।

नेपालमा जनशक्ति कम भएपछि डाइभर्सिटी भिसाको आवेदन माग गरिनेछ । दक्ष जनशक्तिलाई रेष्टुरेन्टलगायतमा रोजगारी दिने काम हुनेछ । विश्वका आधा जनसंख्यालाई एक बर्ष पाल्न सक्ने अन्न भण्डारन गर्ने सक्षम मुलुक हुनेछ । सियोदेखि गाडीसम्म, नुनदेखि सुनसम्मको ढुवानीकर्ता नेपाल हुनेछ । सडक चिल्ला र सफा हुनेछन् । फाँटहरूमा लहलह खाद्यान्नका बोटहरूको सुन्दरता चम्किनेछ ।

तोरीको फूलको मुल्य हामी निर्धारण गर्नेछौं । गुप्तचर विभाग विश्वकै उत्कृष्ट हुनेछ । प्रहरी अपराध नियन्त्रणका सवालमा विश्वकै नामी र सेना अत्याधुनिक हातहतियारसहितको आधुनिक हुनेछ । नेपाली जनताको करले स्थापित विविध संघसंस्था युरोप अमेरिकासम्मका जनताको उत्थानका निम्ति खट्नेछन् ।

यो वास्तविकता हुनेछ, जो परिकल्पनाका विविध आयाममा सीमित छन् । यसका लागि मुलुकको राजनीति कस्तो हुनुपर्ने छ ? यसको जग कस्तो हुँदामात्र हामी परिकल्पनालाई साकार बनाउन सक्नेछौं ? कुन चिन्तनले हामी यो परिकल्पनाको आकारलाई मूर्त रुप दिन सक्छौं ? यी प्रश्नहरूसँग घोत्लिए परिकल्पनाको एक प्रतिशतमात्र काम गर्न सकियो भने, हामी शतप्रतिशतको बाटोतिर लम्किने पक्कापक्की छ ।

यसका लागि नेकपाले भन्ने गरेको जनवादी केन्द्रीयताको व्यवाहारिक प्रयोग हुनुपर्छ । तर, के नेपाली राजनीति त्यसमा पनि खासगरी नेकपाको अहिलेको मन्थन जनवादी केन्द्रीयताको आकारमा देखिएको छ ? अथवा, नेतावादी केन्द्रीयताको कुत्सित भजनमण्डलीको हुंकार र नेताहरूको विभाजित मानसिकताको केन्द्रविन्दुमा छ ?

नेपालको राजनीतिको यो १२ बर्ष गिरीजा–प्रचण्ड, प्रचण्ड–माधव नेपाल, झलनाथ खनाल–प्रचण्ड, प्रचण्ड–सुशील कोइराला र प्रचण्ड–केपी शर्मा ओलीको मन्थनमा गुज्रिरहेको छ । यो मन्थनले पछिल्लो चुनावपछिको अवस्थामा एक विचारमा दुई पिल्लरको केन्द्रीयतामा परिणत गरेको नाम हो– नेपाल कम्युनिस्ट पार्टी । यसमा जम्मा दुईवटा पिल्लर केपी शर्मा ओली र पुष्पकमल दाहाल, अहिलेका खास हुन् जसको अडानमा देशको भविष्य र भाग्यको लेखाजोखा छ ।

यी दुई पात्र मध्ये राष्ट्रियता र मुलुकको सवालमा ओली युग हुन् । यसअघि कसैले गर्न नसकेको प्रश्न र त्यसको जवाफ दिने ताकत उनैले गरे । अनि, युगान्त प्रचण्ड हुन् । जसले दुई सय ४० बर्षको इतिहासबाट नयाँ इतिहास सुरु गरी त्यसको जीवनका उतारचढावमा केन्द्रीय भूमिकामा उभिइरहेका छन् । अर्को युग आरम्भ गराउने जिम्मा यी दुर्वको हो, जुन परिकल्पनाका आधारका केही विवरण माथि उल्लेख छ ।

नेकपा अहिले जोखिममा छ । आवश्यक अवस्था र परिवेशले टुटफूटमा रहेका कम्युनिस्टले एउटा छातामा संजिवनी त पायो, पुष्पलाल श्रेष्ठको सपनाले संजिवनी पाए पनि यो अनन्त हुने लयमा देखिएन । अहिले विविध कोणमा देखिएका विवाद र अडान अनि मतभेद र वैचारिक द्वेष यसका असरका रुपमा बुझ्नुपर्छ । नेता जनवादी केन्द्रीयताको प्रतिनिधि होइन, आफूलाई कम्युनिस्ट पार्टीका खेमाका निधि (मालिक) ठान्न थाले । केही अवसरका लागि आन्तरिक विभाजनको अभ्यासमा जुटे । यसले किमार्थ पनि कल्पना गरिएका आयाममा नेपाल पुग्नेछैन । त्यो यात्राको एक प्रतिशतमा पनि प्रवेश गर्ने छैन । यसैले अब एउटा युगको अन्तसम्म ओली–प्रचण्डको सहकार्य अनिवार्य छ । यसका लागि नेकपाका असली नेता, कार्यकर्तागणले अमृतको खोजी गर्न सक्नुपर्छ । पक्ष र विपक्षको मन्थले नै समाधान (अमृत) निस्कने भएकाले यसको समाधानको जिम्मा नेकपाजनलाई मात्र छ ।

सडकमा कसैको पक्षमा नाराजुलुस गरेर, कसैको विपक्षमा आगो ओकलेर मुलुकको भविष्यले समाधान पाउँदैन । यो नेकपाको मात्र सवाल होइन, यो युगकै प्रश्न भएका कारणले पनि बुद्धिमतापूर्ण हिसाबले समाधानका निम्ति अनेक नेकपाका नेता र कार्यकर्ता यसबेला ‘अभिमन्यु’ बन्न तयार हुनुपर्छ ।

नेकपाभित्रको यो विवाद वैचारिक होइन त्यसैले आदर्शको नयाँ विन्दु फेला पर्न सक्छ भन्ने भ्रममा नपरौं, यो पद र प्रतिष्ठा (इगो)को प्रश्नको विवाद हो । यो, अहंकार र अडानको मन्थन हो । यसले सहज अवतरण र निकास पाएन बने विनाश हुन्छ ।

यो विनाशले नेकपा सखाप हुँदा केही फरक पर्दैन, नेकपासँग जोडिएको मुलुकको स्थायीत्व र भविष्य अनि अधिक सुनौला परिकल्पना साथसाथ खरानी हुन्छन् । यसकारण, यो खरानी दलेर छिमेकी दासत्वमा आगामी पुस्तालाई गुलाम बनाउने वा अधिकारसम्पन्न ? यो प्रश्नको उत्तर आजको पुस्ताले खोज्नुपर्छ । यसमा निकासको मध्यविन्दु फेला परे युग–युगसम्म ओली–प्रचण्डको इतिहास बन्न सक्नेछ । बन्नुपर्ने पनि यहि हो, अन्यथा…को दूरगामी असरमा आँसु चुहाउनु र धिक्कार्नुको विषय व्याख्या गर्न नसक्नेगरीको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित