शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नलासु पदार्थ खाएर महिलालाई च्याप्प समातेकाे हाेइनः नेकपाका नेता पराजुली

हरि पराजुली २०७७ असार १८ गते ५:४९

हरि पराजुली, संयोजक, अखिल नेपाल किसान महासंघ

सुशील कोइराला प्राधनमन्त्री भएका बेला तत्कालीन एमालेको तर्फबाट हरि पराजुली कृषि मन्त्री थिए । मन्त्री भएका बेला असार १५ गते धान दिवसका अवसरमा एक महिलालाई जबरजस्ती समातेपछि विवादमा आएका थिए । धेरै आलोचना भएपछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । पाँच वर्ष अगाडिको यो घटना असार १५ गतेका दिन सधै सामाजिक सञ्जालमा त्यस बेलाको भिडियो भाइरल हुने गरेको छ । हरि पराजुलीसँग जनता जान्न चाहन्छन् कार्यक्रममा गरिएको कुराकानीको सम्पादित अंश –

कृषि मन्त्रीबाट राजीनामा दिएपछि विगत पाँच वर्षदेखि के गरेर बस्नुभएको छ ?

म पार्टीमा काम गरिरहेको छु । पार्टीले खटाएको कामहरूमा काम गरेको छ । पार्टीको केन्द्रीय सदस्यको हैसियतमा पार्टी जिम्मेवारी पूरा गर्दै छु एकातिर । अर्कोतर्फ अखिल नेपाल किसान महासंघको संयोजक भएर किसानहरूका मुद्धाहरूलाई अगाडि बढाउने, उनीहरूका हकअधिकार निमित्त पैरवी गर्ने कामहरूमा म आफ्नो योग्यता र क्षमताले भ्याएसम्म नेतृत्व गर्दै छु ।

पाँच वर्ष अगाडि मन्त्री भएका बेला एक जना महिलालाई दुर्व्यवहार गरेको सहि हो ?

त्यो कुरा गलत हो । ती आमाले आएर पत्रकार सम्मेलन गरेर भन्नुभयो त्यो भिडियो बनाउने पत्रकार मेरासामु आएर भन्नु पर्‍यो भन्नुभयो । यसरी मान्छेको चरित्र हत्या गर्न पाइन्छ ? भनेर पनि भन्नुभयो ।

त्यस बेलाको वास्तविकता के हो ? धान दिवसको दिन तपाईको लागि कालोदिन हो नि ? असार १५ गतेको काण्डले तपाईले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो नि ?

कालोदिन केही पनि होइन । हल्ला बढी गरिसकेपछि म एउटा राजनीतिकर्मी भएकोले मन्त्री पदबाट राजीनामा दिएको हो । राजीनामा दिएपछि समस्या समधान हुन्छ । सार्वजनिक पद भएको कारणले गर्दा हल्ला गरिएको हो । आम किसानहरू हरेक खेतमा हलीहरूसँग खेतालाहरूसँग असार १५ भनेको हिलो खेल्ने दिन नै हो ।

हिलो खेल्ने दिन त हो । तर, महिलासँग खेल्न दिन त होइन नि ?

महिला, पुरुष सबै खेल्छन् ।

तपाईले महिलालाई च्याप्प समात्नु भयो नि ?

कुनै दुव्र्यवहार होइन । समातेकै होइन । उहाँले आशीर्वाद दिन्छु भन्नुभयो । ल आशीर्वाद दिनुस् आमा भनेको हो । क्यामरामेनले आफ्नो करामत देखाएको हो ।

महिलाप्रति तपाइको मोह र कु–दृष्टि होइन ?

कुनै कु–दृष्टि होइन । कुनै गलत नियत होइन । महिलालाई सम्मान गर्नुपर्छ । म लामो समय माक्र्सवादी अध्ययन गरेर आएको हुँ । साइन्सको विद्यार्थी हुँ । कम्युनिस्ट आन्दोलनमा लागेका हुँ । आज लागेको होइन । ०२९ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यार्थीकालबाट संगठित हुँदै बीएस्सी गरेको मान्छे जागिर नखाएर पूर्णकालीन कार्यकर्ता भएर हिँडेको मान्छे हो ।

हरि पराजुलीले हर्कत गरे भने समाचार बाहिर आयो ?

मिडियाहरूले गरे । मन्त्री भएको बेलामा मिडियामेनहरूका धेरै चाहनाहरू हुन्छन् । उनीहरूका चाहना मन्त्रीहरूले पूरा गर्न सक्दैनन् । कति लिगल हुन्छन् । कति इल्लिगल हुन्छन् । विज्ञापनका नाममा । कहिले केका नाममा । समाचारहरू ब्ल्याकमेलिङ गर्ने पनि हाम्रो देशका मिडियाकर्मीले गर्ने गर्छन् । ब्ल्याकमेलिङ गर्न चाहेका थिए । गर्न नसकेपछि असार १५ को हिलो खेलेकोलाई लिएर बङ्ग्याएर दिइयो ।

हिलो खेल्दा पनि महिलातिर दुष्टि जानुपर्छ र भन्यो ? पुरुषसँग खेलेको भए हुने थिएन र ?

त्यसभन्दा पहिला महिला दिदीबहिनीहरूले खेतमा हिलो छ्यापा छ्याप गरेर मलाई लडाउनुभयो । त्यो दृष्य देखाइएन । जब म नहुउन भनेर आइरहेका बेला एकजना आमाले मन्त्री हेर्न आएको, खै मन्त्री कता गए भनेपछि मैले नै मलाई बाँदर जस्तो बनाएका छन् भनेर आशीर्वाद दिनुस् भनेर म निहुरिएको अनि त्यही निहुरिएको कुरालाई लिएर अभद्र ग¥यो भनेर भनियो । अरु केही पनि होइन ।

निहुरिँदा के गर्नुभयो तपाईले ? तपाईको टाउको कहाँ गएर ठोकियो ?

निहुरिँदा केही पनि गरेको होइन । ल आमा आशीर्वाद दिनुस् भनेको हो । मेरो टाउको ठोक्किएको होइन । तपाईको क्यामराले गरेको हो । महिलामाथि मेरो कुनै गलत नियत छैन ।

त्यो दिन तपाईले कुनै नशालु पदार्थ खाएर जानु भएको थियो ? असार १५ गते आउनेवित्तिकै हरि पराजुलीको नाम जोडिन्छ नि ?

केही पनि खाएको थिएन । मेरो नाम जोड्ने कुरा तपाईहरूले हो । नाम जोडिहाल्नु पर्ने कुन ठूलो कुरा हो र ? तर, मिडियाका साथीहरूले मेरो नाम जोड्नु हुन्छ ।

विवादमा परेर तपाईले मन्त्री पद छाड्नु पर्‍यो नि ?

विवाद त मिडियाले गरेको हो नि । विवाद हामीले गरेको होइन । हरिबोल गजुरेलले गमलामा धान रोप्नु भयो । के बिगार्नुभयो ? मिडियाले गजुरेलको पनि खिल्ली उडाउनुभयो । मिडियालाई के प्राप्त हुँदैन अनि एउटा मन्त्रीको पछाडि लाग्छन् । कानूनमन्त्री शेरबहादुर तामाङले महिलालाई अपमान ग¥यो भनेर मिडियाले राजीनामा दिने गराए । जसले मिडियावालाहरूलाई घाँस हाल्दैन त्यसलाई लखेट्न थाल्छन् । धेरै पत्रकारले पत्रकारको कार्ड देखाएर काठमाडौंमा घर बनाएर बस्ने धेरै छन् । नेपालका कुनै पनि मिडिया हाउस स्वतन्त्र छैनन् ।

नेपालका नेताहरूको नाम महिलासँग जोडिएपछि पद खतरामा पर्छ किन हो ?

पत्रकारले कुरा उठाउँदा सम्वेदनशील विषयबाट उठाउँछन् । लैङ्गिक हिँसाको विषय हो । यस्ता विषय उछाल्दिउँ कि जसमा कसैले पैरवी गर्न सक्दैन । पैरवी गर्न सकेन भने राजीनामा दिने ।

कृष्णबहादुर महराले पनि महिलाका कारण पदबाट राजीनामा दिनु परेको छ नि ?

पदबाट राजीनामा दिनुभयो । फेरि मुद्धा जित्नुभयो । समाचार लेख्ने अनलाइनले पश्चाताप गर्ने कि नगर्ने ? क्षमायाचना गर्नुपर्छ ।

तपाईको मन्त्री पद पनि महिलाका कारण गयो नि ?

मन्त्री गयो । त्यस बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको स्वकीय सचिव अतुल कोइराला हुनुहुन्थ्यो । उहाँलाई सोध्नुस् । अतुलले तीन पटक फोन गरेर तपाईको राजीनामा स्वीकृत हुँदैन भनेर । त्यस बेला पार्टी अध्यक्ष केपी ओलीले पनि कसलाई सोधेर राजीनामा दिनुभयो भनेर भन्नुभएको थियो । बामदेव गौतमले पनि त्यस बेला राजीनामा नदिनुस् भन्नुभएको हो । बामदेव गौतम गृह मन्त्री हुनुन्थ्यो । त्यस बेला संसदमा हाम्रै पार्टीका साथीहरूले हँगामा मच्चाउनुभयो । कांग्रेसका साथीहरूले हाम्रा पार्टीका साथीहरूलाई यस्ता धन्दामा हामी लाग्दैनौँ भनेर जवाफ दिनुभयो ।

११ महिनामा २८ अर्बको चामल आयात गरेका छौँ । यो अवस कसरी आयो ?

५४ लाख मेट्रिक टन चामल नेपालमा उत्पादन भएको छ । नेपाली किसानले मोटा चामल उत्पादन गर्छन् । त्यसलाई सजिलो गरी उत्पादन गर्न सकिन्छ । मोटा चामल धेरै फल्छ । अधिकांश मोटाधान खुला सिमानाका कारण भारत जान्छ । नेपालमा मसिना चामलको खपत बढेको छ । आयात भएको छ ।

तपाईको मन पर्ने नेता बामदेव गौतम होइन ?

हो । सबै नेता पार्टीका मेरा लागि बराबरी हुन् । बामदेव गौतमसँग ०३९ सालदेखि एउटै थालमा खाने, ओछ्यानमा सुत्ने गरेर भूमिगत जीवन बिताएको हुनाले नजिक धेरै भएको छ ।

बामदेव गौतमले तपाईलाई मन्त्री बनाएको हो ?

त्यो त नभनौँ । उहाँले पनि मन्त्री बन्न सहयोग गर्नुभयो । उहाँको सहयोग नभएको भए मन्त्री नै हुने थिएन । त्यस बेलाको पार्टी अध्यक्ष झलनाथ खनाल हो । जो शीर्ष नेता हो त्यसलाई सम्मान गर्नुपर्छ । केपी ओली र प्रचण्ड अहिले हाम्रो शीर्ष नेता हुनुहुन्छ ।

केपी ओलीको सरकार ढाल्न बामदेव गौतम कम्मर कसेर लाग्नुभएको छ नि ?

कसले भन्यो ? बामदेव सांसद हुनुहुन्न । सांसद नभएको मान्छेले कसरी सरकार ढाल्छ ? उपाध्यक्षले सरकार कसरी ढाल्छ ? बिकल्प हरेको हुन्छ । केपी ओली सरकारको बिकल्प छ । बिकल्प रहित संसारमा केही पनि हुँदैन ।

बामदेव गौतम प्रधानन्त्री बन्ने सम्भावना छैन त ?

अहिले तत्काल प्रधानमन्त्री बन्ने सम्भावना छैन । बामदेव गौतम अहिले सांसद नै हुनुहुन्न । प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन । त्यस कारण बामदेव गौतम प्रधानमन्त्री बन्न सक्नु हुन्न ।

प्रतिक्रिया
सम्बन्धित