शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

हाम्रा मामाको खोल्टी-दमेकको पुरानो स्वास्थ्य चौकी

डिल्ली राम अम्माई २०७७ असार १३ गते ७:३०

डिल्ली राम अम्माई

“ए माइला जा,जा,कालापातल पिपल्कोटे जेठानलाई लिएर आइज ! कृष्णे एक हप्ता भयो बिरामी भएको ! पहेलो हुँदै गयो, दिशा पिसाब ओछ्यान मै गर्छ। के दशा लागेका होलान कुन्नि ! ८ बर्षको केटो, यस्तो भयो। छौंडा सौंडा लागेर होकी ?” विसं २०३० /३१ सालतिरको कुरो होला सायद। म थत्ताउरे छँदै नेएँघरे जेठाबाले हाम्रा बालाई अह्राएको हिँजो जस्तै लाग्छ। हाम्रा जयलाल मामालाई बाले लिएर आए। जेठाबाको छोरो कृष्णे निश्लोट बिस्तारामा थियो। “ए ! भान्जालाई त बेगारले थला पारेच। सरिरमा रगतै छैन, नारि मधुरा छन्। खै आँसी ल्याउ त बैनी ? ” मामाले कृष्णेको नारि समात्दै स्वास्थ्य निर्णय सुनाइदिनुभो । जेठियाँले आँसी ल्याउनुभयो र मामालाई दिनुभयो। मामाले पुरानो जंगली औसधिको दोकान फिजार्नु भयो। दुइटा कुन्नि केका जरा खुर्कनु भयो । “३ खुराक, यो दुधसँग सत्तुवा र यो बेगारको दबाई,एक खुराक अहिले ख्वाइहाल ! भोलिबाट बेगारका जुका फाल्न थाल्चन र तिन /चार दिनमा निखार्चन।” मामाले दबाई पनि फुक्नु भयो कृष्णेलाई पनि फुक्नु भयो। मामाले दिएको एक खुराक दबाई भाइलाई जेठाबाले बल पुर्वक ख्वाएको आनन्द दाइले बिर्सनुभयोकी खै ? मैले अझै मजाले सम्झन्छु।

भाइको उपचार पछि मामा हाम्रा घराँ पनि आउनु भयो। आँवईसंग र आमासँग केहीबेर गफिनु भयो । कान्छियाँले चिया बनाउनु भो, चिया पिउन धन्सारमा उक्लनु भयो। केहि बेरपछि हाम्रा घराँ झनु भयो। अलिकति मकैका फुला, मरोटिको छोप अनि बाक्लो महिले चित्त बुझाएर कालापातालतिर सोझिनुभायो।

न त हाम्रा मामाले उपचारको कुनै शुल्क लिनुभयो नत मेजमानी खानु भयो। मान्छे बचाउन, पहेलिदै गएको भान्जाको जिबनलाई हरियो बनाउन मामा आउनु भयो। हामी राति अबेरसम्म नयेघरे जेठाबाको घर थुप्रियौ। भाई धेरै छट्पटायो। सबैले राम राम भनियो। भाई रातको सन्नाटा बीच धेरै उचालिनी पछारिनी गर्यो। सबै चिन्तित थिए। साहुँ परेको के गर्नु, खै परान जान साह्रै गाह्रो भयो। जेठाबा यसो भन्दै रोए, हाम्री आमा, जेठी आमा, कान्छी आमा, कान्छाबा सबै सुक्सुकाए। आनन्द दाई डल्ली दिदी, देबी बैनी, रामेदाई सबै टुँयौला भयौँ। त्यो बेला म रोएँ कि रोइन बिर्शें। रामेदाईले भन्नु भयो, “मामाले बेगारले हो, अलिअलि लागेको पनि रहिछ। भान्जालाई केहि हुन्न भन्नु भैच्च, न आत्तिनु जेठाबा !” रामे दाईको मामा प्रतिको अद्भुत बिस्वास देखेर म गमक्क परें।

हाम्रा मामा कति जाति, सित्तैमा बिरामीलाई बचाउनु हुन्छ। न आएको ज्याला लिनुहुन्छ न भाडा ! उहाँको अत्यान्त सम्मान छ दमेक भरि ! दमेक भरि मात्रै हैन बाग्लुंगको दक्षिणी भेगमा। म हाम्रा मामाको कर्मलाई त्यो बेला के कति सम्मान गर्थेँ थाह भएन। तर अचेल ति महाबैध्य मामालाई देख्दा प्रेरणा प्राण बनेर सरिरभरि दौडिन खोज्छ।

भोलि पल्ट नएँघरे कृष्ण भाइले धेरै जुका फाल्यो। तिन दिन सम्म गुहु हगेन, मुठाका मुठा जुका फाल्यो। भाई दिनकादिन बौरिंदै आयो ! अर्को हप्ता पछि त केटो तन्दुरुस्त भयो।
ऊ बेलै दोकाने कान्छा बाले भनेको सुनेको,” पिपलकोटे जेठानले धेरैको परान बचाउनु भयो। भैसीले पाडा फाल्न नसकेर बोलाउने उहाँलाई हो।मान्छे सुत्केरी हुन नसकेपछि पनि उहाँले नै हो आमा र बच्चा दुईतिर बनाउने। हाम्रा मामा झार फुके लामा पनि हुनुहुन्थ्यो , गाइनोक्लोजिष्ट पनि हुनुहुन्थ्यो , हाडजोर्नीका डाक्टर पनि हुनुहुन्थ्यो र हाउस डाक्टर पनि हुनुहुन्थ्यो। जे होस् त्योबेलाका हाम्रा पिपल्कोटे डाक्टर दमेक सिनियर डाक्टर जयलाल सापकोटा अहिले ९५ बर्षको भैसक्नु भएको छ। चितवनको बिरेन्द्र नगर ६ ग्रुपमा बस्नु हुन्छ। आफ्ना पुराना दिनहरु सम्झेर भन्नु हुन्छ,’ मेरो जमानामा मैले सयौँ घरमा खुशी ल्याइदिन सहयोग गरेँ र हजारौँ बस्तुभाउको प्राण बचाएँ। मैले धेर शिशुहरूलाई औषधि मुलोबाट सन्चो बनाएको छु। मैले दुईतिर बनाएका बाबुहरू अझै जिउंदै छन्। त्यसैले बिगतको कर्म प्रति कुनै पछुतो छैन। ‘ पुराना महान डाक्टरको त्यहि निशुल्क परोपकार सम्झेर होला बाग्लुंगबाट तराइ झर्ने जोकोही पनि उहाँलाई भेट्न बिरेन्द्र नगर सिक्स ग्रुप पुगेकै हुन्छन।

हाम्रा मामाले गरेको धेरै परोपकार मैले आँखैले देखेको हुँ। ३२ साल तिर मामा कालापातालबाट लाम्खोरिए सर्नु भएको थियो। मैले मामाको करामत आँफै देखेको अर्को घटना ० ३३ साल तिरको हो। आँटी पुर्नेपुर्ने बेलामा सुन्तालाचौरको स्कुल पल्ट्यो। मलाई सम्झना छ,त्यो बर्षको बतासे झरी धुन्धान थियो। पैह्राले धेरै हिनामिना गर्यो। त्यहि बर्खा हो,ढुंगामुनि मुख्य पुसाजुको भैँसीले पाडो फाल्न सकेन। पुसाजुले हाम्रा पिपल्कोटे मामालाई तुरुन्त लिन पठाए। केहि बेरमा मामा आउनुहोस। मामाले पाडो थुत्नु भयो। दुईतिर मुख भएको पाडो जन्म्यो। पाडो पछि मर्यो क्यारे ! स्याना केटारीले पाडा थुतेको वा भैँसी ब्याएको हेर्न हुन्न भनेर हामीलाई नजिक पर्न दिएनन। तै पनि मामाले थुतेपछिका गंस्सुवा जुम्लेहा पाडा देख्यौँ।

अर्को सम्झना हो हाम्रै घरमा गौबुजो फर्काउने भैँसी थियो ! भैंसी बस्यो कि सत्यनास !ह्वात्तै भण्डार फर्काउने, अनि मामा नभई नहुने। मामालाई त्यसपछि १५ दिन तारिक लाग्यो। बाले भन्नु हुन्थ्यो,’हाम्रा मामालाई त्यो बेला निशुल्क सास्ती थियो।’ मामालाई लिन सेरादेखी मध्यरातमा लिन आउथे, रोपाइको दिन मामा लिन बलेवा र फलेबासबाट समेत मान्छे आइपुग्थे , दमेकको त मामाले दवाई नबाडेको सायद घर नहोला। तर मामाले कहिल्यै झिजो मान्नु भएन, ढिलो गर्नु भएन,उपचारमा जातिय विभेद गर्नु भएन र आर्थिक अवस्था पनि हेर्नु भएन । दमेकमा महान हुनुहुन्थ्यो हाम्रा मामा, दमेकीका प्राण हुनुहुन्थ्यो हाम्रा मामा र स्वास्थ्य संकट मोचन हुनुहुन्थ्यो हाम्रा मामा। एकै शब्दमा भन्दा दमेकका देवता हुनुहुन्थ्यो हाम्रा मामा।

प्रतिक्रिया
सम्बन्धित