
काठमाडौं, १० असार । राजनीतिको मैदानमा, चुनावी रणभूमीमा उत्रिएर पार्टीको खास जिम्मेवारी लिएर ठूल्ठूला भाषण गर्ने मात्र नेत्री हुन्छन् ? नेत्रीको सही अर्थ हो, नेतृत्व लिनु । बाँकी त विशेषण जोडिएका जिम्मेवारी न हुन् ।
गंगा दाहाल, राजनीतिक व्यक्तित्वले नचिनेको नामै होइन । आम जनमानसमा पनि बेलामौका चर्चाको नाम हो । डोनाल्ड म्याग ग्याननले भनेका छन्– नेतृत्व भनेको जिम्मेवारी, काम हो, कुनै ओहदा होइन । यही अर्थमा उनी ‘नेपथ्य’की नेत्री हुन् ।
उनलाई ओहदा भन्दा पनि जिम्मेवारीको भारी छ । जसलाई भारी मानेकी छैनन्, दायित्वका हिसाबले पूरा गरिरहेकी छन् ।

उनी राजनीतिकसँग जोडिएकी छन्– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिवका रुपमा । तर, त्यो भन्दा ठूलो महत्वचाहिँ परिवारका अनेक जिम्मेवारीको नेतृत्व गरेकी छन् । उनी छोरी हुन् राजनीतिक जीवनमा अति व्यस्त प्रचण्ड र शारिरीक रुपमा अहिले कमजोर रहेकी सीता दाहालकी ।

आमाको स्वास्थ्यसम्बन्धी हरेक उपचारीय जिम्मेवारी उनले नै सम्हालेकी छन् । अनि, बाबुको राजनीतिक भेटघाट, तारतम्य र दैनिकी पनि ।
‘उहाँले निक्कै मिहेनतका साथ हरेक जिम्मेवारीलाई सम्हाल्नु भएको छ । समयको व्यवस्थापन सही ढंगले पूरा गर्न सिकाईको अध्याय जस्तो लाग्छ’, गंगालाई चिन्नेहरूको टिप्पणी छ,‘सहजता, सरलता र उहाँका गहना हुन् ।’
आमा सीताको उपचारका निम्ति सिंगापुरदेखि अमेरिकासम्म मात्र पुगिनन् । घरमा उनको स्वास्थ्योपचारका निम्ति सुझाइएका अनेक डाक्टरी सल्लाहलाई इमान्दारीताका साथ कार्यान्वयन गरिरहेकी छन् । जसका कारण सीताको स्वास्थ्यमा क्रमिक सुधार हुने उपक्रम चलिरहेको छ ।

दुई सन्तान भएकाले उनी आमाको जिम्मेवारीतामा पनि उत्तिकै बाँधिएकी छन् । आमाको जिम्मेवारीलाई पनि सोही शैलीमा व्यवस्थापन गर्नमा कुनै कमजोरी नराखेको चिन्नेहरूको दाबी छ । यो दाबीको प्रमाण त उनकी छोरी स्मिता दाहाल पनि हुन्, जो कुशल गायिका छिन् । अध्ययनमा तेज पनि । त्यसैले त आमाबारे उनले लेखेकी छन्,‘तपाई संसारकी उत्कृष्ट आमा, तपाईका छोरीहरूले जून जत्तिकै माया गर्छन् ।’
गंगाले राजनीतिक रुपमा बाबुको छायाँ बनेर व्यवस्थापकीय प्रारुपलाई सम्हालेकी छन् । त्यसैले त नेकपाभित्र गंगा एउटा फरक आयाम भएकी नेपथ्यकी नेत्री हुन् । जसले राजनीतिक प्रत्यक्ष सहभागीता होइन, प्रचण्डको परोक्ष सहयोगीको जिम्मेवारीलाई अँगाल्ने हिम्मत राखिन् ।
प्रचण्ड परिवारमा छोरीमा कान्छी हुन् तर जिम्मेवारी र लगनमा अब्बल छिन्, गंगा । यसकारण पनि नेकपाका कतिपय युवा नेता भन्छन्,‘नेत्री हुनु त गंगा दाहाल जस्तो ।’











प्रतिक्रिया