बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेपाली अमेरिकी सामुदायिकको प्रथम वार्षिक उत्सव सम्पन्न

दैनिक नेपाल २०७७ असार १० गते १०:२३

अमेरिका । नेपाली अमेरिकी सामुदायिक केन्द्र (न्याक)ले आफ्नो प्रथम वार्षिकोत्सवलाई आध्यात्मिक पूजा आराधना साथ भब्य रुपमा मनाएको छ ।

न्याकको वार्षिक उत्सव मनाउन गत आईतबार विहान मनासस स्थित न्याकको नयाॅ खरिद गरिएको भवनको प्राङ्गणमा पंडितगण र न्याकका अभियन्ताहरुद्वारा विधिपूर्व भगवान र देवीदेवताहरुको पूजा आराधना गरिएको थियो ।

सो पूजा अर्चनामा न्याकको उन्नति, प्रगति, यसका सदस्यहरुको सुस्वास्थ्य, समुन्नति, समुदायमा बृहत्तर एकता रहोस साथै यो महामारीमा समाज र संसारले कुनै क्षति विना छिटो मुक्ति पाओस भन्ने कामना गर्दै गुरूहरुले मन्त्र उच्चारण गर्नु भएको थियो ।

त्यस्तै गरि आइतबार वेलुका कोभिड १९ महामारीको कारण परोक्ष अङ्कीय दृश्य (भर्चुयल) माध्यमबाट मनाइएको थियो । प्रस्तुतकर्ताहरुले सामुदायिक केन्द्रले अहिले सम्म गरेका भवन खरीद लगायतका प्रगतिहरु,मनाससमा खरिद गरिएको सामुदायिक भवनको जिर्णोद्धारको प्रगति विवरण,संस्थाको हालसम्मको आर्थिक विवरण,न्याकमा बालसदस्यहरुको विस्तार,भावि आर्थिक योजनाहरु साथै कोभिड-१९ को सन्दर्भमा स्थानीय समुदायलाई सहयोग पुर्याउन भइरहेका गतिविधिहरुका बारेमा संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।

छोटो समयमा पनि उल्लेख्य आर्थिक संकलन गरी सामुदायिक भवन खरीद गर्न सक्षम भएकोमा सप्ताह महापुराण संचालक, दाता एवं स्वयंसेवकहरु सवैको उच्च प्रशंसा गरिएको थियो ।

अहिले न्याकको बैक खातामा १ लाख ४४ हजार मौज्दात रहेको, मनाससको भवन खरिदमा १७ लाख ५ हजार खर्च भएको,चन्दादाताले बोलेको मध्य ६ लाख २९ हजार उठ्न बाॅकी रहेको र मरम्मत सम्भारको लागि विभिन्न फेजमा ७ लाख देखि १५ लाख सम्म लाग्न सक्ने हिसाव किताव र अनुमानित आंकडा पनि सार्वजनिक गरिएको थियो ।

कोभिडको समयमा न्याकले ३ वटा सिधा सम्पर्क (हटलाईन)खोलेर समुदायमा चिकित्सा (मेडिकल)मद्धत मनोवैज्ञानिक मद्दत र सामाजिक-आर्थिक मद्दत गरेको र समुदायका २८ जनालाई प्रत्यक्ष र अरु धेरैलाई अप्रत्यक्षरुपमा सहयोग पुर्याएको जानकारी पनि प्रस्तुतकर्ताले जानकारी दिनु भयो ।

हाल न्याकमा १५० जना कनिष्ठ (जुनियर) सदस्यहरु रहेको,५०० डलर सम्म रकम १८ बर्ष नपुग्दै बुझाएमा कनिष्ट आजीवन सदस्य बन्न सकिने भएकोले समुदायका सवै अभिभावकहरुलाई आफ्ना बालबालिकालाई कनिष्ट आजीवन सदस्य (जुनियर)सदस्य बन्नाउन प्रोत्साहन दिन अनुरोध पनि गरियो ।

प्रतिक्रिया
सम्बन्धित