शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रहरी प्रधान कार्यालयको त्यो ‘रतन्धो’ कुर्सी र अन्धो पत्रकारिता

विनोद ढकाल २०७७ असार ९ गते १०:२३

-विनोद ढकाल

पत्रकारिताभित्रको अहम् हतियार हो, प्रश्न । विषयबस्तुमाथिका प्रश्नको ‘क्रोनोलोजी’ आफ्नै हुन्छ, पत्रकारितामा । पत्रकारको नियतले प्रश्नको मर्म मर्न सक्छ, पत्रकारिताको लय मर्नु हुँदैन ।

फेरि घटनाक्रमको ‘क्रोनोलोजी’ पनि हुन्छ । यी अनेक विषयबस्तुका आयाममा पत्रकारिताको भूमिका निर्णायक कहिल्यै हुँदैन । निर्णयको सहायक चाहिँ सँधै हुन्छन् । किनभने, यी माध्यम हुन् । साधन हुन् । साध्य होइनन् । साध्य त फेरि राज्यका विविध जिम्मेवारी तोकिएका निकाय नै हुन्छन् ।

तर पत्रकारिताको निर्भिक सिद्धान्त छ । यसैले त भ्रष्ट कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका भयो भने मानिस आजभोली पत्रकारिताको शरणमा गुनासाका पोका बोकेर पुगिरहेको हुन्छ ।

यो दृष्टान्तका उदाहरण इन्टरनेटका अनेक पाना पल्टाउँदा, सामाजिक सञ्जालमा आएका कथाहरूको गहिराईमा पस्दा प्रष्ट हुन सकिन्छ । समाजको एउटा फरक दृश्य त्यहाँभित्र देखिन्छ ।

जिम्मेवारी र पदीय दायित्वको विषयमा अचेल पत्रकारिता निक्कै चासोपूर्ण हिसाबले अगाडि देखिन्छ । प्रतिनिधिको कामको विषयमा भन्दा पनि पात्रको विषयमा कलमहरूले केन्द्र तोक्न थालेको छन् । पात्र पनि विषय बन्छन् तर त्यो उसको जिम्मेवारीको भूमिकाका निम्ति होइन, उसको प्रतिनिधित्व भन्दा फरक विशेषताका निम्ति बन्न सक्छ ।

जनताको चासोको विषय भएकैले नक्सालको ठूलो क्षेत्रफलमा रहेको प्रहरी प्रधान कार्यालय, त्यस कार्यालयका प्रमुखका विषयमा समाचार बन्छन् । यो समाचार, अन्तरवार्ता र विषयबस्तु बन्नुको खास कारण तीन करोड नेपालीको सुरक्षासँग जोडिको पाटो हुँदै हो, कम्तिमा ७५ हजार जनशक्तिको परोक्ष प्रश्नोत्तर पनि हुन्छ ।

अब केही प्रसङ्गका आलोकमा उभिएर प्रधान कार्यालय, त्यसको नेतृत्व गरेका व्यक्तित्वका पहिले र अहिलेका एउटै फोरममा आएका भनाईको सारमाथि टिप्पणी गरौं ।

२९ माघ २०७६ मा जब प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली प्रधान कार्यालयको कुर्सीको सीमित समयको जिम्मेवारीका निम्ति पुगे । त्यहि दिन उनले एउटा पत्रिकाको अनलाइन संस्करणमा भनेका थिए– प्रहरीमा भएको अस्वस्थ्य स्पर्धालाई रोक्छु ।

विवरणहरूमा आउने विषय र त्यहाँ पुग्ने अर्को पात्रका निम्ति देखिने सतहको चर्चा र मिडियाको पर्चाबाजी पनि भयानक देखिन्छ । मानौं त्यो आकर्षक ‘लट्री’ हो । यसकारण पनि त्यो रतन्धोयुक्त हो की त्यहाँ पुग्नकै लागि कार्यपालिकाको जिम्मामा बसेका अनेकथरी पात्र जोडिन्छन्, न्यायालयका ढोकाका विषय जोडिन्छन् । जिम्मेवारीता र योग्यताको विषय गौण हुँदा जयबहादुर चन्दहरूको नियती पनि देखिन्छ

उनले बहुचर्चित बनेको निर्मला पन्त बलात्कार र हत्या तथा हाइप्रोफाइल हत्या प्रकरणका निम्ति भनेका थिए,‘लामो समयदेखि अनुसन्धान चलिरहेका हत्याका घटना सल्ट्याउने उच्चतम प्रयास हुन्छ । कुनै पनि घटनामा यति समयभित्र अनुसन्धान सकिन्छ भनेर समय तोक्न सकिँदैन । अनुसन्धान टाइम तोकेर हुने कुरा हैन तर, प्रहरीले उच्चतम प्रयास गर्दै बाँकी रहेका अनुसन्धानलाई निष्कर्षमा पु¥याउन कुनै कसर छाड्दैन । मेरो काँधमा जिम्मेवारी आएसँगै मैले गर्नुपर्ने काममा कुनै सम्झौता गर्दिन ।’

अस्वस्थ्य स्पर्धाको विषयलाई आम टिप्पणी गर्नै पर्दैन, उनको पालामा भएका साधारण इन्स्पेक्टर बढुवाको विषयमा समाचारहरू आए– प्रहरीका हाकिमका ड्राइभर, सचिव, हाइप्रोफाइल मानिसका घरमा काम गर्नेको बढुवा भयो, नियमित र कर्मठ पहुँच नभएकाको बढुवा हुन सकेन । यसभित्रका यथार्थ, कारण र दबाबका विषयमा उनी आफैं घोत्लिऊन् ।

अर्को विषय हाइप्रोफाइल हत्यामा उनले फाइल खोले या खोलेनन् भन्ने नै अन्यौलमा छ । बहुचर्चित निर्मला पन्त हत्या र बलात्कारका विषयमा निकास दिने भनक यो आलेख तयार पार्दासम्म देखिएको छैन ।

मिडियाका नजरमा प्रहरी प्रमुखलाई केन्द्रविन्दुमा राखेको विषयलाई नजरअन्दाज नगरी यत्तिबेला जायज प्रश्न गर्ने बेला छ– त्यसबेला अनुसन्धान अधिकारी नै रहेका ज्ञवाली यतिबेला प्रहरी प्रमुख हुन् । उनले देखेका, भेटेका तथ्यको आधारमा यस प्रकरणलाई किनारा लगाउनु पर्दैन ? यो प्रश्न उनका लागि जायज प्रश्न बन्दैन ? यो प्रश्न त उनकै अभिव्यक्तिलाई स्मरण गराउन सक्ने झटारो मात्र पनि बन्न सक्छ ।

यी विषयका अन्तरंग बहस र तर्क धेरै हुन सक्छन् । प्रश्नहरू अझ छन् । यसमा मिडियाको भूमिका कुन कोणबाट बलियो वा कमजोर भयो भन्ने सन्दर्भलाई पनि स्पष्टताका साथ राख्नुपर्छ ।

७ असार २०७७ कै उही पत्रिकाको अनलाइन संस्करणमा आईजी ज्ञवालीको अन्तरवार्ता छ । २३ वटा प्रश्नमा बाँधेर विचार हुत्याउने प्रयास गरेको पाइयो । प्रश्नका क्रोनोलोजीहरू यो अन्तरवार्तालाई मात्र नियाँलेर बुझ्ने आलेखको अभिप्राय होइन ।

उसले यसअघिका आईजी सर्वेन्द्र खनालको कार्यकालमा संगठनभित्र उठाएका अनेक विषयको आयाम र प्रश्नहरूको उत्तर भेट्टायो ? सुधार भएको ‘फलोअप’ दिन सक्यो सकेन ? वा कुनै अर्को विन्दुको प्रस्तुतीमा उभियो भन्ने नै हो । अथवा आईजी ज्ञवालीकै अन्तरवार्तामा सोधिएका प्रश्नका समाधान वा प्रक्रियाहरूको विषय त पाठकले खोज्ला । सिद्धान्तले पनि त्यहि भन्छ ।

कोरोना भाइरस महामारीसहित विविध विषयमा प्रश्नहरु सोध्ने कोशिश गरिएको छ । तर, प्रमुख विषयको सन्दर्भ भेट्टाउन मुस्किल भयो । पत्रकारिता अपडेटेड हुनुपर्छ यहाँ त प्रश्नहरू ‘कन्टेक्स्ट’सँग जोडिएका तर आउटडेटेड जस्तो पाइन्छ ।

(यो एउटा मिडियामा आएको विषयबस्तुलाई सन्दर्भ सामग्रीका निम्ति राखिएको हो, यो प्रसङ्ग कोही व्यक्ति विशेषसँग सरोकार राख्दैन । यो नेपाली पत्रकारिताको अहिलेको चरित्रको सन्दर्भका लागि उल्लेख हो ।)

प्रश्नहरू निक्कै भयानक हुन्छन्, पत्रकारिताका लागि । एउटा मिडिया, पत्रकारका लागि प्रश्नहरू नै महत्व र जिम्मेवार हुन्छन् । यत्ति स्मरण गराउने प्रयास हो ।

पत्रकारिताले चिन्ने संगठन नै भएको हुनाले पात्रका आधारमा प्रश्नको ‘क्वालिटी’मा कमजोरी बन्नु हुन्न । यो मात्रै भनिरहेको छैन । भोली आउने आईजीका लागि पनि पत्रकारिताको प्रश्नको क्वालिटी खस्किनु अस्वभाविक पत्रकारिता हुन्छ ।

केही अपवादबाहेक सँधै विवादको घेराबन्दीमा पर्ने प्रहरी प्रधान कार्यालयको प्रमुखको ‘कुर्सी’ रतन्धो लागेको जस्तो देखिन थालेको छ । विवरणहरूमा आउने विषय र त्यहाँ पुग्ने अर्को पात्रका निम्ति देखिने सतहको चर्चा र मिडियाको पर्चाबाजी पनि भयानक देखिन्छ । मानौं त्यो आकर्षक ‘लट्री’ हो । यसकारण पनि त्यो रतन्धोयुक्त हो की त्यहाँ पुग्नकै लागि कार्यपालिकाको जिम्मामा बसेका अनेकथरी पात्र जोडिन्छन्, न्यायालयका ढोकाका विषय जोडिन्छन् । जिम्मेवारीता र योग्यताको विषय गौण हुँदा जयबहादुर चन्दहरूको नियती पनि देखिन्छ ।

यहि महत्वकांक्षा र नियतीको फेरोमा पत्रकारिता ढल्किएको छ । पक्षधरता भनेको मुद्दा, कानुनी मान्यता, मानवअधिकारको विषय, क्वालिटीको विविधताका विषयमा बहस भएको देखिँदैन । बस, अन्धो यात्रामा निस्कन्छ कलम ।

समग्रता एउटा अहम् विन्दु हो । त्यसैले मध्यविन्दुबाट नै विश्लेषण हुनुपर्छ भन्ने मानक कहिले बन्ला पत्रकारिता ? यो पनि प्रश्न हुन्छ ।

रङहरुको सम्मान गर । यसमा यति धेरै सुख र सन्तोष छन् कि जसलाई देख्न नसक्नेहरूले उपभोग गर्न सक्तैनन् । पेशा, त्यसको नेतृत्व र व्यावसायीकता पनि रङहरूकै विविधताको एउटा पाटो हो ।

पत्रकारले यसलाई बुझौं अनि केही दिनमा घर जाँदै गर्दा जिम्मेवारीको त्यो सुख आईजी ज्ञवालीले उपभोग गरेका छन् या छैनन् ? यी प्रश्नहरूको मनोवादमा उनी आफैं अलमलिने अवस्था संगठनमा छाड्दैछन् । यो अलमलबाट उनले पार पाउने थिए, विवेक प्रयोग गर्न कहीँ कमजोरी भएको महशुस उनले गर्ने नै छन् । गरेनन् भने ‘आत्मरती’को उन्मादमा उनको बहिर्गमनको व्याख्या हुनेछ, निश्चय नै । उनको सेवा निवृत्त यात्रा संगठनले स्मरणको कसीमा राख्ने हुनुपर्छ भन्ने मान्यता मुख्य हो । यहि आउने पुस्ताका लागि नजिर बन्न सक्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित