शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एक कदम पछाडि सरेका प्रचण्ड

शान्त देखिएको बाज ठूलो राजनीतिक उडानको तयारीमा हुन सक्छ

विनोद ढकाल २०७७ असार ३ गते १३:२९

-विनोद ढकाल

धेरैको मनमा खड्किएको, अलमलमा परेको र बुझ्नलाई कौतुहलता भएको विषय बनिरहेका छन्– प्रचण्ड ।

एमसीसी प्रकरणमा नेकपाभित्रको आन्तरिक राजनीतिमा यति धेरै बहस हुँदा आधिकारीक र आक्रामक नदेखिएका तर बैठकहरूमा उपस्थित भएका प्रचण्डको मौनताको कारण के होला ? यहि प्रश्न पनि एउटा बहस बनिरहेको छ, सतहमा ।

भारतसँगको अहिलेको सम्बन्ध, सांसद अपहरण प्रकरणदेखि सदनमा देखिएका अनेक परिदृश्यमा पनि प्रचण्डको मौनताले कारण खोजीरहेको थियो । लामो ग्यापबीचमा उनले सदनमा गरेको भाषणमा पनि त्यो तेज अरुबेलाको जस्तो पटक्कै देखिएको थिएन ।

प्रचण्ड एक कदम पछाडि छन् । अरु, अगाडि बढ्ने दौडधुपमा लागिरहेका छन् । यसको खास कारणमाथि स्वभाविक मन्थन भइ नै रहेको छ ।

धमिलो समय छ । यसमा पौडने अनेक पात्रहरू प्रकरणका हिसाबले पर्दा अगाडि देखिएकै छन् । महेश बस्नेतदेखि गोकुल बास्कोटा, युवराज खतिवडादेखि शिवमाया तुम्बाहाम्फेसम्म अलिक सक्रिय छन् ।

यीनका आफ्नै कारण र अर्थ हुन सक्छन् । तर देशको अवस्था र राजनीतिक प्रणालीभित्रका कयन प्रश्नोत्तर खोजीरहेको छ, जनताले । सडकमा राँके जुलुसमा देखिएको गणतन्त्रको परस्पर विरोधी शक्तिको सक्रियता, विभाजित परम्परावादी शक्तिको एकीकरण अर्कातिरका फरक इन्डिकेटर हुन् ।

प्रणालीको जीवन, यसको आयु कति समयसम्म छ ? यो आयुलाई कसरी बढाउन सकिएला ? अब कसो गर्ने होला ? यो प्रश्न पनि अहम् बनिरहेको छ । यो परिदृश्यहरूको संश्लेषण गरे पनि प्रचण्ड मौन छन् । कारण हुन सक्छ ।

भनिन्छ नि, वक्तव्यमा भन्दा पनि मौनतामा अनेक कारणहरू जीवित हुन्छन् । अब प्रणालीको निरन्तरता आदर्शवाद, राष्ट्रवादको ट्रयाकमा एकातिर र कोरोना भाइरसका प्रभावले दिएको दुखान्तमा चुप लागेको सरकारविरोधी अर्कातिर पनि चलिरहेको छ । प्रणाली यसैमा पिसिएको मासको दाल जस्तो छ, एकातिर सेतो बोक्रा कालो ।

प्रणाली के होला ? ‘राष्ट्रवाद’को नाराले मात्र यो पूरा हुन सक्ला ? व्यक्तित्वको प्रायोजित प्रचारमा बलियो बन्ला ? यो पपुलिष्ट बन्ने एउटा आधार मात्रै हो भन्ने त राजेन्द्र महतोले सदनमा गरेको भाषणले पुष्टि गरेको छ । अघिल्लो कार्यकालमा भैरहवामा मधेस आन्दोलनको नेतृत्व गरी सीमामा धर्ना बसेका महतोलाई सहीनसक्नु गाली गर्नेको लर्को सानो थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताको हाते साङ्लो आन्दोलनलाई माखे साङ्लो भनिँदिँदा महतोले कडा आलोचना गरे । ओलीका समर्थकले उनलाई एक निमेषमा अङ्गीकृत, भारतीय नागरिक के–के बनाए ? धेरै भएको छैन ।

अहिले सदनमा सबैभन्दा राष्ट्रवादी भाषण गरेका महतोले प्रश्न गरे– राष्ट्रघातीलाई, देश बेचुवालाई टुँडीखेलमा झुन्ड्याउनु पर्दैन ? उनी अहिले देशका सबैभन्दा सच्चा राष्ट्रवादी भएका छन्, तिनै ओली समर्थक माझ धेरैजसो ।

यो प्रसङ्गलाई यसकारण कोट्याउन आवश्यक थियो कि नेपाली जनताको मनोविज्ञान क्षणभरमा परिवर्तन हुन्छ । यहि मनोविज्ञानमा राजनीतिज्ञले खेलिदिन्छ । केपी ओली प्रधानमन्त्री छन् । हिजो शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेको महाकाली सन्धिका खरो समर्थक । प्रधानमन्त्री ओलीले अहिले देखाएको हिम्मतको समर्थन गर्दागर्दै, एउटा प्रश्न पनि छ– के सदनमा ओलीले महाकाली सन्धि गलत थियो भन्ने तर्क प्रस्तुत गर्लान् ? त्यो सन्धिमा तत्कालिन एमालेको विभाजनको एक कारक आफू पनि भएको भूल मान्लान् ?

जनताको आवेश, आवेग र मनोविज्ञानभित्र राजनीतिक नाफा नोक्शानको हिसाबकिताब बालुवाटार वा सिंहदरबारमा हुन सक्ला । तर यो निक्कै डरलाग्दो हतियार हो, प्रयोगका निम्ति । यहि प्रयोगको उपज हो– गणतन्त्र । यसलाई सही दिशामा प्रयोग गरे सही परिणाम र गलत गरे नराम्रो नतिजा आउँछ भन्ने भुक्तभोगी छन्, मुलुकबासी ।

हाँसको जस्तो डाँको छाड्ने होइन, चीलको जस्तो उडान भर्ने काम गर । नेपाली राजनीतिक आकाशमा प्रचण्ड विचारले, क्षमता र हिम्मतले भरेको उडानबाट मुलुक पछाडि फर्किन सक्तैन, धमिलो पानी देखेर हाँसहरूका आवाज क्षणिक समयका लागि सुनिनु नौलो कथा होइन

अब, प्रचण्डको प्रसङ्गसँग घुलन हुँदा यो प्रयोगको प्रभाव खुट्याउन सजिलो हुन्छ ।

प्रचण्डले नेतृत्व गरेको तत्कालिन नेकपा माओवादीको विविध मोर्चाभित्र कस्सिएका जो कोही (सहिद, वेपत्ता वा अरु कोही)भित्र उत्पीडनको आवेश, आवेगको जलजला थियो । त्यो मनोविज्ञानकै पृष्ठभूमीमा प्रचण्डहरूले गणतन्त्रको द्वार खोल्ने सफलता पाए । जनताले पत्याइदिए । यो सरकार गठन पूर्वसम्म गणतन्त्रको अर्को दशक सुरु हुँदै गर्दा प्रचण्ड फ्रन्टलाइनमा, एक कदम अगाडि थिए । सरकारका केही बर्ष बितेपछि अहिले उनी एक कदम पछाडि छन् । यसका कारण खुट्याउने, विश्लेषण गर्ने कोशिश हुन्छ, यहाँ ।

युगै परिवर्तनको त्यो चक्रलाई सबै कोणबाट, ओल्टाई पल्टाई हेर्दा नेतृत्वमा एउटै मुहार देखिन्छ, देखिनुपर्छ– प्रचण्ड । गणतन्त्रको जस सबैले लिए पनि त्यसको नेतृत्व र समयचक्रलाई त्यहि विन्दुमा उभ्याउने ऐनामा हरेक पटक ‘प्रचण्ड’ भेटिन्छन् । यो कुनै छविलाल अथवा पुष्पकमलको नाममा नदेखिन सक्छ । तर प्रचण्ड नाम धुमिल, मधुरो देखिँदैन, गणतन्त्रको पृष्ठभूमीमा यो नाम चम्किलो नै छ ।

नेपाल कम्युनिस्ट पार्टी गठन र सरकार सञ्चालनका काममा प्रचण्ड सक्रिय देखिँदैनन् । विविध मुद्दामा उनको मौनता देखिन्छ । प्रचण्ड स्वभाव, राजनीतिक परिवेशमा यति धेरै मौन बस्ने वा बस्न सक्ने प्रवित्तिका नेता नै होइनन् ।

विर्सन हुँदैन– नेकपाका दुई भयानक पिल्लरका कारणले नै यसको जीवन छ । सरकारको आयु छ । देशको जीवन छ । यो पनि भुल्न हुन्न– प्रचण्ड एउटा शक्तिशाली पिल्लर भएकैले पनि अर्को पिल्लरको ओतमा बसेकाहरू बोल्न, लेख्न र शक्तिको आड भरोषामा पेल्न पाइरहेका छन् । डंका पिट्नका लागि त बालुवाटारभित्र पहुँच बनाउनेलाई, जागिर खानेलाई कसले पो सक्छ र ? उता छारो हाली यता छारो फ्याँक्नु स्वभाविक प्रक्रिया जस्तो चलि नै रहेको छ ।

तर अब नेपालको आन्तरिक राजनीतिको मियाँे नेपाली राष्ट्रवाद र विदेशी हस्तक्षेपको कुरुक्षेत्रमा छ । यहाँ कुनै प्रकारको अप्रियता हुन नदिनका लागि कुटनीतिक, राजनीतिक चातुर्यता भएको व्यक्तित्वको अनिवार्यता खड्किन्छ । यो अनिवार्यताको मेसोमा प्रचण्डको मौनतालाई कसी मान्नुपर्छ ।

प्रचण्ड ति नेता हुन् जसले उत्तरी र दक्षिणी छिमेकीका कार्यकारी प्रमुखलाई दुईतिर राखेर बीचमा आफूले सौहार्दता देखाए । यो तस्बिर नै भाइरल भएको थियो, प्रमाणका लागि अरु दलिल पेस गर्नु अनिवार्य छैन, सायद ।

भनिन्छ नि हाँसको जस्तो डाँको छाड्ने होइन, चीलको जस्तो उडान भर्ने काम गर । नेपाली राजनीतिक आकाशमा प्रचण्ड विचारले, क्षमता र हिम्मतले भरेको उडानबाट मुलुक पछाडि फर्किन सक्तैन, धमिलो पानी देखेर हाँसहरूका आवाज क्षणिक समयका लागि सुनिनु नौलो कथा होइन ।

तर अब बेला हुँदैछ । प्रचण्डको मौनताको अर्थ र जिम्मेवारीताको बेला हुन सक्छ । उनको चातुर्यताको परिक्षा पनि अब हुन सक्छ । यो अनिवार्य परिक्षाका निम्ति नै प्रचण्डले मैदानमा उत्रिने बेला भएको हुन सक्छ । नेकपाको आन्तरिक जीवनलाई कसिलो र देशलाई बलियो बनाउनका निम्ति शान्त देखिएको प्रचण्डरुपी बाजको ठूलो राजनीतिक उडानको तयारी हुन सक्छ ।

नेपाली राजनीतिमा उनैले स्थापित गरेका कतिपय शव्दहरू छन् त्यसमध्येको एउटा सापटी लिएर भन्छु– यतिबेला कुटनीतिक र वैचारिक ‘छलाङ’ भएको नेताले समन्वय वा नेतृत्वको बेला आएको छ । यस्तो गुण भएको नेता नै प्रचण्ड हुन् । भारतसँग बिग्रिन थालेको कुटनीतिक सम्बन्ध, चीनसँगको सामरिक सम्बन्धमा दिगोपना, अमेरिकाले प्रयोग गर्न खोजेको एमसीसीको सैद्धान्तिक मार्ग सबैलाई सहजीकरण गरी मुलुक बलियो बनाउन पछाडि सरेका प्रचण्डले अब समन्वयका लागि प्रत्येक मुद्दामा अगाडि हाम फाल्नुपर्छ । उनको मौनता यहि तयारीको संकेत पनि हुन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित