
—प्रकाश रम्घाली
काठमाडौँ । साँझको झ्वाम्म अँध्यारोमा कान्छाले मेरो हात समाएर भन्यो, “यत्तिकै यसलाई छाड्ने होइन आज ।”
सेपाबगैँचामा त्यसताका एउटा चर्चित भट्टीपसल थियो । पैसा हुँदा जाने अर्को ठाउँ थिएन हाम्रो । त्यसदिन भाले बेचेको पैसा लुकाएर ल्याएको थियो कान्छाले । र म चाहिँ मुसाले जस्तो दाँत उदाएर खडा थिएँ भट्टीको एक कुनामा ।
साले ! त्यसले मलाई फयल गर्ने ? एक घुट्को के परेको थियो उसको मुखमा । रन्कि त हाल्यो । कसैले निभाउन बिर्सेर छाडेको पर्वत चुरोटको ठुटो ओठमा च्यापेर मैले पनि धुवाँको अँध्यारोमा सहमति जनाएँ—ठोक्दिम् भने ठोक्दिम् !
त्यसबेला भर्खर—भर्खर गाउँमा मार्सलआटका छद्म गुरुहरू बग्रेल्ती देखिन थालेका थिए । नसिकी पनि नहुने । बाटो छेकेर ‘याऽ हु’ गरेरै हैरान पार्ने साथीहरूले ।
आमाले जुडी धानलाई मल किन्न लुकाएको दुईसय रूपैयाँ चोरेर गुरुलाई बुझाएपछि मेरो हातखुट्टा तन्किन थाले । दुई,तीन महिनाको बीचमा त म स्यानो साइजको डन नै भइसकेको थिएँ गाउँमा ।
कान्छाले अठार रूपैयाँको हिसाब फस्यौट ग¥यो । सितन त लोकल लसुन सित्तैमा । छोडाउनु चाहिँ आफैले पर्ने । प्रत्येक गुड्कोमा लसुनको मसिना दानाको एक छेउ टोक्यो अनि रक्सी तिनिक्क तानेर हाऽऽ गरेसी झ्याप्प हुने ।
हामी पसलबाट निस्किएर हिँड्दा हाम्रो खुट्टामा बाटो छैन । अघिको रिमरिम साँझ पनि छैन । एउटा घोर्ले अँध्यारो आएर आँखामा पट्टी लगाइदेको छ । हिँडिरहेकै बाटो हो । कान्छा र म एकछिन अलमलमा पुर्यौँ ।
“आज नजोगिने भो त्यो मास्टर ।” मैले अलि ठूलै स्वरमा बोलेछु । भित्रबाट साउनी आएर भनिन्—तिम्लाई बजिया हो मास्टरलाई कुट्ने ? बोल्नु पर्ने कान्छा थियो । ऊ बोलेन । म त झन् किन बोल्नु ? म फेल भएको थिइनँ । स्कुल गए पो ! नाम कटाएर हिँडेको म जस्तोलाई चासो नहुनु स्वाभाविकै थियो ।
हामी छ सय फाँटसम्म आइपुग्दा रात छिप्पिएको जाँडजस्तो थियो । त्यो अँध्यारोमा पनि चुरोटको उज्यालोमा बडो सन्तुलित ढंगबाट आएको मान्छे देखेर म अचम्ममा परिरहेको थिएँ ।
कान्छा ! यही त होइन त्यो मास्टर ?
हो हो कान्छाले भन्यो । मेरो पालो च्याप्प कठालोमा समाएर जुरुक्क उचालेँ । पोथी लाग्दा लाग्दा हलुका भएको भालेजस्तो मास्टर त हलुकै रहेछ ।
उपाध्याय भए पनि ती मास्टर गाउँभरि बदनाम थिए । बिहानैदेखि नभई नहुने रक्सी । स्कुलमा मातेर पढाइरहेका हुन्थे । सामाजिक र संस्कृत पढाउने तिनको विषयमा धेरै विद्यार्थीहरू फेल हुन्थे ।
गाउँमा कान्छाको सेउलाले छाएको स्यानो घर थियो । बाले जोरजाम गरेको भूमिमा पनि हजुरबाले मुद्धाको अनेक झमेलामा पारिदिएका थिए । बिहानभर अर्काको मेलो जोतेर दिउँसो स्कुल पुग्थ्यो । जेहेन्दार थियो । पढेर मास्टर नै हुन्छु भन्थ्यो ।
छानो फेर्छु भन्थ्यो । गोठमा एकहल बलिया गोरू बाँध्छु भन्थ्यो । आमा थिइन रोगी । बा थिए अव्यावहारिक तन्नम । एउटै काम थियो तिनको, बाटोमा चिलिम बोकेर उल्टो एबीसीडी भन्ने— जेड,वाइ एक्स…..!
मेरो पाखुराको बलमा उचालिएका ती मास्टरको कन्चटमा कान्छाको मुड्की बज्रिएपछि— त्यो गाढा अँध्यारो रातलाई चिर्दै बूढाको आवाज परसम्म पुगेछ एऽऽया ! मैले कठालोबाट हात छाडिदिएँ । मास्टर एकैचोटि बन्चरोले छिनाएको रुखझैँ गल्र्याम्म लडे ।
तिनको गोजीबाट उछिटिएर पर्वत चुरोटका केही खिली मेरो हातमा परे । कान्छाले अझै मुक्याउन छाडेको थिएन । मास्टरको मुखबाट गुहारको शब्द निरन्तर थियो ।
त्यो हिउँदको अँध्यारो रातमा जीवनरक्षाको भीख मागिरहेका मास्टरको गुहार सायद अरूलाई सुन्न नदिन चुँदीखोला झन् बेगले सुसाइरहेको थियो ।
त्यसपछि कान्छाले देश फे¥यो । मैले गल्लावाललाई आफ्नो छाती नाप्न दिएँ । परारै साल ती मास्टर बितेको खबर हामीले पनि सुन्याँै । कान्छा खाडीबाट रोयो । म यतै बसेर रोएँ । रुँदा हाम्रा स्वरहरू विभक्त थिए ।















प्रतिक्रिया