७ मंसिर २०८३, सोमबार

सरकारले भनेपछि दश अर्बको कुरा सबैले थाहा पाएका हुन्ः सूर्य थापा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसविरुद्धको अभियानमा सरकारले इमान्दार भएर काम गरिहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले औषधि र उपकरण खरिदमा भ्रष्टाचार भयो भनेर कसैले कोलाहल मच्चाउन आवस्यक नभएको बताए ।

उनले सरकारी संयन्त्रले भएको खर्च सार्वजनिक गरिसकेको भन्दै कुनै पनि अनियमितता नभएको बताए ।

प्रेस सल्लाहकार थापाले सरकारले सडकमा उफ्रनेहरूलाई अहिले भएको सबै खर्च देखाउनुपर्ने बाध्यता नभएको बताए । उनले सरकारले अहिलेसम्म भएको खर्चबारे जानकारी दिएपछि विरोध गर्नेहरू देखिएको बताए ।

सरकारले खर्च सार्वजनिक नगरुञ्जेल चुपचाप बसेकाहरूले सरकारले खर्च सार्वजनिक गरेकै कारण यति खर्च भएछ भनेर थाहा पाएको उनले बताए ।

जनतालाई हिसाव देखाउनुपर्छ भन्ने कुरामा सरकार दुइमत नभएको थापाले बताएका छन् ।

सल्लाहकार थापाले यसका पनि प्रावधानहरू भएको र एक जना सांसद सुतेर उठे लगत्तै खर्च खोज्दै आउँदा उसलाई सरकारले हातमा खर्चको विवरण थमाउनुपर्ने कारण नभएको उल्लेख गरे ।

उनले सरकारले गल्ती गरेको भए कहाँ भएको हो ? त्यो विन्दु समाएर आउनुपर्ने बताएका छन् ।

बिगतमा विभिन्न ढंगले हरेक क्षेत्रमा हात फैलाउन बानी परेकाहरूले अतालिएर दश अर्ब खर्चबारे सडकमा जानकारी माग्नुभन्दा अख्तियारमा प्रक्रियागत रुपबाट जान सुझाव दिए ।

उनले बाटोमा मादल बजाएर समस्याको समाधान नहुने बताएका छन् । कम्जोरी भएका रहेछन् भने पछि पनि छानविन गर्न सकिने थापाले बताए ।

‘सरकार जनतामाझ झुक्न जान्दछ । हिजो खान बानी परेकाले कोकोहोलो गरेर के हुन्छ ?’, उनले भने, ‘राज्यका निकायले छानविन गर्छन् । अहिले फुर्सद भएकाहरू कम्जोरी खोज्नतिर लागे हुन्छ ।’

‘जनताको जिउधनको रक्षा गर्न राज्य कोषको रकम खर्च गरेको हो’, थापाले भने, ‘महालेखा परीक्षकको कार्यलयमाफर्त पनि संसदमा प्रस्तुत गर्न सकिन्छ ।’

‘सरकारी संयन्त्रले खर्च विवरण नबताउँदा विरोधीहरू चुप थिए’, सल्लाहकार थापाले भने, ‘जब खर्च विवरण सरकारी संयन्त्रहरूले सार्वजनिक गरे अनि उहाँहरू खर्च माग्न थाल्नुभयो ।’